गोकर्ण दयाल
बैतडी, फागुन २० गते । नेपालको विकास प्रशासनका ज्ञाता, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक, देश विदेशमा नाम चलेका विशेषज्ञ डाक्टर, ईन्जिनियर, न्यायाधिश, राष्ट्रि अनुसान्धानका निवर्तमान प्रमुख, संयुक्त राष्ट्रसंघ (न्युयोर्क) का पूर्व राजदूत लगायत दर्जनौ राष्ट्रसेवक जन्माउने बैतडीको एक वडाको पूरैगाउँ अहिले सुनशान र खण्डहर बनेको छ ।
दशरथ चन्द नगरपालिका–५, पल्लाचौडालीले जन्माएका प्रतिभाको सूची यो भन्दा अझ लामो छ । गोरखापत्रको टिम समाचार संकलन गर्न २०७६ फागुन १८ गते पल्लाचौडाली पुग्दा न्युयोर्कका पूर्व राजदूत उद्धवदेव भट्ट, म्यानमारका पूर्व राजदूत डाक्टर दिव्यदेव भट्टको घर सुनशान थियो ।
नेपालको विकास प्रशासनका ज्ञाता मानिनु हुने डाक्टर भीमदेव भट्ट, वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्ट, किड्नी रोग विशेषज्ञ डाक्टर अर्जुनदेव भट्ट, त्रिभुवन विश्व विद्यालयमा ३२ वर्ष अंग्रेजी पढाउनुहुने प्राध्यापक आनन्ददेव भट्ट, राष्ट्रि अनुसन्धानका निवर्तमान प्रमुख अशोकदेव भट्टको घरको अवस्था पनि उस्तै छ । घरमा ताल्चा लगाईएको थियो । झ्याल ढोका मक्कीएर लेउ लागेको अवस्था भेटिएका छन् । डाक्टर भीमदेव भट्टको घरको हेरचाह गरिरहनु भएकी छिमेकी भुवनेश्वरी लेखक उहाँहरु जस्तो विद्वान मान्छे फेरि कहाँ जन्मेलान र ! भन्दै विज्ञहरुको नाम सुन्दा श्रद्धाभाव प्रकट गर्नुहुन्छ । दशरथचन्द नगरपालिकाले विज्ञ जन्माउने गाउँका राष्ट्रसेवकहरुलाई बैतडी बोलाएर नगरपालिकाको विकासका लागि बहस र छलफल गर्न सके उहाँहरुले जन्मथलो मात्रै नभएर बैतडी जिल्लाका लागि केही नयाँ काम गर्न सक्ने भुवनेश्वरी लेखक विश्वास व्यक्त गर्नुहुन्छ ।
दशरथचन्द नगरपालिका वडा नम्बर–५, पल्लाचौडालीले देशका लागि विज्ञ जन्मायो भने वडा नम्बर–५, कै बस्कोटले देशमा प्रजातन्त्र ल्याउन ज्यानको आहुति दिनुहुने अमर सिहद दशरथचन्द जन्माए पनि अहिले यो वडा र गाउँ उजाड बन्दै गईरहेको प्रतित हुन्छ ।
विज्ञका नाम सुन्दा श्रद्धाले शिर निहुराउने बैतडीबासी पछिल्लो समय उहाँहरुको गाउँको अवस्था देखेर निराश बनेको दशरथचन्द नगरपालिका वडा नम्बर ५ का युवा हेमबाबु लेखक बताउनुहुन्छ ।लेखक भन्नुहुन्छ–“ बैतडीले महान सहिद दशरथचन्द जन्मायो । प्रधानमन्त्री लोकेन्द्र्रबहादुर चन्ददेखि देशको विकास प्रशासनका ज्ञाता डाक्टर भीमदेव भट्ट जस्ता हस्ती जन्मायो । नाष्टका वैज्ञानिक डाक्टर भोजराज पन्त जन्मायो । आजको नेपालको विकास प्रशासन भीमदेव भट्टकै खाका अनुसार चलिरहेको छ तर, उहाँहरु जन्मेको गाउँ र जिल्लाको अवस्था त्यस्तो छैन । प्रतिभा पलायनको समस्याले यस्तो भएको हो ।”
गाउँको विकासको खाका कोरिरहेका बैतडीका १० वटा स्थानीय तहले पनि उहाँहरु जस्तो विज्ञलाई बोलाएर विकास सम्बन्धी बहस चलाउन सके अझैं पनि उहाँहरुले आफ्नो जिल्लाका लागि समय दिनुहुन्छ भन्ने कुरामा बैतडीबासी आशावादी भए पनि स्थानीय तहले यो विषयमा चासो नदिएको लेखक बताउनुहुन्छ । प्रतिभा पलायन हुने जिल्ला मध्ये बैतडी अग्रस्थानमा रहेको केही तथ्याङ्कले देखाएको छ । २०५४ सालमा २० हजार जनसंख्या समेटेर गठन भएको देशका पुराना ५८ नगरपालिका मध्ये बैतडीको दशरथचन्द नगरपालिको जनसंख्या २०७२ मा आईपुग्दा घटेर १६ हजारमा झ-यो ।
२०५४ सालमा २० हजार जन्संख्या समेटेर जिल्लाको सदरमुकाम रहेको खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू ( दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालिगाडा र जगन्नाथ) मिलाएर २०५४ सालमा दशरथचन्द नगरपालिकाको गठन गरिएको थियो ।
