logo
२०८१ मंसिर ९ आईतवार



अपाङ्गताका लागि साहारा बन्यो सामाजिक सुरक्षाभत्ता

पढ्नै पर्ने |


अपाङ्गताका लागि साहारा बन्यो सामाजिक सुरक्षाभत्ता


नेत्र शाही

जुम्ला (खलंगा) पुस २१ गते । पूर्णरूपमा अशक्त अपाङ्गता भएका व्यक्तिहरुको जीवनशैली कसरी वित्छ होला ? पछिल्लो समयमा सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन थालेपछि जीवनयापनको माध्यम हुन थालेको छ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई दिने सामाजिक सुरक्षाभत्ताले कतिपय परिवार यस्ता छन्, जहाँ उक्त भत्ताले परिवार नै धान्ने गरेको  छ।

यहाँको चन्दननाथ नगरपालिका वडा नं ७ निवासी २४ वर्षिय हरिश्चन्द्र रावल पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् । वि.सं २०७६ साल फागुन २८ गते आफूले सञ्चालन गरेकै ट्याक्टर दुर्घटना हुदा मेरुदण्डले काम नगर्ने भयो । दुर्घटना पछि उनको जीवन दुई वर्ष बढि अस्पतालमा बित्यो । लाखौ खर्च भयो, तर सञ्चो नभएपछि अहिले ह्विलचेयरको साहारामा जीवन वेतित भईरहेको छ । शुरुमा जुम्ला अस्पताल, त्यसपछि नेपालगंज हुदै भारतको लखनऊ पुगेका हरिशचन्द्रलाई सञ्चो भएन घरखेत बेचेर करिब रु ५० लाख बढि खर्च भयो । तर अहिले उनको परिवार पाल्न सरकारले दिएको अपाङ्गता परिचयपत्र साहारा भएको छ । दुर्घटना पछि हरिचन्द्रको श्रीमतीले घर छोडिन चार बर्षकी एक छोरी साथमा छन् । लालन पालन भने आमा कर्मकलीले गरिरहनुभएको छ ।

परिचयपत्र वापत मासिक तीन हजार आउने सामाजिक सुरक्षाभत्ताबाट घर व्यवहार सञ्चालन भईरहेको आमा कर्मकली रावलले जानकारी दिनुभयो । उहाँका अनुसार छोरा हरिचन्द्रको उपचारका लागि घर घडेरी ऋणमा छ तर सरकारले दिएको तीन हजार आजभोली नूनतेलको साहारा भएको हो ।

हरिचन्द्र रावलको दिसा पिसाव शरिरमै हुन्छ । पाईप मार्फत पिसाव र पञ्जा लगाएर दिसा गराउनुपर्ने हुन्छ तर त्यही पञ्जा खरिद गर्न रकम अभावले आफु कहिले भौतारिने गरेको आमा रावलले थप्नुभयो । उहाँमात्रै हैन, चन्दननाथ नगरपालिका ९ का पशुपति शाही पनि पुरै शरिर नचल्ने पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् । उहाँको घर परिवारको पनि आम्दानीमको माध्याम अरु केही छैन् । तर सरकारले उपलब्ध गराएको रातो परिचयपत्रले घर परिवारको बाच्ने साहारा भएको हो ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभक्ताले अपाङ्गता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिक र वालवालिकाहरुका लागि भरपर्दो आधार हुन थालेको छ । हरिश्चन्द्र र पशुपति एक नमूनाका पात्र हुन् । 

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई उपलब्ध गराउने सामाजिक सुरक्षाभत्ताले आफ्नो सरकार अभिभावक जस्तै लाग्ने गरेको पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति मोहन शाही बताउनुहुन्छ । उहाँपनि रातोकार्ड प्राप्त पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । सरकारले अहिले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक रु ३ हजार र अतिअशक्त अपाङग्ता भएका व्यक्तिलाई एक हजार दुई सय रूपियाँ सामाजिक सुरक्षाभक्ता उपलब्ध गराउदै आएको छ । अपाङ्ग पुनर्स्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धिताल पूर्ण अशक्तका लागि सरकारले जति गरेको छ । त्यो राम्रो छ तर एक परिवारले पुरै समय दिनुपर्ने भएकाले कर्मचारी बराबरको तलव दिन आवश्यक रहेको बताउछन् ।

यस्तै ज्येष्ठ नागरिकहरुले पनि सामाजिक सुरक्षाभक्ता प्राणको रुपमा रहेको ज्येष्ठ नागरिकहरुले बताउदै आएका छन् । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले सरकार ज्येष्ठ नागरिकको अभिभावक भएको बताउनुभयो । तर हिमाली क्षेत्रमा सेवा सुविधामा फरक हुनुपर्ने उहाँको भनाई रहेको छ । स्थानीय सरकारले पनि पूर्ण अशक्तहरुका लागि सामाजिक सुरक्षाभत्ता प्रभावकारी भएको भन्दै घरघरमै गएर सामाजिक भत्ता दिने गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?