प्रतीक इच्छुक शर्मा
सल्यान, पुस २१ गते । शारदा नगरपालिका ५ रातामाटामा युवाले सामुहिक भैसीपालन व्यवसाय सुरु गरेका छन् । उनीहरुले कम्पनी मार्फत ६० लाख बराबरको लगानी गरेर सामुहिक भैसी पालन गरेका छन् । रातमाटाका लालबहादुर कुमाईले पहिले आफ्नो घरमा दुध खानाको लागी मात्र भनेर एउटा मात्र भैसी पालन गर्नु भएको थियो । उत्पादन भएको दुध कहाँ बेच्ने भनेर चिन्ता हुन्थ्यो,तर अहिले सामूहिक भैसीपालन ब्यवसायमा सहभागी भएपछि दुध पु-याउनै मुस्किल छ ।
यहाँका २३ जना युवाले छहरेखोला कृषि कम्पनी मार्फत् व्यवसायिक रुपमा भैसीपालन गरेका छन् । गाउँमा एक्लाएक्लै पालन गरेका भैसीहरुलाई एउटै कम्पनीमा ल्याएर पालन गरिएको छ । कम्पनीमा एक लाख वरावरको शेयर रहेको छ । सेयर राख्न नसक्नेले एक लाख बराबरको आफ्नो श्रमबाट पुर्ती गर्न सक्ने व्यवस्था समेत गरिएको छ।
सामूहिक भैसी फर्मामा अहिले साना ठुला गरी ४० वटा भैसी रहेका छन्, १८ वटा भैसी दुधालु छन् । भैसी फर्मबाट दैनिक १२० लिटर दुध बिक्रि हुदैँ आएको छ । प्रति लिटर ८० रुपैयामा बिक्री भैरहेको छ । कम्पनीको आफ्नै डेरी रहेको प्रदिप शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक २०० लिटर दुधको माग आएको छ । साँझ बिहान आएको माग पुरा गर्न सकिएको छैन । फर्ममा खर्च कटाएर १ लाख मासिक आम्दानी हुने गरेको छ ।
फर्ममा भैसी हुनेले १ वटा भैसी र नहुनले १ लाख सेयर राखेका छन् । सामूहिक भैसीपालन गर्दा थोरै श्रम शक्तिवाट धेरै लाभ लिन सकिने कमला कुमाईको भनाई छ । उहाले भन्नुभयो गोठमा तयार भएको मल प्रयोग गरेर तरकारी खेती गर्ने योजना पनि बनाएका छौ ।
फर्ममा मनराजी र स्थानीय काठे जातको भैसी पालन गरिएको छ । भैसीको लागि आवश्यक पर्ने घाँसका लागि अहिले १२० रोपनी जग्गामा उन्नत जातका घाँस खेती गरिएको छ । यसलाई ७०० रोपनीमा खेती गर्ने जग्गा भाडामा लिएका किरण शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अबको दुई वर्ष भित्र २५० भैसी फर्मपालन गर्ने गरी ब्यवस्थापन कार्य अघि बढाईएको छ ।
सामुहिक भैसीपालनले यहाँका यूवाहरुमा उत्साह छाएको छ । सुरुमा सामुहिक रुपमा भैसीपालन गरौ भन्दा अप्ठारो मानेका कृषकहरु अहिले भने खुसी भएका छन् । समय,श्रम थोरैमा पनि धेरै भैसी पालन गर्न सकिने रहेछ स्थानीय लोकेन्द्र श्रेष्ठले भन्नुभयो कम्पनी मार्फत काम गर्दा धेरै राम्रो हुदा रहेछ । अन्य कृषि, जडीवुटी खेतिमा पनि यसलाई प्रयोग गर्ने योजना बनाएको छौँ ।
कम्पनीले अहिले सामुहिक भैसिपालन गरेर पाँचजनालाई रोजगारी दिएको छ । उनीहरुले भैसीलाई आवश्यक हेरचाह गर्नु साथै दुध दुहने लगायतका काम गर्ने गरेका छन् । गाउँमै रोजगारी पाएपछि घर र रोजगारी नजिकै हुदा सजिलो भएको देवा घतर्ती ज्यालादार काम गर्दे आउनुभएको छ ।