ध्यान कुलुङ
सङ्खुवासभा, पुस १८ गते । पुर्वी नेपालमा वसोवास गर्ने किराँत कुलुङ समुदायले आफ्नो प्रमुख पर्व मिनारी दाचाम् चाक्चाकुर पर्व धूमधामका साथ मनाएका छन् । पुस १५ देखि १७ गतेसम्म मनाईने यो पर्व कुलुङ समुदायको बाहुल्य भएको क्षेत्रमा उल्लासका साथ मनाईएको हो ।
मध्य पुसमा कुलुङ समुदायको प्रमुख बाली कोदो भित्राईसकेपछि अन्नको सह होस्, अनिकाल नलागोस भनेर पितृ र प्रकृतिलाई पुज्दै यो पर्व मनाईन्छ । चाक्चाकुर पर्वको पुरा रुप ‘मिनारी दाचाम् चासुम् लो निङ्दोङ चाक्चाकुर’ हो । यसलाई सजिलोको लागि चाक्चाकुर मात्र भनिदै आएको हो । ‘मिनारी दाचाम चासुम’ को अर्थ मानव पाखुरीले उव्जाएको अन्नको सह भन्ने अर्थ लाग्छ । ‘निङ्दोङ’को अर्थ नयाँ वर्ष हो, कुलुङ समुदायले चाक्चाकुर पर्वबाट नयाँ वर्षको सुरुवात भएको मान्यता राख्छन् ।
चाक्चाकुर पर्वको पहिलो दिन पारिवारीक भेटघाटसँगै प्राचिन परिकार बनाएर खाने गर्दछन् । उक्त दिन कुलुङ समुदायले कोदोको ढिडो र सिस्नोको परिकार खाने गर्दछन् । कुलुङ समुदायको विकास क्रमको सुरुवातीमा यी खाद्यबस्तु खाईआएकोले यसलाई परम्परागत खानाको रुपमा लिईदै आएका छन् । यो दिन केही कुलुङ बस्तीमा सामुहिक खानपानको समेत आयोजना गर्ने गरिन्छ । पछिल्लो समय चाक्चाकुर पर्वको पहिलो दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखिदै आएको छ ।
दोश्रो दिन भण्डारण गरिएको अन्न (कोदो) पितृ र प्रकृतीलाई चढाउदै पुजा गर्ने गर्छन् । कुलुङ समुदायले पितृ र प्रकृतीलाई भगवान मान्छन् । यसरी पितृ र प्रकृतीलाई चढाए अनिकाल नलाग्ने विश्वास गरिदै आएको छ ।
अन्नको मुख्य भण्डारण स्थलमा (कुलुङ जातीहरुले यसलाई ‘वाई’ भन्ने गर्छन्) राखिएको नयाँ बाली पितृहरुलाई नचढाई खान हुन्न भन्ने मान्यता राख्छन् । नयाँ बालीबाट पकाईएको जाँड पितृ तथा प्रकृतिलाई चढाएपछि मात्र नयाँ बालीको जाँड पकाउन मिल्ने विश्वास समेत छ ।
तेश्रो दिन ठुला बडाबाट टीका र आशिर्वाद लिने चलन छ । उक्त दिन अघिल्लो वर्ष विहे गरेर गएका छोरी चेलीहरुलाई टिका रित (अनिवार्य टीका आशिर्वाद लिनुपर्ने) दिने चलन छ । टीका रित नभएका ज्वाई चेलाहरुलाई पनि यो दिन टीका सहित आशिर्वाद दिने चलन छ । टिका र आशिर्वाद लिएसँगै यो वर्षको चाक्चाकुर पर्व सकिएको मानिन्छ ।
यो पर्व कुलुङ समुदायको बाहुल्य क्षेत्रहरु सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, भोजपुरको साल्पा सिलिछो गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र सुनसरीको देवी गाउँ क्षेत्रमा भव्यताका साथ मनाईन्छ । यो सँगै देशको अन्य क्षेत्रहरुमा पनि सामुहिक रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि यो पर्व मनाईदै आएको छ । यो पर्व पछिल्लो पिडिका युवाहरुले आत्मसात गर्दै आएपनि यसको महत्व भने कम बुझेको पौढ पुस्ताका व्यक्तिहरु बताउछन् ।
यो पर्वको अवसरमा कुलुङ बाहुल्य स्थानीय तहहरुले तीनदिनसम्म सार्वजनिक विदा दिदै आएका छन् । स्थानीय तहको संरचना बनेपछि सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाले सार्वजनिक विदा दिदैँ आएको हो । अति दुर्गम क्षेत्रमा बसोवास गर्ने कुलुङ समुदायलाई राज्यले उत्ति सम्बोधन गर्न नसकेको गुनासो गरिरहेको बेला स्थानीय तहहरुले सार्वजनिक विदा दिदा केही राहतको महसुस भएको कुलुङ समुदायले प्रतिकृया दिने गरेका छन् । यस वर्षको चाक्चाकुर पर्वमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि चाक्चाकुर पर्वको अवसरमा लिखित रुपमा शुभकामना दिनुभएको थियो । मुख्यमन्त्रीको शुभकामना आएसँगै अब राज्यले आफुहरुलाई चिन्न थालेको कुलुङ संघका केन्द्रीय अध्यक्ष चन्द्रसिह कुलुङले बताउनुभयो ।
२०६८ को जनगणना अनुसार नेपालमा कुलुङ जातीको जनसंख्या २८ हजार रहेको छ । यद्यपी नेपाल भित्र र बाहिर गरि करिव डेढ लाख कुलुङ समुदायको जनसंख्या रहेको कुलुङ संघले दावी गर्दै आएको छ ।