होमराज रानाभाट
कावासोती पुष १३ गते । सवारी साधन अत्यधिक भारका कारण दुर्घटना बढ्दै जान थालेपछि ट्राफिक प्रहरीले पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सञ्चालित जीपहरुको ‘हुट’ हटाउन थालेको छ ।
पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’ हटाउने रणनीति लिएको जिल्ला ट्रफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताउनुभयो ।
ट्राफिक प्रहरीले पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा अनावश्यक रूपमा सवारीमा जडान गरिएका ‘हुट’ लाई हटाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख थापाले बताउनुभयो । पहाडी क्षेत्रमा चल्ने सवारीले यात्रुसहित ‘हुट’ मा भारयुक्त सामान बोक्दा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै सवारी दुर्घटना रोक्न सबै सवारीको ‘हुट’ हटाउन थालिएको प्रमुख थापाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
ट्राफिक कार्यालय पूर्वी नवलपरासीले एकै दिनमा पहाडी क्षेत्रमा चल्ने २० बढि जीपको ‘हुट’ हटाएको जनाएको छ । पटकपटक ‘हुट’ मा यात्रु नराख्न अनुरोध गर्दा समेत,अटेर गर्ने र जोखिमपूर्ण यात्रा गराउन नछाडेपछि, सवारीको ‘हुट’ आफैँले हटाउन थालेको ट्राफिक प्रमुख थापाले बताउनुभयो । उहाँले जिल्लाको अन्य ठाउँमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने बताउनुभयो ।
प्रमुख थापाले बस व्यवसायी समिति र जीप व्यवसायी समितिलाई परिपत्र गरेर मापदण्ड कायम राख्न भने पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउन थालेको बताउनुभयो । केही दिनभित्र पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने प्रमुख थापाले स्पष्ट पार्नुभयो । पूर्वी नवलपरासीको बौदिकाली, बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिकाका पहाडी क्षेत्रमा चल्ने सवारीले अनुमतिभन्दा धेरै यात्रुलाई राखेर जोखिमपूर्ण यात्रा गराउँदै आएका छन् ।
गाउँमा चल्ने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्ने त्यसैमाथि भार थप्ने गरी सामान ओसार्दा सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि अहिले जिल्ला भरि अभियान थालिएको ट्राफिक प्रमुख थापाले बताउनुभयो । पूर्वी नवलपरासीमा दिनहुँजसो सवारी दुर्घटनाका घटना हुने गरेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले अन्य विभिन्न सचेतनाका कार्य गर्दै आएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । केही दिन अघि मात्रै प्रहरीले यहाँ रहेका निजी विद्यालयका विद्यार्थी बोक्ने बसमा अत्यधिक विद्यार्थी राख्ने गरेको भन्दै यसलाई रोक्न विद्यालयका सञ्चालकसँग आग्रह गर्दे त्यस्तो काम रोकेको थियो । सिट क्षमता भन्दा धेरै विद्यार्थी बसमा नराख्न प्रहरीले अनुरोध गरे पछि विद्यालय संचालकले सो कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।