डिलबहादुर सिंह
डोटी माघ २६ गते । डोटीको आदर्श गाउँपालिकाको बाझककानी गाउँकी नन्दा खड्का माईत जादै गरेको अवस्थामा सायल गाउँपालिकाको मेल्लेगमा भेटिनुभयो । डोको माथि सानो छोरा बाकेर हिड्दै गरेको अवस्थामा भेटिनु भएकी नन्दा यस क्षेत्रमा माघ महिनामा (माघि त्यार) मानिने ‘माघि तिहार’ अर्थात् ‘चेली तिहार’को लागि माईत जान लाग्नु भएकी हो । माघ महिनामा यस क्षेत्रमा छोरी चेलीलाई मिठा खानेकुराहरु दिएर माघि त्यार मान्ने चलन रहेको छ ।
जिल्लाका ग्रामीण सडकमा हिजोआज विभिन्न परिकार डोकोभरी बोकेर हिँड्दै गरेका महिलाहरू भेटिन्छन् । यसरी भेटिने महिलाहरु कति माईत जाने हुन्छन भने धेरै जसो छोरी चेलीलाई मिठा परिकार पु-याउन जाने हुन्छन् । माघ महिनालाई सुदूर पहाडमा छोरीबेटीको तिहारका रुपमा मनाइन्छ । डोटीमा माघ महिनामा मनाईने पर्वलाई चेली त्यार (छोरी तिहार) माघि त्यार पनि भनिन्छ । महिनाभरी चेलीबेटी (छोरी, नन्द, भान्जी) लाई विभिन्न परिकार तयार गरी कोसेली दिने गरिन्छ । डोटीको पुर्वीचौकीमा घर भएकी छोरीलाई कोसेली पुर्यान जाने क्रममा भेटिनु भएकी डोटी, दिपायलकी मन्सरा साउदले भन्नुभयो –‘यो बर्ष छोरीलाई त्यार दिन अलि ढिला भईसक्यो, छोरीचेलीलाई माईतवाट कोसेली नगए रिसाउछन् ।’
छोरीलाई तरुल, तिलको लड्डु, चाकु तथा सीदा दान गर्नाले पूण्य पाइने धार्मिक मान्यता रहेको बताईन्छ । डोटीको सायल गाउँपालिकाका मुक्तिनाथ जोशीले भन्नुभयो, –‘यो परम्परादेखि चल्दै आएको चलन हो । छोरीचेली खुशी भए पूण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता पनि छ, घरमा आएकी छोरीलाई मासको फाणो भात, डुब्का, बटुक, तरुल, तिलको लड्डु, माडा परिकार खुवाइने चलन छ ।’
माइती नभएका छोरीबेटी भने माघ महिनामा न्यास्रो महसुस गर्ने गर्दछन् । ‘माइती हुँदाहुँदै कोसेली नपाउने छोरीबेटी झन् बढी दुःख मान्छन । दिपायल सिलगढी नगरपालिका –८ की मनसरा कडायतले भन्नुभयो,– ‘माघमा प्रत्येक महिलाले कोसेली पाउदा माइतीको सहारा पाएको महसुस गर्छन । बर्षभरी टाढा रहेका माईती कोसेली सहित घर आउदा आफन्त भएको महसुस हुन्छ ।’