logo
२०८१ मंसिर १० सोमवार



पानी खाने धोको छ ! धारा जोड्ने पैंसा छैन

पढ्नै पर्ने |
समाज |


पानी खाने धोको छ ! धारा जोड्ने पैंसा छैन
घर भत्केपछि खुला आकाशमुनी बस्दै आएका दलित पदमराम भुल । तस्बिर -गोकर्ण दयाल, बैतडी ।



गोकर्ण दयाल
बैतडी, माघ ४ गते । गाउँमा १८ करोडको बृहत खानेपानी योजना बनेर घरघरमा खानेपानीका धारा छन् तर, किरी भुलको घरमा खानेपानीको धारा छैन । तिर्खा लागे छिमेकीको घरबाट पानी मागेर खानुहुन्छ उहाँ । मर्नुअघि आफ्नै धाराको पानी खान पाउने किरीको धोको छ । किरी भुल जस्तै ३० घर दलित परिवारले धारा जडान गरेको शुल्क तिर्न नसक्दा खानेपानीबाट बञ्चित हुनु परेको छ ।

यो पीडा बैतडी सदरमुकाम स्थित दशरथ चन्द नगरपालिका–४, बाडीलेकको भुलवस्तीको हो । यहाँका तीनसय दलित मध्ये अधिकाशं हलिया, भरिया र मजदुर छन् । यो बस्तीका अधिकाशं दलितको जग्गा जमिन र बस्ने राम्रो घर छैन ।
धारा नहुँने किरी भुलले पीडा सुनाउँदै भन्नुहुन्छ– ‘गाउँमा करिब एकसय घरधुरी दलित परिवार छन् । वस्तीका घर जिर्ण अवस्थामा छन् । रोजगारी छैन । मालिकको घरमा हलो जोत्दा जोत्दै श्रीमान बितेर गए । त्यसपछि मालिक फेरिए तर, हामी जस्ता दलितको दशा फेरिएन ।’
यो बस्तीका बिपन्न दलितले बिजुलीको मिटर जोड्न नसक्दा टुकी बाल्नु पर्ने अवस्था छ । खोपानीको धारा छैन । जिर्ण बनेका सय घरधुरी दलितहरुको एकै ठाउँमा बसोबास छ । एउटा घर भत्के अर्को घरमाथि खस्ने अवस्थामा गुजुमुज्ज परेको वस्ती छ । जिर्ण घर भत्केपछि डम्बर भुल हातमुख जोर्न भारतको पिथौरागढ हिँडेका छन् ।
चुनावका बेला नेताहरुले एकीकृत नमुना दलित वस्ती बनाउने, बिजुली र खानेपानीको धारा निःशुःल्क जडान गर्ने आश्वासन दिए पनि त्यसपछि नेताहरु हराएको दलित वस्तीका अगुवा राजुराम भुलले बताउनुभयो ।
हातमुख जोर्न हिजो हलियाका रुपमा मालिकलाई भोट दियौं । मुक्ति हुन्छ कि भनेर त्यसपछि निरन्तर कम्युनिस्ट नेताहरुलाई भोट दियौं तर, नेताहरुले पनि हामीलाई जुलुस र आन्दोलनमा मात्रै परिचालन गरे, भुलले भन्नुभयो ।
‘ पहिले यो बस्तीका सबै दलित मालिकको घरमा हलो जोतेर, भारी बोकेर जिबीका चलाउँथे । चुनावमा पनि आफ्नै मालिकलाई भोट हाल्थे । २०४९ सालतिर कम्युनिस्ट नेताहरुले यो दलित बस्तीमा आएपछि हामी सबै कम्युनिष्ट बन्यौं,” राजुरामले भन्नुभयो । भोक, रोग, गरिबी, असमानता र जातीय छुवाछूतको अन्त्य होला भन्ने सोचेर नै यो गाउँ कम्युनिस्ट बनेको हो । तर, हाम्रो पीडा नफेरिएसम्म कम्युनिस्ट सरकारको सपना पनि पूरा हुन नसकेको भुलले बताउनुभयो ।
बाडीलेकको दलित वस्तीमा घर नहुँनेहरु अहिले पनि खुला आकाशमुनी बस्ने गरेका छन् । जिर्ण घर भत्केपछि दुई वर्षदेखि खुला आकाशमुनी बस्दै आईरहेको पदमराम भुलले बताउनुभयो । दलित वस्तीमा शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था नाजुक रहेको पदमरामले पीडा सुनाउनुभयो ।

सरकारले एकीकृत बस्ती निर्माण गरेर एकै नासका नमुना घर निर्माण गरिदिए बाडीलेकका दलितको मुक्ति हुने वस्तीका पीडित परिवारले अपेक्षा गरेका छन् । २० करोड जति रकम हुने हो भने दलित बस्तीमा नमूना घर बन्न सक्ने पीडितहरुको अपेक्षा रहेको छ ।
बाडीलेक मुक्त हलियाहरुको गाउँ पनि हो । २०६५ भदौ २१ गते हलिया मुक्त राष्ट्र घोषणा हुँदा यो वस्ती हलिया मुक्त भएको हो । सरकारले मुक्त हलियालाई परिचय पत्र पनि बाँड्यो । केहीले मुक्त भएको परिचय पत्र पाए । ९० जना अझैं परिचय पत्रको आशामा रहेको छुट हलियाहरुले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा दशरथ चन्द नगरपालिका वडा नं. ४ को यो दलित वस्तीबाट पार्वती भुल दलित महिला वडा सदस्यका रुपमा निर्वाचित हुनुभएको छ । निर्वाचित महिला वडा सदस्य पार्वती भुलले खानेपानीको धारा नहुँनेलाई धारा जडान गर्न माग गरे पनि वडाको बैठक नै बस्न नसकेको बताउनुभयो ।
चुनावका बेला नेताहरुले भोट दिए पानीका धारा निःशुल्क जडान गर्ने बाचा गरे पनि चुनाव जितेपछि बाचा बिर्सेको धारा नहुँनेहरुले गुनासो गरेका छन् । यो विषयमा दशरथ चन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले भने नगरपालिकाले विस्तारै पछाडि परेको वर्ग र समुदायको उत्थानका लागि योजना निर्माण गरिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?