नरेन्द्र ढकाल
गोरखा, माघ २० गते । सोतीका गोपी आलेले खच्चड खेदेर हिडेको २० वर्ष भयो । सुरुमा अरुको खच्चड गोठालो बस्नुभएका गोपी कालान्तरमा आफै मालिक बन्न पुग्नुभयो । अहिले उहाँ आरुघाट, धार्चे र चुमनुब्रीका विभिन्न ठाउँमा खच्चड मार्फत सामान ढुवानीको काम गर्नुहुन्छ ।
‘सुरुमा म काम गर्न लम्जुङ गएँ, केही वर्ष खच्चड धपाएँ’ उहाँले भन्नुभयो ‘ साहुले खोटाङको मान्छेलाई खच्चड बेचिदियो, त्यसपछि मेरो जीवनले अर्को मोड लियो गाउँ फर्के ।’
त्यत्ति बेलासम्म उहाँले खच्चड पालेर राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाइसक्नु भएको थियो । साहुले खच्चड बेचिदिएपछि गाउँ फर्केर गोपी ऋण धन गरेर खच्चड किन्न तम्सिनुभयो । ‘सुरुमा मैले सात वटा खच्चड किनेँ, त्यत्तिबेला एउटाको मूल्य ६० हजार पर्थो’ गोपीले आफ्नो विगत सम्झनु भयो - ‘भारी दिने साहुसँग ऋण मागें, साथीभाइले पनि धेरै सहयोग गर्नुभयो ।’
आफूसँग एक रुपियाँ पनि लगानी नहुँदा चार लाख २० हजार ऋण खोजेर खच्चड व्यवसायमा हात हालेका गोपीले केही वर्षमा उक्त ऋणको साँवाव्याज चुक्ता पनि गर्नुभयो । ‘सासको धन सधै कहाँ रहन्छर २–३ वर्ष मै सबै खच्चड मरे, त्यसको ठाउँमा नयाँ थप्दै लगेँ । फेरि खच्चडको भाउ यत्ति उकासियो की एउटैलाई एक लाखमा पनि पाउन मुस्किल हुन थाल्यो ।’
भूकम्प गएपछि गाउँमा खाद्यन्न र निर्माण सामाग्रीको ढुवानी लागि अत्याधिक माग आएपछि खच्चडको भाउ बढेको उहाँले बताउनुभयो । अहिले गोपीसँग १२ वटा खच्चड छन् । श्रीमती कुमारी आले र उहाँले मिलेर गाउँगाउँ भारी पु-याउँनुहुन्छ । विभिन्न ठाउँको अर्डर लिने, खच्चडलाई भारी बोकाएर ग्राहक कहाँ पु-याउने उहाँहरुको दैनिकी हो ।
त्यसबाट भएको आम्दानीले परिवार र खच्चड दुबैलाई पाल्नु पर्ने बाध्यता आले दम्पत्तीलाई छ । पछिल्लो समय ग्रामिण क्षेत्रमा कच्ची सडक सञ्जाल पुगेपछि उनीहरुको खच्चड व्यवसाय संकटमा परेको छ । ‘पहिले आरुघाटमै भारी लिन जानु पर्थो, बिस्तारै आरखेत हुँदै अहिले त सोती सम्मै गाडीले सामान ल्याउछ’ गोपीले भन्नुभयो ‘गाउँमा जताततै गाडी पुग्न थालेको छ, अब खच्चडको दिन गए जस्तो छ ।’
पूर्वाधार विकासको लहरले खच्चड व्यवसाय संकटमा परेपनि गोपी भने कत्ति बिचल्लित छैनन् । ‘हामीले जस्तो दुखः छोरा नातीले पाउनु भएननी, खच्चडले काम नपाए अरु केही काम गरौंला’ उहाँले भन्नुभयो ‘त्यसैले गाउँमा बाटो गएकै राम्रो हो । बरु हिउँदमा मात्र होइन बर्खामा पनि चल्ने अवस्था बनाउनु पर्छ ।’
उत्तरी गोरखाको धार्चे र चुमनुब्री सहित आरुघाट गाउँपालिकाको कतिपय स्थानमा अहिले पनि सडक सञ्जाल पुगेको छैन् । पुगेका कतिपय स्थानमा हिउँदका दुई महिनामा मात्र गाडी चल्छन् । अन्य समय खच्चडले मार्फत बोकाएर लगिएको सामानले त्यहाँका मानिसले गुजारा चलाउने गर्छन् । पछिल्लो समय कच्ची सडक बिस्तारले भने खच्चड व्यवसाय भने बिस्तारै हराउँदै गएको छ ।