मनोज तिमल्सिना
चन्द्रपुर समाचारदाता
रौतहट, पुस २३ गते । दलितमाथि अन्य जल्लाका छुवाछुतका घटना घटिरहँदा चन्द्रपुर नगरपालिकास्थित बलुवा गाउँमा उपल्लो जाति र दलितबीचको सम्बन्ध उदाहरणीय बनेको छ ।
यहाँका स्थानीय एकले अर्कालाई विवाह भोजमा निम्तोसहित भोजभतेरमा सहभागी हुने गरेका छन् । बलुवा गाउँ साविक डुमरिया गाविस वडा नम्बर पाँचमा अवस्थित थियो । हाल चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा पर्ने यस गाउँमा मुख्य रुपमा चौधरी, दलित र अन्य जातिको मिश्रित बसोबास छ ।
यहाँ जन्ती, मलामी, पूजाआजाजस्ता कार्यमा निम्तो आदानप्रदान हुने गरेको छ । सो गाउँ जिल्लामै भाइचारा,जातीय सदभाव रहेको र छुवाछुतको मतलब नभएको दलित अगुवा नन्दलाल रामले बताउनुभयो । रामका अनुसार, यस गाउँमा भेदभाव गर्ने चलन उहिल्यैदेखि हटेको पाइन्छ ।
उपल्लोजातिको घरमा बिबाह भोज हुँदा यहाँका दलित समुदायमा निम्तो हुने र यहाँ छुवाछुतको कुरा गर्दा मानिसहरु रिसाउने गर्छन् । अन्य जातिको घरमा रहेको धाराबाट समेत दलितले निर्धक्क पानी लैजाने गरेका छन् । चौधरी, पचपनियाँ र दलितको बसोबास रहेको यस गाउँमा ७५ घरधुरी रहेको दलितले कुनै पनि कार्य गर्दा उपल्लो जातिका मानिसलाई निम्तो गर्ने गरेका छन् । चौधरी र अन्य समुदायले समेत दलितलाई निम्तो दिएर बोलाउने गर्छन् । यहाँ दलित र गैरदलित सबैलाई भोजमा बोलाउने चलन रहेको जनाउँदै वडा नम्बर १० का सामाजिक अगुवा अनिल चौधरीले यहाँ सानो जात र ठूलो जात भन्ने भेदभाव नरहेको बताउनुहुन्छ ।
यस गाउँमा दुईसय पचास घरधुरी छन् । वर्षाैंदेखि यस गाउँमा चौधरी समुदायको ६० र दलित र मुस्लिम जातिको ८० घरपरिवार छन् ।
दलित अगुवा महिला जहरी पासवानले दलित समुदायलाई सम्मानका साथ व्यवहार गरे समाज विकासमा दलितले योगदान गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो