गोकर्ण दयाल
बैतडी, माघ १८ गते । २०१५ सालमा नेपाली काँग्रेसबाट जन निर्वाचित किशनलाल लेखकले २०१८ सालमा बैतडी सदरमुकामा खानेपानी पुर्याउनुभयाे तर, उहाँको परिवारकै घरमा अहिले खानेपानीको धारा छैन । लेखकको निधनपछि विधवा पत्नी अहिले चरम गरिबी र आर्थिक अभावमा जीवनका अन्तिम क्षण गुजारिरहनु भएको छ ।
किशनलालको मृत्यु भएको ५४ वर्ष भईसक्यो तर, उहाँको मृत्युको अभिलेख नेपाली काँग्रेससित छैन । उहाँको सम्झनामा अहिलेसम्म कतै वार्षिकी मनाउने र कार्यक्रम गरिएको छैन । तर, किशनलाल बैतडीवासीको जिब्रोमा अहिलेसम्म झुण्डिरहेका छन् ।
किशनलाल खोज्दै गोरखापत्रकर्मी २०७६ माघ १७ गते उहाँको घर बैतडीको दशरथ चन्द नगरपालिका–५, मल्लीआईत पुग्दा उहाँका ९० वर्षिय र ७० वर्षिय दुई जना श्रीमती भेटिनुभयो । ९० वर्षिय जेठी श्रीमती पदमा लेखक र ७० वर्षिय तारा लेखक आँगनमा टोलाईरहनु भएको थियो । उहाँहरुका छोराछोरी छैनन् । ९० वर्षिय जेठी श्रीमती पद्मा लेखकको मानसिक सन्तुलन बिग्रेको छ । दुःख बिरामी पर्दा छिमेकमा रहेका भतिजो नाता पर्ने जनकराज लेखक कहिलेकाँही स्याहार गर्नुहुन्छ ।
आफू पनि रोगको उचार गराईरहेको बताउँदै जनकराजले अरु सहयोग गर्न नसके पनि आफ्नो घरको धाराबाट पानी भर्न दिएको बताउनुहुन्छ । खानेपानी त उहाँहरु कुवाबाटै भरेर खानुहुन्छ तर, घरायसी सरसफाई गर्न उहाँसित पानीको धारा नभएकोले मैले पानी दिने गरेको छु, जनकराजले भन्नुभयो ।
किशनलालका बारेमा जान्न खोज्दा उहाँकी कान्छी श्रीमती तारा लेखकले भन्नुहुन्छ,– “उहाँले २०१५ सालमा चुनाव जित्नु भएको हो । किशनलाल लेखक निर्वाचित हुने बेला बैतडी र दार्चुला एउटै जिल्ला थियो । हालको बैतडी १ नम्बर क्षेत्र र दार्चुला २ नम्बर क्षेत्र थियो ।
विपी कोईराला बैतडी आउँदा उहाँलाई नै खोज्नुहुन्थ्यो । पछि राजा महेन्द्र आउँदा पनि किशनलालकै खोजी हुन्थ्यो । २०२२ साल असोज ९ गते किशनलालको टिबी रोग लागेर काठमाण्डौंको वीर अस्पतालमा मृत्यु भयो । अहिले उहाँलाई खोज्न कोही आउँदैनन् । हाम्रो बारेमा पनि कसैले खोजी गरेको छैन ।”
किशनलालको मृत्युपछि राजा महेन्द्रले त्यो बेला दुई हजार रुपियाँ पठाएको तारा लेखक सम्झिनुहुन्छ । त्यसपछि तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउँदा पनि थप दुई हजार पठाएको तारा लेखक बताउनुहुन्छ ।
किशनलाल लेखकलाई सम्झिदैं उहाँकी धर्मपत्नी तारा लेखक अगाडि भन्नुहुन्छ–“ बाँचुन्जेल उहाँ सधै, चमेलियामा पुल, बैतडी सदरमुकाममा हाईस्कुल, बैङ्क र खानेपानी हुनुपर्छ भन्नुहुन्थ्यो । खानेपानी आयो पनि तर, पहिले अरुलाई पानी खुवाउनु पर्छ भनेर त्यो बेला घरमा खानेपानीको धारा जोड्नु हुँदैन भन्नुभयो । उहाँ बितेको पनि अहिले ५८ वर्ष भईसक्यो । अहिले बैतडी सदरमुकाममा अरु सबैका घरमा खानेपानीका धारा भए पनि हाम्रो घरमा धारा छैन । हिँडेर कुवाबाट पानी बोकेर खाने गरेका छौं ।”
२०१२ सालमा विपी कोईराला बैतडी आउँदा किशनलाल ज्यान दिएर संगठन बनाउन लाग्नु भएको थियो । काँग्रेसले किशनलालको मृत्युको अभिलेख नराखे पनि विपी कोईराला बैतडी आउँदा किशनलालले संगठन बिस्तार गरेको अभिलेख गोरखापत्रले फेला पारेको छ ।
विपी कोईराला बैतडी आउँदा काँग्रेसको संगठन निर्माणमा लेखकले बैतडी जिल्लाका गाउँगाउँमा नेपाली काँग्रेसका उप शाखा गठन गरेको अभिलेखमा भेटिएको छ ।
२०१५ सालमा जन निर्वाचित सरकार अपदस्थ गरेर तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कु गरेपछि किशनलालले जननिर्वाचित सांसद्को पद गुमाउनुपर्यो ।
