केशवराज पौडेल
काठमाडौं,माघ २३ गते । नेपालकै पहिलो अत्याधुनिक अण्डरपास बनेपनि सो अनुरुप ट्राफिक संकेत तथा प्रविधिको प्रयोग नहुँदा कंलकी अण्डरपास दुर्घटनाको कारक बन्न थालेको छ ।
केही समय अण्डरपासले ट्राफिक व्यवस्थापनलाई सहज बनाए पनि स्वयम् ट्राफिक प्रहरी अण्डरपासलाई एम्बुस बन्न थालेकोमा चिन्ता व्यक्त गर्छन् । तर सडक व्यवस्थापनको जिम्मेवार निकाय सडक विभाग भने सडकमा आवश्यक ट्राफिक संकेत तथा प्रविधिको विस्तारमा खासै चासो दिएको देखिदैन ।
चक्रपथले काठमाडौं उपत्यका निक्कै सुन्दर देखिएको छ भने नेपालकै पहिलो अण्डरपास कंलकीमा बनेसँगै त्यसले कंलकीमा भइहेको सवारी जामलाई कम गराएको छ ।
चीन सरकारको सहयोगमा अण्डरपास बनेसँगै ट्राफिक व्यवस्थापनमा निक्कै सहज बनेकोमात्रै छैन चक्रपथमा हुने अनावश्यक सवारी जाम समेत हटेको छ । अण्डरपासबाट सवारी साधन गुड्न थालेको एक बर्षमा ट्राफिक व्यवस्थापनमा निक्कै चुस्त बनेसँगै ट्राफिक प्रहरीमा खुसी थपिए पनि केही समयदेखि निरन्तर दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरी निक्कै सचेत देखिएको छ ।
साउनयता मात्रै अण्डरपासमा १० ओटा गम्भिर प्रकृतिका सवारी दु्र्घटनाका भएका छन् । १० वटा दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका सात जना दैनिक जीवनयापन समेत गर्न नसक्ने गरि दीर्घकालीन अंपाङ्ग बन्न पुगेका छन् ।
महानगरीय ट्राफिक प्रहरी कंलकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्की अण्डरपासमा हुने दुर्घटनाले ज्यान गुमाउनेको संख्यासँगै गम्भिर घाइते हुनेहरुको संख्यामा बृद्धि भएको बताउनुहुन्छ । ‘अण्डरपामा हुने दुर्घटनाको संख्यामा बृद्धि भएको छ ’ निरीक्षक कार्कीले बताउनुभयो । एक सय मिटरमा भएको दुर्घटनामा तीन जनाको ज्यान जानु् निक्कै चुनौतीपूर्ण भएको छ ।
अण्डरपासमा सवारी साधन हुक्याउने मात्रै हैन पैदलयात्रु् समेत अटेर गरेर हिड्ने गरेको कारण अण्डरपासमा दुर्घटनाको जोखिम निक्कै बढेको प्रहरीको अनुभव छ । अण्डरपासमा -याडर गनको प्रयोगले स्पिड चेक गर्दा एकसय किलोमिटरको गतिमा सवारी साधन दौडने गरेपछि ट्राफिकले १५ सय रुपियाँसम्म जरिवाना तिराउँदा समेत सवारी साधनहरु सुध्रन तयार देखिएका छैनन् ।
रातको समयमा अण्डरपासमा लेन नदेखिएकै कारण बुधबारको दुर्घटना भएको प्रहरीको अनुमान छ । ‘सुरुमा मोटरसाइकलले लेन मिचेर आएको देखिन्छ टिपरले पनि मोटरसाइकल जोगाउन लेन मिचेको देखिएको छ,कम्तिमा टल्कने डिजिटल लेन भैदिएको भए दुर्घटना नहुने देखिन्छ’कार्कीले भन्नुभयो ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले छोटो दुरीमा लेन र सडक बत्तीकै कारण दुर्घटना नहुने बताउनुभयो । ‘सडककै कारणले भन्दा पनि यात्रु र सवारी साधनको असावधानीले यस्ता दुर्घटना भएका हुन सक्छन्’ महानिर्देशक शर्माले गोरखापत्र अनलाइनलाई भन्नुभयो । उहाँले त्यस क्षेत्रमा सडककै कारण दुर्घटना बढेको भन्ने जानकारी सम्बन्धित निकायले आफूलाई नगरेको बताउनुभयो ।