गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ७ गते । प्रत्येक ५ वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व यो वर्ष फागुन १४ र १५ गते परेको छ ।
फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो पर्व ‘दिपंकर पर्व’ नामले समेत प्रचलित छ । यो पर्वको अघिल्लो दिन (१४ गते बुधवार) साँझ ७ बजे विशाल दिपंकर बुद्ध प्रतिभाहरु पाटन दरवार क्षेत्रमा जम्मा गरिन्छ ।
सोही स्थानबाट बाजागाजासहित नचाइँदै ललितपुर महानगरको नागबहालमा ल्याइने दृष्य निकै मनमोहन हुने गर्दछ । दिपंखा जस्तो दूर्लभ परम्परा समेत आयोजना हुने यही नागबहालमा परम्परा अनुसार निश्चित गरिएको स्थान ग्रहण गराइने कार्यक्रम रहेको जानकारी आयोजित पत्रकार सम्मेलनमा गराएको छ ।
दोश्रो दिन (बिहीबार) मध्यरात पछि पूजा, महाद्विप प्रज्वलन, महायज्ञ, महादान कार्य आरम्भ हुनेछ । महादान कार्य १५ गते साँझ ४ बजेसम्म हुनेछ । नेवार बौद्ध परम्परा अनुसार शाक्य भिक्षु, बज्राचार्य तथा ललितपुरका विभिन्न विहारकासाथै काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारबाट दिपंकर बुद्धहरु, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा आदि देवदेवतालाई पूजा गरी दान प्रदान गरिन्छ । यो वर्ष आयोजना हुने इतिल्हने सम्यक महादान पर्वमा १४९ देवदेवता रहने आयोजकले जनाएको छ ।
यही पर्वको अवसरमा हालसम्म दान दिने रोटी पकाउने तथा बासुकी नागराज र चम्पक नागराजको ज्यूनास पूजा पनि सम्पन्न भएको छ भने बिहीबार (८ गते) यःसिं (लिङ्गो) ठड्याइने कार्यक्रम रहेको छ ।
७ सय वर्षदेखि निरन्तर यो परम्परा वि.सं. १८६१ सम्म प्रत्येक वर्ष आयोजना हुँदै आएको थियो भने त्यसपछि बजेटका कारण प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको छ । यो आयोजना ४७२ औं सम्यक आयोजना हो ।
इतिल्हने सम्यक महादान पर्वसँग जोडिएको पौराणिक कथा
ठकुरी वंशको राजा भाष्करदेवका सन्तति भरिभारो भन्ने व्यक्तिले आफ्नो दरिद्रता लुकाउन ढुकुटीमा गाईको गोवर जम्मा गरी साँचो सँधै आफूसँग राख्ने गरेको कुरा उल्लेख छ । ढुकुटीमा गोबर छ भन्ने थाहा नपाउन् भनेर सँधै साँचो आफूले राख्ने गरेको कारण उसकी पत्नीमा कौतुहलता थियो । एकदिन भरिभारोले बागमती नदीमा स्थान गर्न जाँदा साँचो बिर्सेर गए । साँचो देखेपछि उत्सुक पत्नीले ढुकुटी खोली हेर्दा ढुकुटी सुनले भरिएको फेला पारिन् । यो कुरा उनले पति फर्कनासाथ सुनाइन् । गोबर जम्मा गरेको कसरी सुन भएछ भनेर भरिभारो अचम्ममा परे । ढुकुटीमा हेर्दा साँच्चै सुनको भण्डार देखेपछि भरिभारोले “यो सब त्रिरत्नको आशिषले भएको” आफ्नी पत्नीलाई बताए । यही धनबाट सम्यक महादान पर्व शुरु गरी पर्व निरन्तरताका लागि सम्यक गुथि स्थापना गरी हिरण्यवर्ण महाविहारलाई जिम्मा लगाएको कथन छ ।
यही जनविश्वासकै आधारमा हालसम्म गोल्डेन टेम्पल नामले विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहारको तत्वावधानमा २० जना स्थविर आजुहरुले यो पर्व आयोजना गर्दै आएका छन् ।