प्रकाशचन्द्र भट्टराई
दमौली, पुस २५ गते । अस्थायी शिक्षकले विभिन्न चरणमा आन्दोलन गरेर परिक्षा मार्फत आफूलाई स्थायी गराईसके । तर विद्यालय सहयोगीको पिडा भने जस्ताको तस्तै छ, अर्थात् उनीहरु वर्षौदेखी अस्थायीकै रुपमा सेवा गर्न बाध्य भएका छन् ।
तनहुँको भिमाद गाउँपालिका–४ बराहापानी स्थित बालनिकेतन आधारभुत विद्यालयका सहयोगी केशरसिंह थापा ३३ वर्षदेखी अनवरत अस्थायीकै रुपमा सेवा गरिरहनु भएको छ । २००९ सालमा स्थापना भएको सो विद्यालयमा आफू भन्दापछि नियुक्ति लिएर आएका दर्जनौं अस्थायी शिक्षक स्थायी भएर गईसके तर आफू ३३ वर्षदेखी निरन्तर अस्थायी नै सेवा गरिरहेको उहाँले बताउनुभयो । ५४ वर्ष उमेर पुगिसक्नु भएका उहाँ अब बढिमा ६ बर्षसम्म मात्र सेवा गर्न सक्नु हुन्छ ।
जीवनको उर्जाशिल समयमा विद्यालय सहयोगीको रुपमा सेवा गरेपनि अब बुढ्यौली लागेपछि बिना पेन्सन घर फर्कनु पर्ने त्रासमा उहाँ हुनुहुन्छ । २०४२ सालमा सोही विद्यालय सहयोगीको नियुक्ती पाउनु भएका उहाँले अहिलेसम्म हरेक दिन विद्यार्थी र शिक्षकको सेवा नै गरिरहनु भएका छन् । उहाँले आफ्नो पालाभरी हालसम्म १० जना भन्दा बढि त प्रधानाध्यापक नै पाईसक्नु भयो भने शिक्षक त कति कति आफैलाई सम्झना नै छैन ।
सबै अस्थायी शिक्षकहरुले स्थायी बन्न पटक पटक आन्दोलन गरेपनि आफू जस्ता सहयोगीहरु कसरी स्थायी बन्ने भन्ने प्रक्रिया नै थाहा नभएको उहाँले बताउनुभयो । ‘कसैले पनि आन्दोलन गर्न बोलाउँदैनन्’, उहाँले भन्नु भयो ‘स्थायी बनिने कसरी रहेछ ?’ थापाले अहिले मासिक ७ हजार पाँच सय तलब पाउनु हुन्छ । यो तलब पनि सरकारी स्केल अनुसार नभएको उहाँले गुनासो गर्नुभयो ।
विद्यालयकी प्रअ प्रेमकुमारी गुरुङले सहयोगी थापाले ३३ वर्ष देखी कुनै दिन नबिराई विद्यालयमा सहयोगीको भुमिका निभाउनु भएको भन्दै उहाँ जस्ता विद्यालय सहयोगीहरुलाई पनि स्थायी नियुक्ती दिईनु पर्ने बताउनु भयो । प्रअ गुरुङका अनुसार नियुक्ती भएपछि अहिलेसम्म कुनै पनि दिन उहाँले विद्यालयको सेवा गर्न छोड्नु भएको छैन । प्रअ गुरुङकै बुवा सन्तवीर गुरुङ प्रअ हुँदा थापालाई विद्यालय सहयोगीमा नियुक्ती दिनु भएको थियो । हाल बेलायती सैनिकको पेन्सन बुझ्दै बस्नु भएका तत्कालिन प्रअ गुरुङले थापालाई आफुले ३३ वर्ष अघि नै नियुक्ति दिएपनि हालसम्म स्थायी हुन नसक्दा निकै दुःख लागेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर आले बर्षाैदेखी सेवा गरिरहेका विद्यालय सहयोगीहरुलाई पनि प्रक्रिया पुर्याएर राज्यले स्थायी गराउनु पर्ने बताउनु हुन्छ । ‘यो त सरकारी कर्मचारी माथिको विभेद भयो’ उहाँले भन्नु भयो ‘अन्य क्षेत्रका सबै स्थायी भईसक्दा विद्यालय सहयोगी भने बर्षाैदेखी अस्थायी नै छन्, उनीलाई पनि स्थायी गर्नु पर्छ ।’