बाबुराम देवकोटा
दुधौली (सिन्धुली), माघ ३ गते । दुधौली नगरपालिका–११ धनसरी निवासी ७२ बर्षिय वेदप्रसाद पराजुलीले विगत ११ बर्षदेखि खुवा उत्पादन गरी बिक्री गर्दै आउनु भएको छ । उहाँले बनाएको खुवा गाँउमा कोसेलीका लागि लोकप्रिय छ । हरेक दिन विहान झिसमिसेसँगै खुवा बनाउन चटारो पर्ने उहाँले बताउनुभयो । गाँउमा उहाँको खुवा उद्योग लक्ष्मी नारायण दुध डेरीको नामले परिचित छ । घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीमा दर्ता गरी सुरु गरेको उक्त खुवा उद्योगमा अहिले उहाँको माईलो छोरा, बुहारी र नातीले समेत घरमै रोजगारी पाउनु भएको छ ।
दैनिक ३० किलो खुवा उत्पादन गरी बिक्री गर्दै आएको माईलो छोरा तुलसीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हरेक दिन बिहान झिसमिसे देखि नै ११ बजेसम्म खुवा बनाउने चटारो हुन्छ । उत्पादन भएको खुवा बढी मात्रामा कोसेली पठाउन गाँउकाले नै किनेर लैजान्छन् । खुवा प्रति केजी थोक मूल्य पाँच सय र खुद्रा मूल्य ५५० रुपियामा बिक्री हुदै आएको छ ।’
घरका आफैले काम गरेकोले प्रति केजी एक सय रुपिया नाफा बस्ने उहाँले सुनाउनुभयो । खुवा व्यवसायि पराजुलीका अनुसार लक्ष्मि नारायण दुध डेरी उद्योगमा दैनिक एक सय ५० लिटर दुध गाँउका किसानले ल्याएर बिक्री गर्दै आएका छन् । किसानसँग प्रति लिटर ५० रुपियाका दरले दुध खरिद गर्ने गरेको र ३० जना किसानले दुध बिक्री गर्न ल्याउने गरेको उहाँको भनाई छ ।
सोही ठाँउका अर्का किसान् मोहनबहादुर सुनुवारले पनि घरेलु तथा साना उद्योग विकास समिति कमलामाई पाडापाडी फर्म दर्ता गरी भैंसिको पाडापाडी पाल्दै आउनु भएको छ । उहाँको गोठमा यतिखेर १५ वटा पाडा रहेका छन् । धेरै धन कमाउने उद्देश्यले साउदी अरब गएको र त्यहाँ ड्राईभरको काम गर्दा भनेजस्तो कमाई नभएपछि दुई बर्षअघि स्वदेश फर्केर पाडा पाल्न सुरु गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो भन्दाअघि एक लट २२ वटा पाडा पालेको थिए, तीन लाख रुपिया फाईदा भयो । २० हजार रुपिया जोडी किनेर ल्याउछु । एक बर्ष पालेर बेच्दा दोब्बर फाईदा हुन्छ ।’ पाडा किन्न व्यापारी घरमै आउने उहाँले जानकारी दिनुभयो ।
व्यवसायिक रुपमा काम गर्नेलाई स्थानीय तहले दिने अनुदान आफुले नपाएको र पावर, पँहुच भएकाले मात्रै लगेको उहाँको दुःखेसो छ । उहाँले थप्नुभयो, ‘हामी जस्ता काम गर्नेलाई त्यो अनुदान दिए पुरस्कार हुन्थ्यो, अरु युवालाई पनि काम गर्न प्रोत्साहन हुन्थ्यो । यहाँ त कामै नगर्नेले पावर र पँहुच लगाएर अनुदान खाएका छन् ।’
सिन्धुली जिल्लामा पछिल्लो समयमा गाँउ गाँउमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढेसँगै घर घरमै रोजगारी अवसर पनि बढ्दै गएको छ । घरेलु तथा साना उद्याग विकास समितिका अनुसार जिल्लामा गत असार मसान्तसम्ममा कुल दुई हजार ८९० वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । दर्ता भएका यि उद्योगबाट आठ हजार २२८ जनाले प्रत्यक्ष रोजगारी पाएका उक्त समितिले जनाएको छ । समितिका अनुसार रोजगारी पाउनेहरुमा दुई हजार ९१३ जना महिला र पाँच हजार ३७५ पुरुषले प्रत्यक्ष रोजगार पाएका हुन् ।
दर्ता भएका उद्योग मध्ये उत्पादनमूलक १७५ वटा, उर्जा सम्बन्धि एउटा, कृषि तथा वन जन्य एक हजार १७४ वटा, पर्यटन सम्बन्धि एउटा र सेवा मूलक एक हजार ५५७ वटा रहेका छन् । जिल्लामा घरेलु उद्योग खुल्ने क्रम बढेसँगै घर घरमै रोजगारीको अवसर पनि सिर्जना भएको समितिका प्रमुख संजिव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार यि उद्योगको कुल लगानी पूँजी तीन अर्ब ८६ करोड ५९ लाख ५८ हजार ८१८ रुपिया रहेको छ ।
यो लगानी मध्ये पनि स्थिर पूँजीतर्फ दुई अर्ब १७ करोड एक लाख ११ हजार ६१४ रुपिया रहेको छ । त्यस्तै चालु पूँजीतर्फ एक अर्ब ६९ करोड ५८ लाख ४७ हजार २०४ रुपिया रहेको समितिले जनाएको छ । स्थानीय तहले अनिबार्य प्यान नम्बर खोजेकाले पनि उद्योग दर्ता गर्ने आउनेको सङख्या बढेको समितिका प्रमुख न्यौपानेको भनाई छ ।
हाल जिल्लामा दर्ता भएका घरेलु तथा साना उद्योगहरुमा डेरी, राईस मिल, पानी घट्ट, कन्ट्रक्सन, फर्निचर, सिलाई कटाई, फोटो स्टूडियो, सिलाई, ब्युटिपार्लर, टायलब्लक सम्बन्धि आदि रहेका समितिले जनाएको छ ।