logo
२०८१ मंसिर ९ आईतवार



नक्कली लाइसेन्स बनाउनेहरू सशस्त्रको परिचयपत्र बनाउन पनि संलग्न

पढ्नै पर्ने |


नक्कली लाइसेन्स बनाउनेहरू सशस्त्रको परिचयपत्र बनाउन पनि संलग्न


केशवराज पौडेल

काठमाडौं, पुस १६ गते । नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोहले सशस्त्र प्रहरीको समेत परिचयपत्र बनाउने खुलेको छ ।

बल्खुमा रहेको आशिष फोटो स्टुडियोले परिचयपत्रको नमूना बनाउने र न्यूरोडमा रहेको फोटो कन्सर्नले त्यसको छपाइ गर्ने पाइएपछि महानगरीय अपराध महाशाखाले छ जनालाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो ।

काठमाडौंको सातदोबाटोमा दीपक ब्लोनको सवारीचालकको स्मार्ट लाइसेन्सनै नक्कली पाइएपछि प्रहरीले सुरु गरेको अनुसन्धानबाट बल्खुमा रहेको आशिष फोटो स्टूडियो र न्यूरोडको फोटो कन्सर्न तानिएका हुन् ।

प्रहरीलाई दीपकले आफूले ३० हजार रुपिया खर्चिएर बुद्धिबहादुर रोक्काले स्मार्ट लाइसेन्स बनाइदिएको बयान दिएका थिए । उनको बयानको आधारमा बल्खुमा रहेको आशिष फोटो स्टूडियोमा प्रहरीले छापा मारेको थियो । प्रहरीले सो फोटो स्टूडियोका संचालक सुवास भन्ने बुद्धिबहादुर रोक्कालाई पक्राउ गरेको थियो । प्रहरीलाई बुद्धिबहादुरले आफूले डिजाइन गरेर न्यूरोडमा रहेको फोटो कन्र्सनमा छपाइ गर्ने बयान दिएपछि प्रहरी न्यूरोडतर्फ मोडिएको थियो । न्यूरोड रहेको फोटो कन्र्सनमा छापा मार्दा प्रहरीले नक्कली स्मार्ट लाइसेन्स चार थान, विभिन्न व्यक्तिको नागरिकताको प्रमाणपत्र, भारत सरकारको रासन कार्ड र लक्ष्मण झाक्रीको नाममा रहेको स्मार्ट लाइसेन्स र सशस्त्र प्रहरीको जवानको परिचयपत्र समेत बरामत गरेको थियो ।

प्रहरीले विभिन्न सरकारी लिखत, विभिन्न व्यक्तिहरुको नागरिकता समेत फेला पारेपछि प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
प्रहरीले सर्लाही लालबन्दीका २७ बर्षिया दीपक ब्लोन, सर्लाही हरिबनका ४८ बर्षका बुद्धिबहादुर रोक्का, काठमाडौ बौद्धका ३६ बर्षका अनन्ता गुरुङ, बारा सिमरा स्थायी घरभइ हाल अनामनगर बस्ने ३१ बर्षका अशोक कार्की, सिराहा स्थायी घर भएर हाल कोटेश्वर बस्ने मोहन यादव र काठमाडौं लाजिम्पाटका ५६ बर्षका कुमार लण्डुकारलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरुले संचालन गरेको बल्खुको आशिष फोटो स्टूडियो र फोटो कन्सर्नबाट विभिन्न क्याम्पसहरुका परिचयपत्र, सिपियू, मोनिटर, प्रिन्टर, हार्ड ड्राइभ र सरकारी लिखतहरु बरामत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?