देवबहादुर कुँवर
काठमाडौँ, माघ ६ गते । नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ । यस्तै आत्महत्याका घटनाको मूल कारण ऋणभार देखाइने र यसले अनेकन विकृतिजन्य समस्या ल्याउने गरेको पाइएको छ । ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामूहिक आत्महत्या गरेको भनिएको छ । प्रहरी अनुसन्धानअनुसार भने सोही कारण नै हो भन्ने ठाउँ नदेखिएको बताइन्छ ।
इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले भन्नुभयो, “इनभेस्टमेन्ट कम्पनी सञ्चालनका क्रममा ऋण लागेको देखिन्छ तर त्यही ऋणका कारण सामूहिक आत्महत्या गर्नैपर्ने अवस्था देखिँदैन । ” श्रीमती जमुना, दुईवर्षे छोरा बिजन र छ महिनाको छोरा रिजनसहित शुक्रबार त्रिशूली नदीमा हामफाल्न पुगेका विनय उद्धारपछि बाँच्न सफल हुनुभए पनि उहाँले परिवार भने गुमाउनुभएको छ ।
उहाँलाई यति खेर ऋणको भारले भन्दा परिवार गुमाएको पीडाले तड्पाएको छ । “विनयले चन्द्रागिरि थानकोट क्षेत्रमा सञ्चालित तीनवटा सहकारी र चिरपरिचितसँग ऋण लिनुभएको देखिन्छ”, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चर्को ब्याजसँंगै ऋण तिर्न आएको दबाबका कारण तनाव सहन नसकी आत्तिएर उहाँले गलत बाटो रोज्नुभएको हो । त्यस्तै कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले पनि बैङ्कको ऋण तिर्न नसकेकै कारण आत्महत्या गर्नुभएको छ । लामिछाने परिवारको सामूहिक आत्महत्या घटना भएको एक दिनअगाडि बिहीबार वडाध्यक्ष खड्का भारतको बहराइचमा मृत अवस्थामा भेटिनुभएको हो ।
खड्काको साथमा फेला परेको दुई पेज लामो ‘सुसाइड नोट’मा वाणिज्य बैङ्कलाई दोषी देखाइएको छ । घरकर्जास्वरूप लिएको ऋण तिर्न नक्सदा बैङ्कले तनाव दिएकाले गलत बाटो रोज्न बाध्य भएको सुसाइट नोटमा उल्लेख छ ।
चर्चित गायक रामकृष्ण ढकालको घरपरिवार टुक्य्राउन वित्तीय संस्थाको ऋण नै मुख्य दोषी रहेको बताइएको छ । यस विषयमा गायक ढकालले मुख खोल्न नचाहनुभए पनि केही समयअघि ढकाल र पत्नी नीलम शाहबीच रहस्यमय ढङ्गले सम्बन्धविच्छेद भएको छ ।
ललितपुर सैँबुस्थित घरजग्गा धितो राखी एक करोड ८० लाख रुपियाँ ऋण लिएको ढकाल दम्पतीलाई पाँच करोड ऋण नतिरेको भन्दै एक सहकारीले सार्वजनिक सूचना नै जारी गरेको थियो । तर पारिवारिक समस्या
जनाउँदै ढकाल दम्पतीले सम्बन्ध विच्छेद गरेको हो ।
उल्लिखित यी तीन घटनाबाट प्रस्ट हुन्छ, बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण कति जटिल र अकल्पनीय बन्छ ।
आम्दानीभन्दा ऋणको भार बढी
“ब्याज तिर्न नसकी ऋणीले आत्महत्या जस्तो गलत बाटो रोज्नुपछाडि बैङ्क तथा वित्तीय संस्था दोषी देखिन्छन्”, राष्ट्र बैङ्कका प्रवक्ता डा. गुनाकर भट्ट भन्नुहुन्छ, “यस्ता समस्या आउन नदिन (वेस्ट इनकम टु सर्भिस रेसियो) आम्दानीको आधारमा ऋण तिर्न सक्ने अनुपात नीति लागू गरिएको छ । ” “बैङ्क तथा वित्तीय संस्था सञ्चालकहरूले भने यस नीतिको विरोध गरेका छन्”, उहाँले थप्नुभयो, “घाँटी हेरी हाड निल्नू भनेझैँ घरजग्गा, गाडीलगायत विलासितामा ऋण दिँदा ऋणीको किस्ता तिर्न सक्ने क्षमता मूल्याङ्कन गरी ऋण प्रवाह गर्नुपर्छ । ”
आयआर्जन तथा उत्पादनमूलक उद्योग व्यवसायमा जति पनि ऋण प्रवाह गर्न सकिन्छ । तर, आम्दानी नहुने यस्ता विलासितामा ऋण प्रवाह गर्दा व्यक्ति तथा परिवारको आम्दानीको स्रोत खोजिनुपर्छ । उहाँका अनुसार यसो हुँदा ऋणीलाई सहज र बैङ्क तथा वित्तीय संस्थालाई नाफा पुग्छ ।
बैङ्क तथा वित्तीय संस्थाहरू सेवाभन्दा नाफामुखी बढी भएकाले ऋणीहरूलाई तनावसँगै लगानी पनि जोखिममा पर्ने गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गर्ने ब्याजदरभन्दा अतिरिक्त सेवा शुल्क चर्को र त्यसमाथि बैङ्क तथा वित्तीय संस्थाले दिने तनाव मुख्य चुनौती देखिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकहरू भने इमानदार ऋणीको अभाव खड्किएको बताउँछन् । चल–अचल सम्पत्ति तथा धितो जमानत मूल्याङ्कन गरी ऋण प्रवाह गरिने भएकाले ऋणीहरूले गर्ने गलत निर्णयमा बैङ्कहरू दोषी नभएको दाबी बैङ्कर्स एसोसिएसन अफ नेपालको छ ।
प्रेम, पैसा र पागलपन
आत्महत्याका घटना बढ्नुमा प्रेम, पैसा र पागलपनलाई मुख्य दोषी ठानिएको छ । मनोचिकित्सक रविन श्रेष्ठका अनुसार किशोरकिशोरीले प्रेमसम्बन्धका कारण आत्महत्या गर्ने गर्छन्, त्यसभन्दा माथिकाले भने आर्थिक कारोबार बिग्रिएर पनि आत्महत्या गर्छन् ।
विशेष गरी आत्महत्याका पछाडि आर्थिक पक्ष (पैसा) र प्रेम सम्बन्ध जोडिएको हुन्छ । यी दुई तनाव व्यवस्थापन गर्न नसक्दा पीडित गलत बाटो रोज्न बाध्य हुने मनोचिकित्सक श्रेष्ठले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आत्महत्याका घटना प्रत्येक वर्ष १३ प्रतिशतले वृद्धि भइरहेको छ । आत्महत्यामा जानुअघिको अवस्थालाई डिप्रेसन पनि भनिन्छ ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्र पाँच हजार ३४६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ८० प्रतिशत डिप्रेसनका बिरामी छन् । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री डिप्रेसन भएकाका लागि सहज र सर्वसुलभ मनोपरामर्श अभाव रहेको बताउनुहुन्छ । यस्ता बिरामीलाई परामर्श दिने दक्ष जनशक्तिको खाँचो छ भन्दै उहाँले थप्नुभयो, “यसको सुरुआत परिवारको सदस्यबाटै हुनुपर्छ । ”