बाजुरा पुस १४ गते । जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच पर्ने जडागङ्गा नदीमा निमार्ण हुन लागेको ५० मिटर लामो पक्की पुल निमार्ण कार्यमा ढिलाई भएको छ ।
२०७३ साल असार ३० गतेबाट काम सुरु गरेर २०७५ असार ३० गतेसम्म सो पुलको निमार्ण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएता पनि ठेकेदार को ढिलासुस्ती लापरबाहीका कारण सम्झौता अवधिमा काम गर्न नसकेपछि पुल निमार्ण कार्यमा ढिलाई भएको हो ।
पुल निमार्णका लागि ९ करोड ८३ लाख कुल लागत अनुमान रकम मध्ये ५ करोड ५ लाख रुपियाँमा पुल निमार्ण कार्य सम्पन्न गर्छु भनेर सम्झौता लिएको काष्ठमाडौ मसिना जेबीका ठेकेदार जयदेव पन्तले सम्झौता भएको मितिले १५ महिना नाघिसक्दा पनि पुल निमार्णको काम गर्न नसक्दा अलपत्र परेको सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले बताउनुभयो ।
पुल निमार्ण कार्यका लागि १ करोड १९ लाख रुपियाँ पहिलो किस्ता निकासा गरेर पनि हाल सम्ममा ३५ प्रतिशत मात्र काम भएकोले बाँकी रहेको पुल निमार्ण कामलाई तुरुन्त सम्पन्न गर्न ठेकेदार जयदेव पन्तलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यलय प्रमुख दासले बताउनुभयो ।
काष्ठमाडौ मसिना जेबी प्रालिका ठेकेदार जयदेव पन्तले भन्नुभयो, २०७५ सालको श्रावणमा आएको अविरल वर्षादका कारण नदीमा पानीको बाहव बढ्नगइ पुल निमार्णको काम कार्य गर्न समस्या भएकोले सम्झौता भएको मितिमा नै पुल निमार्ण काम सम्पन्न गर्न नसकेको हो ।
सम्झौता मितिमै पुल निमार्णको काम कार्य गर्न नसक्दा उक्त पुल निमार्ण कार्यका लागि फेरि २०७७ असार ३० गते सम्म म्याद थप भएकोले २०७७ असारमा पुल निमार्णको काम सम्पन्न गरि सक्ने ठेकेदार पन्तको भनाइ छ ।
यता सम्झौता भएको मितिले १५ महिना नाघिसक्दापनि पुल निमार्ण कार्यमा कामदारहरुले काम गरे वाफतको रकम नपाएका गुनासो गर्दै आएका छन् । २०७३ असार देखि पुलमा काम गर्ने बडिमालिका नगरपालिका ६ का स्थानीयले पुलमा काम गरेवापतको ४१ लाख रुपियाँ नपाएको बुढीगङ्गाका ६ का स्थानीय पदम बडुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, पुल निमार्ण सुरु भएको तीन वर्ष हुँदासम्म पनि नत पुल निमार्ण कार्य सम्मपन्न भएको छ, नत यस पुलमा काम गर्ने कामदारहरुले रकम पाएका छन् । पुलमा काम गर्ने कामदारको ४१ लाख भन्दाबढी रकम दिनु बाँकी नै छ । त्यसका लागि दुई महिना भित्र नै सबै रकम दिने गरि कामदार आफ्नो दुवै थरिको सहमतिमा जिल्ला प्रहरी कार्यालयमा कागज बनाएको ठेकेदार जयदेव पन्तले बताउनुभयो ।
२०७७ को असारमा पनि पुल निमार्णको काम सम्पन्न नभए बैंक ग्यारेन्टी खोस्ने,पुल निमार्णमा लागेको रकम समेत फिर्ता माग्ने र ठेकेदारलाई कालो सूचीमा राख्ने डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख दासले बताउनुभयो ।