गोकर्ण दयाल
बैतडी, पुस २१ गते । रीया भुल पुसको कड्याङ्ग्रिदो जाडोमा पनि चप्पलमै विद्यालय आउनुहुन्छ । रीयाको जिउमा एक जोर पातलो स्कुल पोशाक मात्र छ । घरमा अभिभावक छैनन् । बुबा मालिकको घरमा हलो जोत्दाजोत्दै बित्नुभयो । आमाले छोडेर गएपछि रीया भुल छिमेकी काकाको घरमा बस्नुहुन्छ ।
काका कार्कीले ज्याला मजदुरी गरेर कमाएको दिन पेटभरी खान मिल्छ । नत्र भोकै बस्नु पर्छ । खाना नपाएको दिन रियाको स्कुल बिदा हुन्छ । रीयाको जस्तै करुणा भुलको पनि घरको अवस्था उस्तै छ ।
पुसको कठ्याङ्ग्रिदो जाँडोमा विद्यालय जाने ६० जना हलिया बालबालिकाको रीया भुलको जस्तै जिउमा न न्यानो लुगा छ न त खुट्टामा जुता नै । थर थर काँप्दै हलिया बालबालिका विद्यालय जाने गरेका छन् । घरमा खाना नहुँदा अधिकांश विद्यार्थी विना टिफिन विद्यालय जान्छन् ।
हलिया बालबालिका पढ्ने विद्यालयको दुर्दशा पनि हलिया बस्तीको भन्दा फरक छैन । पानी पर्दा भवन चुहिन्छ । शौचालय जाँदा पानी हुँदैन । विद्यालयमा खानेपानीका धारा नहुँदा तिर्खा लागे बजार दगुर्नु पर्छ ।
तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरको पालामा बैतडीको गढीमा वि.सं.१९७६ जेठ २ गते स्थानपना भएको दशरथ भाषा पाठशाला ( हाल १–५) आधारभूत विद्यालयमा अहिले हलिया बालबालिका मात्र अध्ययन गर्छन् । यसअघि हुनेखानेहरुले पढ्ने गरेको यो विद्यालय अहिले हलिया, दलित र गरिबका मात्रै बालबालिका अध्ययनरत छन् । यो विद्यालयमा अहिले दशरथ चन्द नगरपालिका–४, बाडीलेकका मुक्त हलियाका बालबालिका मात्र अध्ययन गर्छन् ।
एकसय वर्ष पुरानो ईतिहास बोकेको विद्यालयको भौतिक संरचना पनि यी गरिब बालबालिकाको जस्तै छ । सय वर्ष पुरानो विद्यालय शैक्षिक धरोहर बन्नु पर्नेमा जिर्ण टहरो जस्तै बन्न पुगेको छ । हुरीले विद्यालयको छानो उडाउँदा रेडक्रसले ५० हजार रुपियाँ सहयोग गरेपछि छानो हालिएको छ ।
विकासे अड्डाको छेउमै रहेको दशरथ चन्द आधारभूत विद्यालयमा नीति निर्माताको दृष्टि नपुग्दा भाग्य र विधाताको खेल सम्झेर दलित अभिभाकहरु पनि चुपचाप छन् । बोले पनि कुनै सुनुवाई नहुँने विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुराम भुलले बताउनुभयो ।
विद्यालयमा गरिब, दलित र मुक्त हलियाका मात्रै बालबालिका अध्ययनरत छन् । अध्ययनरत ६५ विद्यार्थी मध्ये ६२ दलित समुदायका र तीन जना गरिबीको रेखामुनी रहेका घरका छन् ।
विद्यालयको भौतिक संरचना र युग सुहाउँदो शैक्षिक गुणस्तरका लागि सरकारी स्तरबाट कुनै सहयोग नभएको विद्यालयका शिक्षक दीपक भट्टले बताउनुभयो ।
भट्टले भन्नुभयो, “ मैले यो विद्यालयमा २४ वर्ष पढाएँ । अहिलेसम्म नयाँ भवनको कुनै योजना आएको छैन । यस्तो जाडोमा न्यानो लुगा नहुँदा म आफैले पनि नाजुक अवस्था भएका विद्यार्थीलाई जुत्ता, स्वीटर दिएको छु । विद्यार्थीको जस्तै स्कुलको अवस्था पनि नाजुक भएकाले केही गर्न सकिएको छैन ।”
सय वर्ष पुरानो विद्यालय पढ्ने गरिब,मजदुर, हलिया र बिपन्न परिवारका बालबालिकाको पढाई स्तर पनि राम्रो छैन । आवासीय सुविधा भए पढाईको गुणस्तर राम्रो हुने अभिभावकले आशा बोकेका छन् ।
दिनभरी गिट्टी कुटेर कमाएको ज्यालाले बालबालिका पाल्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुराम भुलले बताउनुभयो । हलिया वस्तीमा ज्याला मजदुरी पाएको दिन मात्र हलियाका बालबालिकाले पेटभरी खान पाउने अवस्था भएकोले न्यानो लुगा किन्न सकेका छैनन् ।
नीति निर्माताको उदासिनताका कारणले विद्यालयको भौतिक संरचना कमजोर र जिर्ण हुँदा अभिभाव पनि दिक्क हुँदै गएका छन् । प्रत्येक वर्ष विद्यार्थी भर्ना हुने दर घट्दै गईरहेको विद्यालयले जानकरी दिएको छ । यो वर्ष नयाँ शैक्षि सत्रमा दुई जना मात्रै विद्यार्थी भर्ना भएको विद्यालयले जानकारी दिएको छ ।
स्थापनाकालमा यो विद्यालयमा बैतडीको तल्लोस्वराड, पुरचौडी, च्वाँगढबाट विद्यार्थीहरु अध्ययनका लागि आउँथे । अहिले दलितका मात्रै विद्यार्थी आउने गरेको प्रधानाध्यापक सरपसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
प्रअ ठगुन्ना भन्नुहन्छ– “विद्यालयको गतिलो भवन छैन । खेलमैदान, खानेपानी र बालउद्यान छैन । मर्मत गरिएका सय वर्ष पुराना भवनको छानो हुरीले उडाएपछि हारगुहार गरेर छानो हाल्नै दुई महिना लाग्यो । रेडक्रसले सहयोग गरेपछि नगरपालिकाले पनि बल्ल ५० हजार दियो ।”
जिल्ला सदरमुकामको मुटुमा रहेको दशरथ चन्द आधारभूत विद्यालय अगाडिबाट स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता र अड्डाका प्रमुखहरु ओहोरदोहोर गर्नुहुन्छ तर, बिद्यालयको अवस्थाका बारेमा कसैले चासो नदेखाएको अभिभावहरुले गुनासो गरेका छन् ।
विद्यालयका बारेमा शिक्षा विकास तथा समन्वय ईकाई बैतडी प्रमुख नरेन्द्रप्रसाद अवस्थीले आधारभूत तहको शिक्षाका जिम्मेवारी स्थानीय तहको सरकारको भएकोले विद्यालयको ईतिहास जोगाउनकै लागि भए पनि स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।