शिवराज ढुंगाना
मंगलसेन, फागुन ११ गते । १८ वर्षअघि फागुनमा सदरमुकाम मंगलसेन र साँफेबगर एकै रात तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र आक्रमणमा पर्यो । एकसय भन्दा बढीको ज्यान गयो । सबै सरकारी कार्यालय ध्वस्त भए । ‘पुरानो ध्वस्त नयाँ निर्माण’ को नाराले अछाम सदरमुकाम मंगलसेनलाई छोएको छैन ।
दुई दशक पुग्न लाग्दा समेत ठूलो क्षति व्यहोरेको मंगलसेनमा अझै लडाइँका खाटाहरु बस्न सकेका छैनन् । तत्कालीन अवस्थामा राज्य र विद्रोही पक्षबाट गोली प्रहार भएका बजारका भौतिक संरचनाले त्यही दिनको झल्को दिइरहेको छ । आगजनीबाट भत्किएका सरकारी भवन, गोलीले छेडेका बिजुलीका खम्बाहरुमा भिडन्तका दागहरु अहिलेपनि प्रष्ट देखिन्छन् । शान्ति प्रक्रियासँगै निर्माण थालनी भएका सरकारी भवनले मात्र मंगलसेनलाई सदरमुकामको रुपमा चिनाउन सकेको छैन । प्रशासन कार्यालय, अदालत, मालपोत, नापी, वन लगायतका सरकारी कार्यालयका नयाँ निर्माण भएपनि समग्र सदरमुकाम द्वन्द्वकालीन अवस्था कै झल्को दिइरहेको छ ।
सदरमुकाम र साँफेबगरमा भएको अपूरणीय क्षति हालसम्म पूर्ण हुन नसकेको स्थानीयले बताउने गरेका छन् । सदरमुकाम नै आक्रमणपछि बसाइसराइको तीव्रताले मंगलसेनको विकासमा बाधा भएको विश्लेषण हुन थालेको छ । “सदरमुकाममै ध्वस्त भएपछि जिल्लाले विकासमा ठूलो धक्का खायो ।” मंगलसेनका व्यापारी टोपराज ढुंगानाको भनाइ रहेको छ । सदरमुकामको विकासमा जोड नहुनु, गुणस्तरीय सरकारी भवन अभाव, स्थानीयको जागरुकताको अभाव, लगानी जिल्ला बाहिरिनुले मंगलसेनको विकास पछाडि धकेलिँदै गएको विश्लेषण हुने गरेको छ । “सदरमुकामको विकास गाउँको बजार जस्तै छ ।” व्यापारी ढुंगानाको भनाइ छ । संघीयताले सदरमुकामको विकासमा अझ धक्का लाएको अनुभव स्थानीय व्यापारी सुनाउने गरेका छन् ।
जिल्लामा कमाएर तराइ र शहरमा लगानीले प्राथमिकता पाएपछि सदरमुकामको अनुहार हसिँलो नभएको स्थानीयको भनाइ छ । “सदरमुकाम मंगलसेनको विकासको बाधक त्यही घटनालाई स्थानीय लिने गरेका छन् । जुन दिन घटना भयो, त्यही दिनबाट हाम्रो विकास त गइहाल्यो ।” मंगलसेन नगरपालिकाका–४ का रमेश नेपालीको भनाइ छ । सदरमुकामको सडक, भवन र अन्य विकास पछाडि लत्रिएको मात्र स्थानीयले देख्ने गरेका छन् । समृद्धिको खोजीमा रहेका सदरमुकामवासीको स्थितिमा निराशा आउने मंगलसेन बजारवासी मिनबहादुर बोगटीले बताउनुभयो । पटक पटक राज्यको करोडौ रकम खर्च भएपनि सदरमुकाम बीचमा रहेको सडक गाउँको बाटोजस्तै आभाष गर्नेको कमी छैन । पुराना र केही बाँझिएका घर, बर्षौदेखि निर्माण सम्पन्न नभएको दरबार, बजारको टुप्पोमा रहेका सरकारी भवनले सदरमुकाम भन्न अप्ठेरो पारिरहेको छ ।
अछाम आक्रमणसंगै ध्वस्त भएको साँफेबगरले विकासको बाटोमा पछ्याइरहेको बेला सदरमुकाम मंगलसेनको मुहार फेरिन सकेको छैन । सदरमुकामका पूराना भौतिक संरचना, व्यवस्थापन हुन नसकेको बजारले मंगलसेन आउने बाह्य व्यक्ति विकासले नछोएको विश्लेषण गर्ने गर्दछन् । जिल्लामा अगुवाइ गर्ने राजनीतिक वा अगुवा व्यक्ति निक्रियता र स्थानीयको सक्रियता अभावमा मंगलसेनको मुहार फेर्न सकेको पाइँदैन । सदरमुकाम आक्रमणपछि बाहिर जिल्लामा लगानी नभएकोले सदरमुकामको समग्र विकासमा धक्का लागेको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा बताउँदै आउनुभएको छ । “यो ठाउँ राम्रो बनाउँ भन्ने कसैको इच्छा, चाहना छैन ।” प्रमुख बोहराको भनाइ छ । दलका नेतृत्वकर्ताकै कारण सदरमुकाम माथि उठ्न नसकेको स्थानीयको आरोप छ ।
मंगलसेनमा भएको घटनामा ५९ प्रहरी, दुई जना निजामती कर्मचारी र आठजना सर्वसाधारण गरी एकसयभन्दा बढी व्यक्तिको ज्यान गएको बताइन्छ । प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री (बैतडी), राष्ट्रिय अनुसन्धान कार्यालयका इनिष्पेक्टर दम्पती समेत सोही घटनामा मृत्यु भयो । मंगलसेनमा रहेको गुल्मका क्याप्टेनसहित ५३ जना सेनाको समेतले ज्यान गुमाए । सोही राती साँफेबगरमा भएको घटनामा विमानस्थलमा सुरक्षा गार्डमा रहेका २७ जना प्रहरीको समेत ज्यान गएको थियो । सेना मारिएको स्थान मंगलसेन बजारको शिरमा निर्माण थालनी गरिएको स्मृति पार्क समेत पूरा नहुँदा अलपत्र नै छ ।