बेलिना थापा
लमजुङ, माघ २० गते । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको विद्यालय खुलेको छ । तल्लो मनाङको नासों गाउँपालिका, माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने खुलेका छैनन् । विद्यालय वरपर र बाटोमा जमेको हिउँ नपग्लिदै चामे गाउँपालिकाभित्रका विद्यालयमा पठनपाठन सुरु भएको छ । चामे गाउँपालिका १ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले हिउँ नपग्लिँदै पठनपाठन सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार आइतबारबाट विद्यालय खुलेको छ । कक्षा कोठा नजिकै, भवनको जस्ता र विद्यालयको मैदानमा हिउँ छ । ‘निरन्तर हिउँ पर्दा ३÷४ फीट हिउँ थियो । अहिले एक फीट हिउँ छ । हिउँमा टेक्दै विद्यार्थी आएका छन्’ उहाँले भन्नुभयो, ‘कक्षाकोठा चिसो छ । बाहिर हिउँ माथि बेन्च राखेर पढाउने गरेका छौं । घाम लागेको बेला तातो नै हुन्छ ।’
विद्यालयको प्रांगणमा जमेको हिउँ फाल्न अभिभावक बोलाइएको उहाँले बताउनुभयो । विद्यालयमा ५१ जना विद्यार्थी छन् । चिसोको समयमा बालबालिकालाई अध्ययनमा सहज बनाउन चामे गाउँपालिकाले २ वटा हिटर उपलब्ध गराएको छ । चैतबाट शैक्षिक सत्र सुरु हुने भएपनि साँढे एक महिना विद्यालय बन्द रहेको र विद्यार्थीको पठनपाठनमा सहज बनाउन विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गुरुङले बताउनुभयो ।
चामेस्थित लोकप्रिय आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश थापाका अनुसार आइतबारबाट विद्यालय खुलेको छ । चिसोको समयमा विद्यार्थी न्यानो कपडा र गमबुट लगाएर आउने गरेका छन् । उहाँका अनुासर विद्यालयमा २ सय ९२ जना विद्यार्थी छन् । विद्यालयमा पहिलो र दोस्रो दिन २ सय ५० जना आएका थिए । हिउँ नपग्लिएकाले पठनपाठनमा गाह्रो भएको उहाँले बताउनुभयो । ‘विद्यालय खुलेको छ । विद्यार्थी पनि आउन थालेका छन्’ उहाँले भन्नुभयो, ‘विद्यालयभरी हिउँ छ । घाम लाग्दा पठनपाठनमा केही सहज हुन्छ । घाम लागेन भने काँपेर पढ्नुपर्ने हुन्छ ।’ विद्यालयमा चैत ६ गतेबाट बार्षिक परीक्षा सञ्चालन हुने छ । शैक्षिक सत्र बैशाखबाट सुरु हुने उहाँले बताउनुभयो ।
चामे गाउँपालिकाका शिक्षा शाखा संयोजक इन्द्रजङ गुरुङका अनुसार गाउँपालिकामा एउटा मावि र ३ वटा आधारभूत विद्यालय छ । यसअघि सञ्चालन हुँदै आएको चामेको बाल मन्दिर प्रावि भने लोकप्रिय आवासीय माविमा गाभिएको छ । चामे गाउँपालिकाका विद्यालय पुष १ गतेबाट माघ १५ गतेसम्म चिसोका कारण विदा गरिएको थियो । माघ १६ गतेबाट विद्यालय सञ्चालन गरिने भनिएपनि चिसोले आइतबारबाट मात्र विद्यालय सञ्चालन गएिको उहाँले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख नारायण रेग्मीका अनुसार चामे गाउँपालिकाका विद्यालय खुलेका छन् । नासोंमा फागुन १ गतेबाट सञ्चालन हुने छ । माथिल्लो क्षेत्रमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने केही समय लाग्ने उहाँले बताउनुभयो ।
मनाङमा ११ र १२ कक्ष संचालन हुने २ सहित ४ मावि, १० आधारभूत र १२ प्रावि गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् ।