गोकर्ण दयाल
बैतडी, माघ २६ गते । भारतद्वारा अतिक्रमित भूमि कालापानी जोगाउन २०३० सालमा खल्तीबाट रकम खर्च गरेर तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गर्नेे नेपाल प्रहरीका एक जना प्रहरीका असई भेटिनुभएको छ । उहाँले कालापानी नेपालकै भएको बताउनुभएको छ ।
तिङ्करमा प्रहरी चेक पोष्ट बनाएको रकम नपाएको पछुतो भन्दा उहाँलाई त्यतिबेलै नेपालको नक्सा बनाएर सीमानाकामा राख्न नपाएकोमा बरु पछुतो लागेको छ । देशको सीमा रक्षाका लागि तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गरेर तीन वर्ष सीमा रक्षामा खटिनु भएका बैतडीका वीरबहादु चन्दले भारतले हालै सार्वजनिक गरेको नक्सा देखेर आफूलाई अचम्म लागेको बताउनुभएको छ ।
२०२९ सालदेखि २०३१ सालसम्म दार्चुलाको तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गरेर सीमा रक्षाका लागि उभिनु भएका बैतडीको दशरथ चन्द नगरपालिका–४, का वीरबहादुर चन्द अहिले उमेरले ८१ वर्षको हुनुहुन्छ तर, फूर्ति भने पत्याई नसस्क्ने गरि उस्तै छ ।
शारीरिक रुपमा निकै तन्दुरुस्त देखिनुहुने चन्द भारतले सार्वजनिक गरेको नक्साले चित्त दुःखेको बताउनुहुन्छ । उहाँले सीमा रक्षाका लागि कालापानी जान दार्चुलाबाट भारतको धार्चुला भएर हिँड्न सजिलो पर्ने भएकोले भारतको बाटो जान खोज्दा त्यो बेला भारतीय सुरक्षाकर्मीले वीरबहादुर चन्दले दिएको निवेदनमा “नो अलाव वीरबहादुर चन्द” भनेर निवेदनमै लेखेर जान नदिएको बताउनुहुन्छ ।
भारतको बाटो भएर कालापानी जान त्यो बेला निवेदन दिएर परिचय पत्र बनाउनु पर्ने प्रक्रियाको बारेमा बताउँदै चन्द भन्नुहुन्छ –“पहिलो पटक त हामी दार्चुलाबाट नेपालकै भूमि भएर चार दिन हिँडेर छाङरु पुग्यौं । त्यहाँबाट हिँडेर तिङ्कर पुगेर छ महिना लगाएर प्रहरी चेक पोष्ट बनायौं । त्यो बेला चौकी बनाउन दुई हजार पाँचसय रुपियाँ बजेट आएको थियो । त्यसले पुगेन । अनि मैले खल्तीबाटै खर्च गरेर भवन बनाउँदा चारहजार आठसय ४८ रुपियाँ लाग्यो । त्यहाँ प्रहरी चेकपोष्ट बनाएपछि भारतले आफूलाई निगरानीमा राखेको रहेछ भन्ने कुरा दोश्रो पटक भारतको बाटो भएर नेपाल आउँन खोज्दा भारतले प्रवेश गर्न नदिएपछि थहाँ पाएँ ।”
तत्कालीन प्रधानमन्त्री किर्तिनिधि बिष्टका पालामा नेपाली सीमा मिचेर भारत र चिनले बनाएका सुरक्षा पोष्ट हटाएर ती ठाउँमा नेपाली सुरक्षा चौकी राखिएको चन्द बताउनुहुन्छ ।
तिङ्करमा प्रहरी चेक पोष्ट बनाउन हिँडेर दार्चुला हुँदै तिङ्कर पुगेको कुरा चन्द यसरी सम्झिनुहुन्छ–“ २०२९ सालमा हामी दार्चुला सदरमुकामबाट हिँडेर हुती पुग्यौं । हुतीबाट दोश्रो दिन राप्ला पुग्यौं । त्यहाँ ससाना वस्ती थिए । राप्लाबाट तेश्रो दिन हिँडेरै बुदी पुग्यौं । त्यहाँ कुनै मावन वस्ती थिएन । राति बुदीको ओडारमा बस्यौं । त्यहाँबाट हिँडेर चौथो दिन छाङरु पुग्यौं । र, लगातार त्यहीँ बसेर छाङरुमाथि तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गर्यौं ।”
२०१४ सालमा प्रहरी जवान पदबाट नेपाल प्रहरीमा सेवा सुरु गर्नु भएका वीरबहादुर चन्द त्यति बेला प्रहरी जवानको तलब ३१ रुपियाँ रहेको बताउनुहुन्छ । प्रहरी सहायक कमाण्डर भएर दार्चुलाको तिङ्कर प्रहरी चेक पोष्ट निर्माण गर्दा आफ्नो तलब तीन सय रुपियाँ रहेको चन्दले बताउनुभयो ।
सीमा रक्षाका लागि तिङ्कर बसुन्जेल अरुले भारतीय बाटो प्रयोग गरे पनि आफूलाई भारतले पारि जाने अनुमति नदिएकोले प्रहरी चौकी निर्माण गर्दा तलब बुझेर भवन बनाएको बताउनुभयो । प्रहरी चौकीको भवन बनाउन तत्कालीन सरकारले दुईहजार पाँचसय रुपियाँ पठाए पनि त्यो रकमले नपुगेपछि आफ्नो कमाण्डरको राय सल्लाहमा आफुले करिब आठ महिनाको तलब बराबरको दुई हजार तीनसय ४८ रुपियाँ खल्तीबाट खर्च गरेको चन्दले बताउनुभयो ।
तिङ्कर प्रहरी चौकीबाट कैलालीको धनगढी सरुवा भएर आउँदा रकम पाउने गरि सबै बिल भौचर र चौकीले पत्र समेत बनाईदिए पनि सो रकम नमिलेको चन्दले बताउनुभयो ।
२०४१ साल पुसमा पाँचथर जिल्लाबाट सेवा निवृत्त हुँदा एकहजार रुपियाँ तलब रहेको बताउँदै चन्द भन्नुहुन्छ –“ २०७६ सालमा आईपुग्दा अहिले म २० हजार मासिक पेन्ससन पाउँछु । मेरो पैंसा देशको रक्षाका लागि चेक पोष्ट बनाउँदा खर्च भएकोमा अहिले गर्व पनि लाग्ने गरेको छ ।”
भारतले महाकाली नदीको मुहान समेत भारतमा पर्छ भनेर नक्कली मुहान खडा गरेको बताउँदै भन्दले भन्नुभयो, “नेपाल–भारत सीमाको कालापानीमा एटा काली मन्दिर छ । त्यो मन्दिर छेउमा पानीको मुहान छ । त्यसैलाई भारतले महाकालीको मुहान हो भनेको छ तर, त्यो महाकालीको मुहान होईन । महाकालीको मुहान त लिम्पीया धुरा, यारखा र पङ्खा खोला हुन् जो, नेपालमा पर्दछन् । महाकालीको मुख्य मुहान कुटीमा छ । त्यही कुटीलाई भारतले नक्सामा भारततिर देखाएको छ । कालापानी नेपालकै हो, नक्सा बनाउँदैमा नेपाली भूमी भारतको कसरी हुन सक्छ ?”