सन्तोष सुवेदी
सिरहा, फागुन ७ गते । लहानबाट गत मंसिर २ गते राति १२ः०० बजे लुटिएको डिजेलसहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको थियो । ना ४ ख ४१६३ नम्बरको उक्त ट्याङ्कर भेटिए पनि त्यसमा रहेको करिब २० हजार लिटर डिजेल भने गायब भएपछि प्रहरीले गिरोहनै संम्लग्न रहेको आशंका गरेको थियो ।
सिरहा प्रहरीको अनुरोधमा सप्तरी, धनुषा र प्रदेश प्रहरीले समेत ट्याङ्कर खोजीमा तीब्रता देखाएपछि ट्याङ्कर रमदैया भवारीमा रोकिरहेको अवस्थामा मंसिर ४ गते बिहान ८ः४५ बजेतिर फेला परेको थियो । उक्त ट्याङ्कर इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको थियो । डिजेल बाहेकको रित्तो ट्याङ्की फेला परेपछि नेपाल आयल निगम विराटनगर डिपो र जिल्ला प्रहरी कार्यालय सिरहाले संयुक्त रुपमा डिजेलको खोजबिन गरेको थियो । अनुसन्धानकै लागि प्रहरीको अनुरोधमा नेपाल आयल निगमले एक दिन दुईवटा जिल्लाको पेट्रोलियम पदार्थ बिक्रि वितरणमा रोक समेत लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले ट्याङ्कर लुटिएको घटना केही व्यक्तिहरुमा मात्र सीमित नरही यसमा एउटा -याकेट नै क्रियाशील रहेको हुन सक्ने भएकाले प्रहरीले खोजीमा उच्च सर्तकता अपनाएको थियो । अनुसन्धानको लागि सिरहा प्रहरीले नेपाल पेट्रोलियम व्यवसायी महासङ्घको समेत सहयोग लिएको छ ।
अमलेखगन्ज डिपोबाट ल्याइरहेको डिजेल सहितको ट्याङ्कर लहानस्थित हुलाक कार्यालयअगाडि रोकिरहेको अवस्थामा टाटा सुमोमा आएका अपरिचित व्यक्तिहरुको समूहले चालक रामदेव यादव र सहचालक उमेश यादवलाई आइतबार राति १२ः०० बजे नियन्त्रणमा लिई ट्याङ्करसहित लुटेर लगेको बताएका थिए । तर प्रहरीले अनुसन्धान तिनै चालक तथा सहचाकललाई अनुसन्धानको घेरामा राखेको थियो ।
प्रहरीले पेश गरेको प्रमाणको आधारमा लहानबाट गत मङ्सिर २ गते डिजेल ट्याङ्कर गायब गरेको आरोपमा सिरहा जिल्ला अदालतले चार जनालाई पुर्पुक्षका लागि कारागार चलान गरेको छ । सिरहा जिल्ला अदालतका जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले पछि प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने गरी हाललाई उक्त घटनाका आरोपित ट्याङ्कर चालक रामदेव यादव, सह–चालक उमेश यादव, मुन्सी दीपनारायण साह र ट्याङ्कर धनी राजेश गुप्ता भनिने राजकुमार गुप्तालाई पुर्पुक्षका लागि सिरहा कारागारमा थुनामा राख्न आदेश दिएको हो ।
सिरहाको धनगढीस्थित उग्रचण्डी पेट्रोल पम्पका सञ्चालक समेत रहेका ट्याङ्कर धनी गुप्ता र सोही पम्पका मुन्सी दीपनारायण साहको मिलोमतोमा ट्याङ्कर चालक रामदेव यादव र सह चालक उमेश यादवले ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर गायब गरी त्यसमा रहेको २० हजार लिटर डिजेल गायब गरेको सिरहा जिल्ला अदालतमा दायर गरिएको अभियोजनपत्रमा उल्लेख छ ।
जिल्ला सरकारी वकिलको कार्यालय सिरहाका सहायक जिल्ला न्यायाधिवक्ता देवराज कोइरालाले चारै जनालाई प्रतिवादी ठह-याई डाँका र सङ्गठीत अपराध अन्तर्गत मुद्दा अभियोजन गर्नुभएको थियो । अभियोजनपत्रमा चारै जनाको मिलोमतोमा अपहरणको नाटक रचेर १९ लाख रुपियाँको डिजेल चोरी गरिएको उल्लेख छ ।
गत मंसिर २ गते नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्वरको ट्याङ्कर लहानबाट गायब भएको थियो । ट्याङ्कर चालक यादव र सह चालक यादवले आफूलाई अज्ञात समूहले कब्जामा लिएर अपहरण गरी ट्याङ्कर लगेको बताएका थिए । चालकले आफू अपहरणमा परेको दावी गरे पनि उनीहरूकै मिलेमतोमा डिजेल चोरी भएको अनुसन्धानमा देखिएपछि मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
‘चालकले आफू अपहरणमा परेको बताए पनि पेट्रोल पम्पका सञ्चालक गुप्ता, मुन्सी साह र सह चालकै मिलेमतोमा ट्याङ्कर गायब गरेर तेल चोरी गरेको हो,’ प्रमुख प्रहरी उपरिक्षक चतुर्वेदीले भन्नुभयो - चालक यादवको विगत पनि राम्रो नदेखिएको पाइएपछि हाम्रो अनुसन्धान चालकप्रति केन्द्रीत भएको थियो, अनुसन्धानकै क्रममा चालक रामदेवका भाइ विजय यादव यसअघि पनि डिजेल चोरीमा संलग्न रहेको अनुसन्धानमा देखिएको छ ।