स्थानीय तहको पुर्नसंरचना हुँदा वि.सं. २०७२ सालमा गाउँपालिका भन्दा पनि कम जनसंख्या भएपछि साविकासको गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी नागार्जुन गाविस र दुर्गास्थान गाविसका तीन वडा समेटेर दशरथ चन्द नगरपालिकाको साख जोगाउनु पर्ने अवस्था सिर्जना भएको तथ्याङक छ ।
नगरपालिका जोगाउन नयाँ समेटिएका साविसका गाविससहिति हालः ११ वडामा विभाजित दशरथ चन्द नगरपालिकाको कुल जनसङ्ख्या (२०६८ सालको जनगणना अनुसार) ३४,५७५ रहेको छ । यहाँ कुल सात हजार २५७ घरधुरी रहेका छन् । नगरपालिकाले गणनामा सातहजार घरधुरी उल्लेख गररेको भए पनि प्रतिभा पलायन र अवसरको खोजीमा बसाईसराईका कारण अधिकाशं घर जिर्ण अवस्थामा रहेका छन् ।
पल्लाचौडालीमा दलितको जनसंख्या बढ्यो
देशको सेवा गर्ने विज्ञहरु जन्माउने पल्लाचौंडालीमा दलित समुदायको भने जनसंख्या र घरधुरी संख्या बढेको पाईएको छ । जिर्ण बनेका पूर्व प्रशासक र विज्ञहरुको घरको रेखदेख गर्न केही दलितहरुको जिम्मा छोडिएको पाईएको छ । पञ्चायतकालका चर्चित नेताका रुपमा रहनु भएका स्वर्गीय जयदेव सुब्बाको घरको रेखदेख अहिले स्थानीय दलितले गरिरहेको स्थानीय दलित अगुवा राजेन्द्र लोहारले बताउनुभयो ।
पल्लाचौडालीका स्थानीय राजेन्द्र लोहारले दलितहरुको करिब दुईसय परिवार रहेको बताउनुभयो । अधिकांश दलितहरुसित बस्ने राम्रो घर समेत नभएकोले टहरो बनाएर बस्नु पर्ने अवस्था रहेको लोहारले बताउनुभयो । बस्ने घर नभएका केही दलितले बस्ने ठाउँ पाएको उहाँले बताउनुभयो ।
बसाईसराई गर्न दलितहरुसँग पुँजी नहुँदा गाउँमै थन्किनु परेको दलित समुदायले बताएका छन् । विद्वान मान्छेले गाउँ छोडेर गएपछि पल्लाचौडालीमा जातीय विभेद समेत कायमै रहेको दलितको गुनासो छ ।
अवसर पाउने बसाईसराई गरेर गए, अवसर नपाउने मात्र गाउँमा बस्नु पर्ने अवस्था आएको अर्का स्थानीय युवा गणेश लोहारले बताउनुभयो । बसाईसराई गरेर जाने विद्वाहरु गाउँमा आउँदा जातीय विभेद नहुँने तर, उहाँहरु गएपछि गाउँमा बसेका अन्य गैरदलितले दलितमाथि जातीय विभेद गर्ने गरेको दलितको गुनासो छ ।
गाउँ फर्किन तयार छौंः विज्ञ
स्थानीय तहले बसाईसराईको प्रक्रिया सुधार गर्न नीति बनाउनु पर्ने र स्थानीय गाउँको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहलाई अवश्यक सहयोग र बसह गर्न गाउँमै आउन तयार रहेको दशरथ चन्द नगरपालिका–५, का विज्ञहरुले बताएका छन् । त्रिभुवन विश्व विद्यालय अन्तरगतको सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुका वनस्पती संकायका सह प्रध्यापक डाक्टर मानदेव भट्टले आफ्नो गाउँको विकासका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको नीतिलाई खुलेर सहयोग गर्ने बताउनुभयो ।
गाउँको विकासका लागि स्थानीय तहले बसाईसराई प्रक्रियामा सुधार, गाउँमै स्वरोजगारको नीति, गाउँका विद्यालयमा सीपमूलक प्राविधिक शिक्षा, मौसम अनुसारको फलफूल खेती र युवा पलायन रोक्नु पर्ने भट्टले सुझाव दिनुभएको छ ।
बैतडीका स्थानीय तहले गर्ने विकासमा विज्ञहरुले उचित सल्लाह र सहकार्य गर्न कुनै समस्या नरहेको डाक्टर भट्टले बताउनुभयो । यो विषयमा दशरथ चन्द नगरपालिकाले अहिलेसम्म कुनै सोच बनाउनन सके पनि आगामी दिनमा बैतडी जिल्लामै जन्मनु भएका तर, विभिन्न अवसरमा जिल्ला बाहिर रहनु भएका विज्ञहरुको राय सल्लाह लिने गरि नगरपालिकामा छलफल गर्न तयार रहेको दशरथ चन्द नगरपालिका बैतडीका उप प्रमुख मीना चन्दले बताउनुभयो ।