टीकाराम उप्रेती
झापा माघ १५ गते । ‘हुम्लीको भेडा नहोस् , जुम्लीको छोरा नहोस् , मधेशको घोडा नहोस्’ भन्ने हुम्ला÷जुम्लाको पुरानो उखान हो । ‘हो हामी पनि अहिले यो उखान जस्तै भएका छौ’ जुम्ला जिल्लाको सिजा गाउँपालिका–६ काँडा गाउँका ५२ बर्षका बिर्खबहादुर बुढाको भनाइ हो यो ।
हुम्लामा भेडाले जति दुःख कसैले पाउदैन रे ? हिमाल पारीदेखि मानिसले भारी बोक्न देखि ऊन उत्पादन गर्नसम्म भेडाको प्रयोग गरिन्छ । यस्तै जुम्ला अत्यन्तै विकट जिल्ला हो । विकासले समेत पछाडी परेको जिल्ला भएकाले यहाँका छोरा मानिसले भारी बोक्ने देखि देश विदेशमा कमाएर घर परिवार पाल्ने बाध्यता रहेको छ । ‘यहाँ छोरो भएर जन्किएर धेरै दुःख पाइन्छ,यस्तै मधेशको घोडाले समेत १२ महिना २४ सै घण्टा काम लाइन्छ,यस अर्थमा उखान भनिएको हो’बुढाले थप्नुभयो ।
‘अहिले आफ्नो गाउँघरमा हिउँले ढाकेर माटो देखिदैन,घरमा खाने कुरा केही हुन्न,त्यही भएर हामी गाउँका छोरा मानिस जति हिउँदभरी कमाउन परदेशिने गर्दछौ’ बुढाले भन्नुभयो । बिर्खबहादुरको नेतृत्वमा छिमेकी नाताभित्रका नौ जनाको समुह हुम्लादेखि जडिवुटी विक्री गर्न झापा आइपुगेको छ । उनीहरु झापाको दमक ५ स्थित खाली चौरमा पाल टागेर बसेका छन् । हिउँदको कडाङ्ग्रिने चिसो भुइमा पराल ओछ्याएर सामान्य कपडा ओडेर रात बिताउदै आएका छन् ।
दिनभरी जडीबुटी बिक्री गर्न गाउँगाउँसम्म पुगिन्छ । साँझ परेपछि सबै भेला हुने गरेका छौ । सबैले पैसा उठाएर चामल तरकारी किन्ने गरिन्छ । बिगत ३० बर्षदेखि यसरी नै बिताउदै आएको जुम्लाको तीला गाउँपालिका– २ रारालिहीका नौसेर बुढाले बताउनुभयो ।
‘हामी सबैको थोरैथोरै पाखो बारी छ । पाखोबारीमा अहिले बाक्लो हिउँले ढाकेको छ’मनबहादुर बुढा बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले भदौमा नै बारीमा गहुँ, जौँ छरिसकेका छौ’ उहाँले भन्नुभयो । ‘चिसोका कारण अहिले हिउभित्र नै टुसाउदै हुन्छ जब गर्मीले हिउँ पग्लिन्छ अनिमात्र बाहिर निस्कन्छ, एक बाली पाक्न नौ महिनासम्म लाग्छ, हामी जुम्लाको चिसो पनि छल्ने एकदुइ पैसा पनि कमाइन्छ भनेर आएका हौ’ बुढाले बताउनुभयो ।
झोलामा एक सरो कपडा र अली अली जडीबुटी बोकेका छौ । यसैबाट केही पैसा बचाएर फर्कदा घरमा बुढा आमाबुबा श्रीमती छोराछोरीलाई नयाँ कपडा दिने गर्दछौ । अब हामी गर्मी चढेपछि फागुन अन्तिम साता तिरमात्र घर फर्कन्छौ उनीहरुको भनाइ छ । यही समुहमा १८ बर्षका शेरबहादुर बुढा र २० बर्षका नवराज बुढा समेत आफन्तसँगै हिड्नुभएको छ । पैसाको अभावले कक्षा ११ पढ्दापढ्दै छोडेर कमाउन हिडेको उहाँहरु बताउनुहुन्छ ।
हाम्रो गाउँमा आलु, गहुँ जौँ मात्र खेती हुन्छ यसले तीन महिना पनि खान पुग्दैन । धेरैजसो भदौमा नै गाइबस्तुलाई घाँसको जोहो गरेर तिहार मानेर परदेशीने गरिन्छ । सधैका बर्षमा भारत तिर जाने गरेका थियौ । त्यहाँ साह्रैधेरै हेप्ने, लुट्ने, कुटपिट समेत गर्ने गरे । त्यहाँको पुलिसले समेत दुःख दिन थाल्यो । त्यसैले यो बर्षदेखि हामी नेपालमा नै हिड्न थालेको हो । यो हाम्रो पहिलो बर्ष हो । राम्रो भयो भने आगामी बर्षमा समेत नेपालमा नै घुम्ने योजना उनीहरुको छ ।
उनीहरुले हिमाली जिल्लामा पाइने चिराइतो, शिलाजी, हिङ्ग, जेठो मधु, टिमुर, भेडीको ध्यू, देखि केही औँठी, नेलकट, टीका, धागो, पोते जस्ता बस्तु समेत गाउँ गाउँ घुम्दै बिक्री गर्ने गरेको बताउछन् । एक जनासँग ३० देखि ३५ हजार रुपैयाँसम्मको जडिबुटी र सामान रहेको छ ।