गोकर्ण दयाल
बैतडी, पुस २५ गते । हप्तादिन लामो वर्षा र हिमपातपछि शुक्रबार सुदूरपहाड उघ्रिएको छ । हिमपातले ढाकिएका बैतडीको खेड्पे, सतबाँझ, देहिमाण्डौं लगायतका स्थान घाम लागेपछि टलक्क टल्किएका छन् । यति बेला बैतडी सदरमुकाममा पारिलो घाम लागेको छ ।
हिमपातले ठाउँठाउँमा रोकिएका यात्रु गन्तव्य तर्फ हिँड्न थालेका छन् । हिमपातले अबरुद्ध बैतडीबाट तराईको कैलाली र कञ्चनपुर सडक खण्डमा फसेका गाडी सूचारु भएका छन् । घाम लागेपछि चिसोले प्रभाबित बनेको जनजीवन सामान्य बन्दै गएको छ ।
हिमपातमा फसेका यात्रुको उद्धार गर्न जिल्ला प्रशासन कार्यालय बैतडी र सुरक्षा निकायले तदारुकता देखाएका छन् । बैतडीदेखि डडेल्धुराहुँदै तराई झर्ने यातायातका साधन हिउँ पन्छाएर बिहिबार दिउँसोदेखि नै सवारी साधन चलेका भए पनि बैतडी–बझाङ सडक खण्ड अबरुद्ध नै छ ।
बझाङ सडक खण्ड सुचारु गर्न शुक्रबार बिहानै खोड्पे प्रहरी चौकीकाको समन्वयमा यातायाताय व्यवसायि डोजरसहित बाटो खोल्न हिँडेको खोड्पे प्रहरी चौकीका ईन्चार्ज रामदत्त भट्टेले बताउनुभयो ।
हिमपातले अबरुद्ध भएको बिजुली र टेलिफोन सेवा सुचारु भएको छ । बैतडी सदरमुकाममा पारिलो घाम लागेपछि बृद्ध र केटाकेटीहरु घाम ताप्न घर बाहिर निस्केका छन् । युवायुवति र आन्तरिक पर्यटकहरु हिउँले ढाकिएका डाँडामा उक्लेर सेल्फी फोटो खिच्दै रमाईरहेका छन् ।