logo
२०८१ मंसिर ९ आईतवार



आँगनको डिलमै स्कुल, पढ्ने धोको अधुरै !

पढ्नै पर्ने |
समाज |


आँगनको डिलमै स्कुल, पढ्ने धोको अधुरै !


गोकर्ण दयाल

बैतडी, माघ ३ गते । आँगनको डिलबाट नजिकै माध्यमिक विद्यालय देखिन्छ तर, ह्वीलचियरमा जाने बाटो नहुँदा घरमै कुजिएर बसेका तीन अपाङ्ग भाइबहिनीको उच्च शिक्षा पढ्ने धोको अधुरै रहेको छ । दशरथचन्द नगरपालिका–२, देहिमाण्डौंका देवकी बोहराका चार सन्तान मध्ये दुई छोरी र एक छोरा अपाङ्ग छन् । पहिले सबै दगुरेर विद्यालय जान्थे तर, माङ्शपेशी सम्बन्धी रोग लागेर उपचार नपाउँदा एकाएक तीन जना छोराछोरी ह्वीलचियरमा कुजिएर बस्नु पर्ने अवस्था आएको छ ।

हिराकुमारी बोहरा २४ वर्ष, करिशमा १६ र जयन्त १२ वर्ष गरी तीन भाइबहिनी पूर्ण असक्त भएर ह्वीलचियरमा कुजिएर बसिरहनु भएको छ । माङ्शपेशी सम्बन्धी रोग लागेर सुरुमा हिरा बोहरा थला पर्नुभयो । त्यसपछिका , भूमिका, करिश्मा र जयन्तमा पनि उस्तै रोग देखा पर्यो ।

जन्मदा राम्रै जन्मे पनि सबै सन्तानमा सात÷आठ वर्षपछि हात खुट्टा लुलो हुने समस्या देखा परेको बालबालिकाकी आमा देवकी बोहराले बताउनुभयो । उपचार गराउन नसक्दा तीन सन्तान आँगनमा कुजिएर बसिरहेका छन् । चौथो छोरी १८ वर्षिय भूमिका उपचारपछि हिँडडुल गर्न सक्ने भएकी छिन् । १६ वर्षिया करिश्माले गत चैतमा घरबाटै एसईई परीक्षा दिएर पास भए पनि कक्षा ११ मा पढ्ने धोको अधुरै रहेको छ । स्कुल जाने बाटो नहुँदा १२ वर्षका जयन्त बोहरा घरमै बसेर कक्षा ६ को किताब पढ्दै आईरहनु भएको छ । आँगनबाट विद्यालय देखिन्छ तर, ह्वील चेयरमा जाने बाटो नहुँदा पढ्ने धोको मनमै राखेर आँगनमा रोएर बस्नु परेको करिश्माले बताउनुभयो ।

गाउँघरको सरकारले समेत अपाङ्गका कुरा नसुनेको अपाङ्ग सन्तानलाई भित्र बाहिर डोर्याउँदै आईरहनु भएकी देवकी बोहराले गुनासो गर्नुभयो । डाक्टरले नियमित चेकजाँच गर्न र औषधी खुवान नछोड्न सल्लाह दिए पनि गरिबीका कारण सन्तानहरुको उपचार गर्न नसकिएको आमा देवकी बोहराले बताउनुभयो । समयमै उपचार नपाउँदा अशक्त हुनुभएका सन्तानहरुको पीडाले बोहरा परिवारलाई समस्या परेको छ । तीन वटा सन्तानको हेरचाह गर्न एक जना नियमित घरमै बस्नु पर्ने भएकाले एक जनाले ज्याला मजदूरी गरेर कमाएको पैशाले विहानबेलुकी खान समेत मुस्कील भईरहेको बालबालिकाका बुबा पूर्णबहादुरले भन्नुभयो ।

श्रीमान श्रीमति मध्ये एक जना बिरामी भएका बेला बोहरा परिवारलाई छाक टार्न समेत मुश्कील पर्ने गरेको छ । बुबा आमा बिरामी पर्दा चारवटै छोराछोरी रुने गरेको आमा देवकी बोहरा बताउनुहुन्छ । स्थानीय सरकारले अपाङ्गलाई ह्वीलचेयरमा स्कुल जान ५० मिटर बाटो बनाउने आस्वाशन दिए पनि बाटो बनेको छैन । अपाङ्गमैत्री कुरा गर्नुभन्दा पहिले अपाङ्गहरुको अवस्था र दिनचर्यालाई ख्याल गरेर नीति, नियम र बजेट आउनु पर्नेमा त्यसो हुन नसकेको अपाङ्ग हिरा बोहराले बताउनुभयो । अपाङ्गले भोक खालगेको बेलामा खाना समेत नपाएर भोकै बस्नु पर्ने अवस्था छ । नेताहरुले गाउँ नजिकै भोट माग्न अपाङ्गमैत्री मतदान केन्द्र बनाए । हामीले भोट दियौं तर, छोराछोरीले खान र पढ्न नपाएको बोहरा परिवारले पीडा सुनाएको छ ।

स्थानीय तहको निर्वाचनमा हिराको गाउँ नजिकै बैतडीको गुरुखोलामा अपाङ्गमैत्री मतदान केन्द्र बनेको हिराले बताउनुभयो । भोट दिएपछि स्थानीय तहका जनप्रतिनिधिहरु फर्केर नआएको आमा देवकीले पीडा सुनाउनुभयो । अपाङ्ग लगायत लक्षित वर्गका लागि स्थानीय तहले छुट्याएको बजेट पनि लक्षित वर्गका अगुवाहरुले होटलमा तालिम गरेर,चिया बिस्कुट खाएर बिल तयार गरी बजेट सक्ने काम गरेको अपाङ्ग बालबालिकाले गुनासो गरेका छन् । अपाङ्ग करिश्मा बोहरालाई गत चैतमा घरबाटै एसईई परीक्षा दिने व्यवस्था र दुई महिना घरमै शिक्षक राखेर पढाउने व्यवस्था मिलाएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।  बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित नगर्न स्थानीय तहलाई घचघच्याउने काम भईरहेको प्रमुख अवस्थीले बताउनुभयो ।

वडा कार्यालयबाट बालबालिकालाई ल्यापटप प्रदान गरेर इन्टरनेट जडानका लागि पहल भईरहेको दशरथचन्द नगरपालिका–२, का वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । ह्वीरचियर जाने बाटोको लागि पहल गर्दा जग्गादाताले बाटो दिन नमानेपछि स्वअध्ययनका लागि बालबालिकालाई ल्पापटप प्रदान गर्ने निर्णय भएको वडा अध्यक्ष बोहराले बताउनुभयो । ल्यापटप किनेर केहीदिनमै हस्तान्तरण गर्ने तयारी भईरहेको अध्यक्ष बोहराले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?