इश्वरचन्द्र झा
काठमाडौं, फागुन ४ गते । थाइल्याण्डमा हुने एसीसी टी ट्वान्टी इस्टर्न रिजन प्रतियोगितामा चीन, म्यानमार र भुटान सहभागी नहुने सम्भावना बढेको छ । यद्दपी एशियाली क्रिकेट काउन्सिलले तीनै राष्ट्रको सहभागिता सम्बन्धमा औपचारिक जानकारी खुलाइसकेको छैन् ।
एशियाली क्रिकेट काउन्सिलले वेस्टर्न रिजन प्रतियोगिताको सहभागी राष्ट्र सम्मिलित खेल तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । इस्टर्न रिजनको तालिका सार्वजनिक गरिएपनि एसीसीले उक्त तालिका आफ्नो वेभसाइटबाट भने हटाएको छ । प्रतियोगितामा भुटान, चीन, हङकङ, मलेसिया, म्यानमार, नेपाल, सिंगापुर र थाइल्याण्ड सहभागी हुने तय गरिएको थियो । जस बमोजिम तालिका समेत सार्वजनिक गरिएको थियो । तर चीन, भुटान र म्यानमार सहभागी नहुने सम्भावना बढेपछि खेल तालिका प्रभावित हुने भएको छ । कोरोना भाइरसको संक्रमणले चीनले एकपछि अर्को प्रतियोगिताको आयोजना गर्न हात झिक्दा इस्टर्न रिजन कपमा समेत सहभागी नहुने सम्भावना बढेको छ ।
थाइल्याण्ड क्रिकेट संघले सार्वजनिक गरेको तालिका बमोजिम नेपालले आफ्नो पहिलो खेलमा चीनसँग स्पर्धा गर्ने निर्धारण गरिएको थियो । उक्त खेल फागुन १७ गतेको लागि निर्धारण गरिएको थियो ।
दोस्रो खेलमा नेपालले एकदिन पछि आयोजक थाइल्याण्डको सामना गर्ने तय गरिएको छ । त्यसैगरी तेस्रो खेलमा मलेसियासँग स्पर्धा गर्नेछन् । एशियाली क्रिकेट काउन्सिलले तीनै राष्ट्र सहभागी नहुने निश्चित भएपछि पुर्नतालिका गर्नेछ ।
नेपाल क्रिकेट संघका अनुसार नेपाली टोली फागुन १५ गते थाइल्याण्डका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जसका लागि नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्लको नेतृत्वमा टोलीको घोषणा समेत गरिसकेको छ । संघका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताको तयारीका लागि शनिबारदेखि बन्द शिविर सुरु भएको जानकारी दिनुभयो ।
वेस्टर्न रिजन कप भने यसै साता ओमानमा सुरु हुँदैछ । उक्त प्रतियोगितामा बहराइन, इरान, कुवेत र माल्दिभ्स एउटा समूहमा विभाजन गरिएको छ । ओमान, कतार, सऊदी अरब र यूएई भने दोस्रो समूहमा रहेको छ ।
इस्टर्न र वेस्टर्न रिजन कपमा उत्कृष्ट हुने दुई दुई गरी चार टोलीबीच एशिया कप छनोट खेल हुनेछ । उक्त प्रतियोगिता आगामी अगष्ट महिनामा मलेसियामा हुने निर्धारण गरिएको छ । चार टोलीबीचको छनोट प्रतियोगिताको विजेता राष्ट्र सेप्टेम्बर महिनामा हुने एशिया कपका लागि योग्य हुनेछन् ।
एशिया कप टी ट्वान्टी प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने निर्धारण गरिएको छ । जसमा टेष्ट मान्यता प्राप्त एशियाका भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र छनोट खेलेर आएका थप एक राष्ट्र गरी छ राष्ट्र सहभागी हुनेछन् ।
इस्टर्न रिजन प्रतियोगितामा उत्कृष्ट हुने दुई टोली भने १९ वर्ष मुनिको एशिया कपको लागि समेत अवसर पाउनेछन् । पचास ओभरको उक्त प्रतियोगिता नोभेम्बर महिनामा यूएईमा हुने निर्धारण गरिएको छ । जसमा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँग दुई इस्टर्न रिजनका र एक वेष्टर्न रिजनका विजेता राष्ट्र गरी कुल आठ टोली सहभागी हुनेछन् ।
उक्त प्रतियोगिता लगत्तै इमर्जिङ् टिम्स एशिया कप प्रतियोगिता हुनेछ । डिसेम्बरमा हुने इमर्जिङ् टिम्स एशिया कपमा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै आईसीसी वरियतामा उत्कृष्ट रहने तीन असोशिएट राष्ट्र सहभागी हुनेछन् । इमर्जिङ टिम्स एशिया कप डिसेम्बर महिनामा बङ्गलादेशमा हुनेछ ।