logo
२०८१ मंसिर १० सोमवार



किमाथाङ्का सिमामा रोकिएका नेपाली १६ दिनपछि फिर्ता

पढ्नै पर्ने |


किमाथाङ्का सिमामा रोकिएका नेपाली १६ दिनपछि फिर्ता


ध्यान कुलुङ

सङ्खुवासभा, माघ २२ गते । कोरोना भाईरसको त्रासपछि किमाथाङ्का नाका बन्द गरिदा चीनमा थुनिएका नेपालीहरुलाई उद्धार गरिएको छ । रोजगारीको क्रममा चीन पुगेका १४ नेपालीलाई मंगलबार साँझ फिर्ता गरिएको हो ।

चीनमा कोरोना भाईरस फैलिएपछि माघ ५ गते नाका बन्द गरिएको थियो । नाका बन्द गरिदा सङ्खुवासभाका १२ र ताप्लेजुङका २ गरि १४ जना मजदुर चीन शासित क्षेत्र तिब्बतको जाँगा बजारमा थुनिएका थिए । थुनिएकाहरुलाई स्थानीय प्रशासन, सिमा प्रहरी चौकी, सशस्त्र प्रहरी सिमा सुरक्षा पोष्ट र भोटखोला गाउँपालिकाको पहलमा स्वदेश फिर्ता गरिएको हो । थुनिएकाहरुलाई स्वदेश फिर्ता गर्नको लागि करिव एक घण्टा नाका खुल्ला गरिएको थियो ।

स्वदेश फिर्ता गरिएकाहरुलाई भोटखोला गाउँपालिका १ का वडाध्यक्ष तेन्छेवी भोटे, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका नीरिक्षक देवकुमार राई, नेपाल प्रहरी र स्वास्थ्य चौकी किमाथांकाको टोलीले बुझिलिएका थिए । चीनको तिब्बत र किमाथाङ्काको बिचमा रहेको कामु खोलाको गेटसम्म चिनियाँ स्वास्थ्यकर्मीको टोली सहित थुनिएकाहरु आएको र नेपालबाट पनि स्वास्थ्यकर्मी सहितको टोलीले उनीहरुलाई बुझिलिएको वडाअध्यक्ष भोटेले जानकारी दिनुभयो । उनीहरुलाई केही दिन किमाथाङ्कामा नै स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो । हालसम्म उनीहरुमा कुनै स्वास्थ्य समस्या नदेखिएको किमाथाङ्का स्वास्थ्य चौकी प्रमुख फुटिक भोटियाले जानकारी दिनुभयो ।

बिहान रोजगारीमा गएका मजदुरहरु साँझ फर्किन लाग्दा नाका बन्द भएपछि उतै थुनिएका थिए । नेपालीहरु किमाथाङ्का नाका हुँदै चिन प्रवेश गर्नको लागि सिमा पास कार्ड उपलब्ध गराउदै आएका छन् । पास लिएर सामान खरिद र रोजगारीको लागि चीन भित्रिएपछि सोही दिन फर्कनु पर्ने ब्यवस्था गरिएको छ । यही प्रक्रियबाट चीनको तिब्बत छिरेका नेपाली नागरिकहरु थुनिएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?