टीकाराम उप्रेती
झापा माघ २१ गते । एक नम्बर प्रदेश सरकारले विभिन्न योजनालाई व्यवस्थित समान तरिकाले अघि बढाउन ठुला योजना एकीकृत गर्दै एउटै परियोजना बैंक स्थापना गरेको छ ।
प्रदेश भित्रका सबै योजना समेटिएको परियोना बैंक सम्बन्धीको ऐन प्रदेश संसदले बनाई सकेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीले बताउनुभयो । ‘समृद्ध प्रदेश निर्माणका लागि यस प्रकारको परियोजना बैंक बनाइएको हो । यही परियोजना बैंक मार्फत प्रदेश सरकारले बनाउने नीति तथा कार्यक्रमहरु यसैलाई आधार बनाएर निर्धारण गरिने छ । समृद्ध प्रदेश बनाउने लक्ष्यलाई अघि बढाउन प्राथमिकताका आधारमा लगानी गर्न परियोजना बैंक ल्याइएको सचिव रेग्मीको भनाई छ ।
प्रदेश नं. १ को प्रथम आवधिक योजना आर्थिक वर्ष २०७६/७७ देखी ०८०/८१) मा उल्लेख भए बमोजिम छरिएर रहेका पुँजीहरुलाई एकीकृत गर्दै लगानीको वातावरण सृर्जना गर्न परियोजना बैंकको अवधारणा ल्याएको हो । सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन अन्तर्गत परियोजना बैंकको अवधारणाको परिकल्पना गरेको छ ।
एक नम्बर प्रदेशले परियोजना बैंकमा प्रदेशका ठुला ३५ वटा योजना समेटिएको छ । बैंकमा समेटिएका योजना मध्ये तमोर मेवा हाइड्रोपावर र सगरमाथा केवलकार सञ्चालनका योजना समेटिएको छ । त्यस्तै प्रत्येक जिल्लामा एक औद्योगिक क्षेत्र निमार्ण, विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णसम्मका योजना रहेका छन् । यस्तै परियोजना बैंकमा ईटहरी र रुम्जाटारलाई स्मार्ट सिटीमा परिणत गर्ने, ईटहरीमा अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणको काम समेत प्राथमिकतामा राखिएको छ ।
यस्तैगरि अमरडुवा सुनसरीमा औद्योगिक पार्क निमार्ण गर्ने, अग्र्र्यानिक मल कारखानाको स्थापना गर्ने, सुनसरीको तालतलैयालाई थिमपार्कमा रुपान्तरण, कञ्जनजङ्घा–सगरमाथा हिमाली पदमार्गको विकास विस्तारमा जोड दिएको छ । किराँत समुदायको ऐतिहासिक बसोवास रहेको भोजपुर र संखुवासभा क्षेत्रमा मुन्धुम पदमार्ग विस्तार गर्ने धरान–भेडेटार–नाम्जे चौरीखर्क केवलकार निमार्ण गरिने भएको छ । मधुमल्ला मिक्लाजुङ केवलकार निमार्णमा लाई अघि बढाइएको छ । प्रदेश नं. १ को कुनै १ जिल्लामा जडीबुटी उद्योग स्थापना गर्ने, सगरमाथा फास्ट ट्रयाक निमार्ण गर्ने लगायतका आयोजनाहरु समावेश गरिएको छ ।
परियोजना कार्यान्वायनका लागि प्रधिकरण गठन भइसकेको छ । प्रधिकरण गठन भएसँगै कार्यकारी निर्देशक समेत चयन गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत रहने व्यवस्था गरिएको छ । । मन्त्रालय अन्तर्गत रहेको यो परियोजना बैंक निर्माणका लागि विभिन्न सरोकारवालासँगको परामर्शबाट तयार पारिएको मन्त्रालयले दावी गरेको छ । बिशेष परियोजना बैंक कार्यान्वायनका लागि सहकारी, निजी र विदेशी लगानीबाट बढी अपेक्षा गरिएको छ ।
यता बैंक स्थापनाको बिषयमा उद्योग वाणिज्य महासघं प्रदेश नं १ का अध्यक्ष नरेन्द्र खड्का भने ‘परियोना बैंक बनाउने काम राम्रो भएको बताउनुभयो । यसलाई राजनीतिक भर्ती केन्द्रमात्र बनाउनुभएन कार्यान्वयनमा सहज भयो भने यो राम्रो काम भएको उहाँको भनाइछ । यसमा निजी क्षेत्रलाई परियोजना बैंक बनाउनु पूर्व कुनै सल्लाह, सुझाव वा अन्तकृया लिने काम नभएको गुनासो गर्नुभयो ।
यसका लागि आवश्यक पर्ने नियममावली र कार्यविधि नहुँदा कार्यान्वायनमा चुनौति रहेको एक नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की बताउनुहुन्छ । परियोजना बैंक बनाउनु पूर्व नीति तथा कार्यक्रममा समावेश गरेका कति काम भए, किन पर्याप्त हुन सकेनन् भन्ने मुल्याङ्कन गर्न सुझाव दिनुहुन्छ ।