गोकर्ण दयाल
बैतडी, माघ १२ गते । गरिबीले खान लगाउन नपुगेपछि तीन/चार गाउँ बसाँई सरेर बस्ने ठाउँको अभावमा निरक्षर आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर (मास्टर डिग्री) पढाएका छोराले लोकसेवा पास गर्नुभएको छ ।
बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले लेकको ओडारमा भैंसी पालेर घिउ बेचेर दुई छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ । ओडारमा भैंसी पालेर छोराहरुलाई हुर्काउँदै स्कूल पढाएका केटरी बोहराका कान्छो छोरा खडकसिंह बोहराले भर्खरै लोकसेवा पास गर्नुभएको छ । खड्कसिंहले एक महिनाअघि लोकसेवा आयोगबाट प्रशासन सहायक पाँचौं तह पास गरेर डडेल्धुराको आमरगढी नगरपालिकामा सेवा सुरु गर्नुभएको छ । खड्कसिंहले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा मास्टर डिग्री गर्नुभएको छ ।
लाकेसेवा पास गरेर आमाको आर्शिवाद लिन डडेल्धुराबाट घर पुग्नु भएका खडकसिंह बोहराले आमाले ओडारमा भैंसी पालेर आफुलाई हुर्काउने र पढाउने काम गरेको कुरा शब्दमा बयान गर्न नसकिने बताउनुभयो ।
बोहराले भन्नुभयो, –“ आमाको संघर्षको कथाले नै आफुलाई मेहनती बनाएको हो । म आमाको ऋण कहिल्यै तिर्न सक्दिन । हामी दुई जना भाइ यति भाग्यमानी छौं कि, हामीले यस्ती महान आमा पायौं जो, आफु आक्षर तिन्नुहुन्छ तर, हामीलाई यति ठूलो संघर्ष गरेर पढाउनुभयो । ”
जेठो छोरा शेरसिंह बोहराले पनि त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा मास्टर डिग्री गरेर गाउँकै माध्यमिक विद्यालयमा शिक्षक हुनुहुन्छ । केटरी बोहरा आफू निरक्षर हुनुहुन्छ । नागरिकतामा नारुदेवी नाम भए पनि उहाँको परिचित नाम भने केटरी छ । उमेरले छ दशक पुग्न लाग्नुभएकी केटरी बोहरा अहिले पनि ओडारमै भैंसीको स्याहार गरिरहनु भएको छ ।
खेतबारी नभएपछि केटरी बोहराको जीवन कालमा तीन ठाउँमा बसाँइसराइ गरेर लेकमा भैंसी पालेर अर्काको खेत अधियाँमा काम गरेर छोराहरुलाई पढाएको केटरी बोहरा बताउनुहुन्छ ।
केटरी बोहराको परिवारको पुर्खौली घर पाटन नगरपालिका–५, बसन्तपुर हो । त्यहाँ खान लगाउन नपुगेपछि बोहरा परिवार २०३५ सालमा पाटन नगरपालिका–१, डैसीली गाउँको लेकतिर उक्लियो ।
डैसीली गाउँमा पनि अन्नपात खासै राम्रो नफलेपछि पाटन नगरपालिका–७, कैलपालको मजेडा गाउँको ओडारमा बसेर अर्काको खेत अधियाँमा कमाईखान थालेको केटरी बोहराले बताउनुभयो ।
२०३८ सालमा अर्काको खेतमा रोपाईँ गरिरहेका बेला सुत्केरी व्यथा लागेपछि केटरी बोहरा सुत्केरी हुन ओडारमा जानुभयो । त्यही ओडारमा केटरी बोहराले जेठो छोरा शेरसिंहलाई जन्म दिएको बताउनुभयो ।
आफ्नो घर भए पो ! सुत्केरी हुन घरमा जान्थे । घर थिएन, त्यसैले ओडारमा सुत्केरी भएको केटरी बोहराले बताउनुभयो । भैंसी पालेर घिउ बेच्दै छोराछोरी पढाउँदै बचत गरेको पैंसाले २०५९ सालमा बल्ल आफ्नो घर बनेको केटरी बोहरा बताउनुहुन्छ । त्यो घरमा पनि अहिले केटरी बोहराका श्रीमानका तीन भाईको अंश छ ।
छोराहरु अब जागिरे भईसकेका छन् । अब अलगै घर बनाउलान । मलाई त अब के राम्रो घर चाहियो र ? छोराहरु बस्ने राम्रो घर भए मलाई त्यसैमा खुसी लाग्छ ।
भैंसी पालेर छोराहरु पढाए । अधियाँमा कमाई खाएको खेत पनि अहिले आफैले किनिसकेको केटरी बोहराले बताउनुभयो । अधियाँमा कमाउँदै आएको खेत आफैले किनेको बताउँदै केटरी बोहराले भन्नुभयो–“ ऊ त्यो खेतभरी सबै भन्दा बढी हरियो र हलक्क हुर्केको गहुँ जतिको खेत मेरै हो । भैंसीको मलले गर्दा खेती राम्रो हुन्छ । हेर्नुस् त मैले लगाएको गहुँ टाढैबाट अलगै चिन्न सकिन्छ ।”
निरक्षर केटरी बोहराको सानैमा विवाह भएको थियो । श्रीमान रोजगारीका लागि देश विदेश भौतारिनुभयो । त्यो बेलाको दुःख सुनाउँदै केटरीले भन्नुहुन्छ– ‘घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन् । श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा कम्ती दुःख थिएन । चिठ्ठी लेख्ने मान्छे नपाएर रोजगारीमा जाने गाउँ अन्य मान्छेसित मौखिक खबर पठाउँथे ।’
गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो ।
दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बुन्नुभयो । सपनाको गाँठो फुकाउँदै केटरीले भन्नुभयो, ( ‘ओढारमा १० वटा भैंसी पाले । त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन । दूधको बजार पनि थिएन । घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे । मेरो सपना साकार भएको छ । जेठो छोरो शिक्षक बनेको छ । कान्छोले लोकसेवा पास गर्यो ।’