logo
२०८१ मंसिर ९ आईतवार



दर्ता बालुवा प्रशोधन, काम क्रसर !

पढ्नै पर्ने |


दर्ता बालुवा प्रशोधन, काम क्रसर !


मधुसुधन तिमल्सिना

काभ्रे पुस २३ गते । जिल्लाका अधिकांश उद्योग बालुवा प्रशोधनका लागि दर्ता भए पनि काम भने क्रसरको गरिरहेको पाइएको छ । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गरिएको अनुगमनमा दर्ता भन्दा फरक काम गरेको पाइएको हो ।

काभ्रेमा बालुवा उत्खनन, बालुवा प्रशोधन, क्रसर, खानी लगायतको काम गर्ने भनेर ३३ वटा उद्योग दर्ता भएका छन । तर उनीहरुले दर्ता गरे भन्दा फरक काम गरेको पाइएको छ । भु्म्लु गाउँपालिका वडा न ७ फलाँटेमा रहेको वीर एण्ड सन्स बालुवा रोडा उद्योगले क्रसरको समेत काम गरेको पाइएको हो । उसले बालुवा प्रशोधनका लागि घरेलु कार्यालयबाट दर्ता गरेको थियो तर उसले क्रसरको समेत काम गरिरहेको छ ।

बालुवा प्रशोधनका लागि कम मापदण्ड भएपनि उद्योग दर्ता हुने भएपछि राज्यलाई कम कर तिर्न उनीहरुले बालुवा प्रशोधन, उत्खननमा दर्ता गर्ने र काम भने क्रसर कै गर्ने गरेको पाइएको जिल्ला समन्वय समिति काभे्रका संयोजक उद्धव केसीले जानकारी दिनुभयो । अधिकांशले मापदण्ड विपरित काम गरेको पाइयो । उहाँले भन्नुभयो– उनीहरुलाई जे को दर्ता हो त्यही गर्ने निर्देशन दिएका छौँ । अनुगमनका क्रममा सम्झौता बेगर बालुवा उत्खनन् गरिएको समेत पाइएको संयोजक केसीले बताउनुभयो ।

स्थानीय तहले ठेक्का मार्फत बालुवा उत्खनन गर्न दिएको भएपनि उद्योगहरुले मापदण्ड भन्दा बढी बालुवा उत्खनन गरेका छन । अनुगमन गरिएपनि कारवाही नहुँदा मनलाग्दी रुपमा उत्खनन भइरहेको स्थानीयहरु बताउँछन । दर्ता भएका उद्योग मध्ये एकाध बाहेक कुनैले पनि साइनो बोर्ड समेत नराखेको पाइएको छ । कम्तीमा पनि चार वटा साईनो बोर्ड देखिने गरी राख्नुपर्ने भएपनि त्यो पनि नराखेको पाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो ।

अनुगमन पटक पटक गरेपनि कार्यान्वयन नहुँदा समस्या आएको स्थानीयबासीले दुखेसो गरेका छन । गत सालको अनुगमन प्रतिवेदनले जिल्लाका ३३ वटै खानी तथा क्रसर अवैधानिक देखाएको थियो । तर पटक–पटक सरोकारवाला जनाउँदै जिल्ला समन्वय पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी एवं नागरिक समाजसँग छलफल गरेर अवैध खानी बन्द गर्ने निर्णय नै गरे पनि बन्द गराउन सकिएको छैन ।

गत साल बन्द गरिएको भनिएका उधोगहरु निर्वाधरुपमा चलिरहेका छन् । अनुगमनका क्रममा अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको छ । अवैधानिक खानीका कारण बस्तीसमत जोखिममा पर्ने देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?