logo
२०८१ मंसिर ९ आईतवार

  खोड्पे बजारकाे पीडा 



बिजुली छैन, हिउँ सकियाे, खानेपानीको हाहाकार !

पढ्नै पर्ने |
प्रदेश |


बिजुली छैन, हिउँ सकियाे, खानेपानीको हाहाकार !


गोकर्ण दयाल

बैतडी, पुस २१ गते । बैतडी, बझाङ र डडेल्धुराको सीमामा रहेको बैतडीको मुख्य बजार खोड्पेमा बिजुली र खानेपानी आपूर्ति बन्दहुँदा एक हप्तादेखि हिउँ पगालेर पिउने गरेका थिए । तर अहिले केही दिन अघि परेकाे हिउँ समेत सकिएपछि बजारमा खानेपानीको हाहाकार मच्चिएको छ ।

पाटन नगरपालिका–८ खोड्पेमा हिउँ सकिएपछि होटल व्यवसाय चौपट भएको होटल व्यवसायिले गुनासो गरेका छन् । पानीका लागि अहिले हिउँ संकलन गर्न तछाडमछाड हुन थालेको छ । बजार क्षेत्रको हिउँ सकिएपछि वरपर रहेको हिउँ खाेसाखाेस हुन थालेको छ । स्थानीयवासी टाढाटाढाबाट हिउँ ल्याएर ड्रम र भाडाकुँडामा जम्मा गर्न थालेका छन् ।

हप्तादिनसम्म हिउँ पगालेर खाए पनि हिउँ सकिन थालेपछि खानेपानीको हाहाकार मच्चिएको बजार व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले बताउनुभयो । अध्यक्ष विष्टले गोरखापत्रसित कुरागर्दै विद्युतको लापरवाहीले खोड्पेमा खानेपानीको आपूर्ति बन्द भएको बताउनुभयो ।

२५ हर्सपावरको मोटरबाट पानी तानेर तीन जिल्ला जोड्ने खोड्पे बजारमा खानेपानीको आपूर्ति हुँदै आएको छ । एक हप्तादेखि बिजुली नै नआएपछि बजार पूरै अन्धकार र खानेपानीको हाहाकार भएको स्थानीय कोशी होटलका सञ्चालक राकेश राईले बताउनुभयो । बैतडीका अन्य ठाउँमा बिजुली भए पनि खोड्पेमा एक हप्तादेखि विद्युत बन्दरहेको राईले बताउनुभयो ।

खानेपानी नहुँदा होटल नै बन्द गर्नु पर्ने अवस्था आएको होटल हरिहर प्लाजाका सञ्चालक वासु विष्टले बताउनुभयो ।

खोड्पे बजारमा तत्काल विद्युत सुचारु गर्न र ट्याङ्करबाट भए पनि खानेपानीको आपूर्ति गर्नुपर्ने खोड्पेवासीले पाटन नगरपालिका र जिल्ला प्रशासनसित माग गरेका छन् ।

खानेपानी र विद्युतको समस्याका विषयमा प्रमुख जिल्ला अधिकारी आन्दन्द पौडेलले पानी आपूर्ति गर्न पाटन नगरपालिकासित ट्याङ्करका लागि कुरा भएको र विद्युत कार्यालयसित विद्युत सुचारु गर्न निर्देशन दिएको बताउनुभयो ।
हिमपातले बिजुलीका पोल ढलेकोले आजबाटै विद्युत सुचारु गर्न समन्वय भईरहेको प्रजिअ पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?