२०१८ सालमा तत्कालीन राजा महेन्द्र बैतडी भ्रमणमा आउँदा जननिर्वाचित सरकार अपदस्थ गरेपछि जनताले चाहेको विकास अबरुद्ध भएको कुरा किशनलालले भाषण गर्नुभएको थियो ।
महेन्द्र उपस्थित भएको कार्यक्रममा भाषणमा किशनलालले बैतडी सदरमुकाममा खानेपानी नभएको, बैङ्क नभएको, चमेलिया नदीमा पुल नभएको र हाईस्कुल नभएको तर, प्रजातन्त्र अपहरण भएको कुरा राखेपछि महेन्द्र किशनलाल लेखकबाट प्रभावित बन्नु भएको उहाँका धर्मपत्नीको भनाई छ ।
किशनलालको भाषण सुनेपछि महेन्द्रले बैतडी सदरमुकाममा खानेपानी, बैङ्क,हाईस्कुल र चमेलिया नदीमा पुल हाल्ने प्रतिबद्धता गरे अनुसार सोही वर्ष बैतडीबासीको माग पूरा भएको बैतडीका पुराना समाजसेवी नेता पुष्पराज लेखक बताउनुहुन्छ ।
किशनलालको समाज सेवाप्रतिको मोह देखेर महेन्द्रले २०२१ सालमा लेखकलाई राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित गरेका थिए । दुई पटक राजनीतिक लाभको पदमा पुगे पनि किशनलाल लेखकले सदरमुकाममा खानेपानी पुर्याए पनि आफ्नो घरमा निजी धारा जोड्नु भएन ।
बैतडी दशरथ चन्द नगरपालिका–४,का ७८ वर्षिय बृद्ध वीरबहादुर चन्द किशनलाल लेखक एक निस्वार्थ आदर्शवादी व्यक्ति भएको बताउनुहुन्छ । किशनलाल नभएको भए २०१८ सालमा बैतडी सदरमुकाममा खानेपानीको योजना नै आउने थिएन भन्नुहुन्छ चन्द ।
नेता किशनलाल कति आदर्शवादी नेता हुनुहुन्थ्यो भन्ने कुरा सेवा निवृत्त हुनु भएका बैतडीका ७७ वर्षिय पुष्षराज लेखक रोचक कुरा सुनाउनुहुन्छ ।
किशननलालको बारेमा पुष्पराज भन्नुहुन्छ–“ २०२१ सालमा मेरो दूरसञ्चारमा नोकरी गर्न नाम निस्यो । तालिम गर्न धनगढी जानु पर्ने थियो । खर्च थिएन । मेरै गाउँका एक कर्मचारीले घर भत्केको निवेदन दिएपछि सरकारले तीनसय रुपियाँ दिन्छ । वडाहामीकसित गएर निवेदन गर भन्यो । पैंसा पाउने लोभमा मैले बडाहाकीम कहाँ निवेदन दिए । बडा हामीमले माननीय किशनलाल लेखकको सिफासिर बनाएर ल्याउन भने ।
सिफासिर माग्न किशनलाल लेखक कहाँ जाँदाको स्मरण गर्दै पुष्पराजले अगाडि भन्नुभयो, घर भत्कोको सिफारिस गरिदिन किशनलाल लेखकजीलाई के भनेको थिए, उहाँले मेरो साते पुत्लो जाने गरि हकार्नुभयो –“ तिमी नोकरी नखाँदै यस्तो गलत काम गर्ने ? त्यो पनि म कहाँ आएर सिफासिर माग्ने ? म त्यस्तो मान्छे हो?” भनेपछि मैले त्यो निवेदन त्यही च्यातेर ऋण निकालेर तालिम लिन धनगढी लागे ।
किशनलालको जस्तो राजनीतिक आदर्श र नैतिकता अहिले पाईन मुश्किल पर्ने नागरिक समाज बैतडीका अगुवा प्रकाश चन्द बताउनुहुन्छ ।
२०२१ सालमा राजा महेन्द्रले किशनलाललाई राष्ट्रिय पञ्चायतमा मनोनित गरेपछि नेपाली काँग्रेसले उहाँको योगदानलाई बिर्सेर राजासँग मिलेको आरोप लगाए पनि किशनलालले नेपाली काँग्रेस गठन गर्दा गरेको संघर्षको राजनीतिक दस्तावेज हेर्दा उहाँ समाजवादी र उच्च नैतिकवान व्यक्ति भएको पुष्टि हुने चन्द बताउनुहुन्छ ।
विपी र राजा महेन्द्र दुबैले मन पराएको व्यक्ति चानचुने त पक्कै पनि थिएनन् होला तर, किशनलालको योगदानलाई नेपाली काँग्रेसले भुलेको नागरिक अगुवा चन्दको बुझाई छ ।
किशनलालको बारेमा उहाँका धर्मपत्नी तारा लेखकको मर्नु अघि बैतडीमा आँखा अस्पताल बनाउन जग्गा दान गर्नुभएको छ । जग्गा दान गरे पनि अस्पताल बनाउन ढिलो भएको तारा लेखकले चिन्ता व्यक्त गर्नुभएको छ । तारा भन्नुहुन्छ–“ आँखा अस्पतालका लागि मैले जग्गा दान गरेको धेरै वर्ष भयो । किन हो ? अस्पताल बन्न ढिलो भएको छ ।”