मुकुन्द गैरे
काठमाडौं, फागुन ६ गते । अहिलेसम्म कामका लागि विदेश जाने महिलामध्ये राजधानी काठमाडौं र यसको वरिपरिका जिल्लाका धेरै रहेको तथ्याङ्क छ । बागमती प्रदेशको काठमाडौं र वरिपरिका ६ जिल्लाबाट मात्रै ५१ प्रतिशत महिला वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेसम्म संस्थागत रुपमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने एक लाख ३२ हजार ९९५ जना महिलामध्ये काठमाडौं, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, नुवाकोट र चितवनबाट ६७ हजार ९६८ जना रहेका छन् । यी जिल्लाहरुमध्ये सिन्धुपाल्चोकका सबैभन्दा धेरै १८ हजार पाँच सय जना छन् ।
त्यस्तै काठमाडौंका १२ हजार ४१९, मकवानपुरका ११ हजार ३७४, काभ्रेपलाञ्चोकका नौ हजार ६३०, नुवाकोटका आठ हजार ३०१ र चितवनका सात हजार ७४४ जना छन् । बागमती प्रदेश पछि दोश्रोमा प्रदेश–१ बाट विदेश जाने महिला धेरै छन् । तथ्यांक अनुसार प्रदेश–१ को झापा र ईलामबाट मात्रै २२ दशमलव ७९ प्रतिशत महिला रोजगारीका लागि विदेश गएका छन् ।
महिला रोजगारीका लागि विदेश जाने प्रदेश मध्ये तेश्रोमा प्रदेश–२ छ ।
जहाँको मोरङ्ग र सुनसरीबाट मात्रै १८ दशमलव ३७ प्रतिशत महिला कामका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभाग कार्यालयका काठमाडौँका पूर्व प्रमुख मधुविलास पण्डित काठमाडौं वरिपरिका जिल्लाबाट महिला विदेश जान खोज्नुमा प्रमुख कारणमा राजधानी नजिक हुन पनि एक भएको बताउनु हुन्छ ।
काठमाडौं नजिकको जिल्लामा दलालको विगविगी भएको बताउँदै परिवार र जाने महिलालाई राम्रो कमाई हुने आश्वासन दिएर प्रभाव पार्ने गरेको उहाँको भनाइ छ । सरकारले महिला कामदार विदेश जान कडाई गरे सँगै अवैधानिक रुपमा दलालले भारत, श्रीलङकाको बाटो हुँदै तेश्रो मुलुक लैजाने गरेको पण्डित बताउनुहुन्छ ।
अबैधानिक रुपमा विदेश गएका कामदारको अवस्था डरलाग्दो भएको र कम्पनीको काममा भनेर लैजाने गरे पनि घरेलुकाममा दलालले लगाउने पण्डित बताउनुहुन्छ । सरकारले अवैधानिक रुपमा जाने कामदार रोक्न श्रम सम्झौता गरेर कानुनी रुपमा जाने बाटो बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।
दश जिल्लाका ९२ प्रतिशत महिला
देशका ७७ जिल्लामध्ये १० जिल्लाबाट मात्रै ९२ प्रतिशत महिला रोजगारीका लागि विदेशिएका छन् । अन्य ६७ जिल्लाबाट जम्मा ७.७४ प्रतिशत महिला विदेश गएको विभागको तथ्यांक छ ।
महिला कामका लागि विदेश जानेमध्ये झापा सबैभन्दा अगाडि छ । झापाबाट २३ हजार ५६ जना महिला अहिलेसम्म विदेशीएका छन् । जुन कूल विदेशीने महिलाको १७ दशमलव ३४ प्रतिशत हो ।
त्यस्तै दोश्रोमा सिन्धुपाल्चोकबाट १३.९१ प्रतिशत, तेश्रोमा मोरङ्गबाट ११.३७ प्रतिशत र चौथोमा देशको संघीय राजधानी काठमाडौंबाट ९.३४ प्रतिशत महिला रोजगारीका लागि विदेशिएका छन् ।
त्यसबाहेक मकवानपुरबाट ८.५५, काभ्रेपलाञ्चोकबाट ७.१४, सुनसरीबाट ७, नुवाकोटबाट ६.२४, चितवनबाट ५.८२ र इलामबाट ५.४२ प्रतिशत महिला रोजगारीको लागि विदेशीएका छन् ।
दुई जिल्लाकै एक तिहाई
कामको लागि विदेश जाने महिलामध्ये झण्डै एकतिहाई हिस्सा झापा र सिन्धुपाल्चोक दुई जिल्लाले ओगटेका छन् । झापा र सिन्धुपाल्चोकबाट मात्र ३१.२५ प्रतिशत अर्थात ४१ हजार ५ सय ५६ जना महिला विदेश गएका छन् ।
सीप भएका नगन्य, धेरै अदक्ष
सरकारले संस्थागत रुपमा ११० देशमा काम गर्न संस्थागत रुपमा श्रम स्वीकृति दिएर पठाउँछ । व्यक्तिगत श्रम स्वीकृति लिएर त १७२ देशमा नेपालीहरु रोजगारीका लागि पुगेका छन् ।
तर काम गर्न विदेश जानेहरूलाई शीप नसिकाउँदा आधा भन्दा धेरै महिला कुनै शीपविना विदेश जाने गरेका छन् ।
अहिलेसम्म विदेश गएका महिलामध्ये ५७ हजार २५७ जना महिला कुनै शीपविना नै कामगर्न भन्दै विदेश गएका छन् । रोजगारीका लागि विदेश जानेमध्ये अदक्ष महिलाको प्रतिशत ५८.८४ प्रतिशत हो ।
यस्तै दक्ष २५.८१, अर्धदक्ष १४.९८ प्रतिशत महिला विदेश गएका छन् । कुनै पेशा गरिरहेका पेशाविद् जम्मा ०.३० प्रतिशत महिला विदेश गएका छन् भने कुनै शीपले दक्ष भएका उच्च दक्षतायुक्त महिला जम्मा ०.०६ प्रतिशत मात्रै छन् ।
व्यक्तिगत श्रम स्वीकृतिमा धेरै कुवेत
व्यक्तिगत प्रयासमा श्रम स्वीकृति लिएर जाने महिलामध्ये सबैभन्दा धेरै कुवेत जाने गरेका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा विदेश गएका २४ हजार ७९७ मध्ये कुवेतमा २० हजार २७८ जना कुनै म्यानपावरको बिना आफैं विदेश गएका विभागले जनाएको छ ।
दोश्रोमा जर्मनीमा एक हजार ८६०, तेश्रोमा माल्दिभ्स एक हजार ५९०, चौँथोमा माल्टा ६०१ र पाँचौमा डेनमार्क १३१ जना महिला व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिएका छन् ।
त्यसबाहेक टर्की, ईजरायल, इजिप्ट, लेवनान र स्वीडेनमा पनि व्यक्तिगत श्रम स्वीकृतिमा महिलाहरु जाने गएका छन् ।
तथ्यांक अनुसार तीन देश कुवेत, जर्मनी र माल्दिभ्समा मात्रै ९५.६९ प्रतिशत महिला व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीका लागि विदेशीएका छन् ।