गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिता अन्तगर्त नेपालले आफ्नो अन्तिम खेलमा आज सिंगापुरको सामना गर्दैछ । वर्षाले गर्दा खेल निर्धारित समयभन्दा ढिलो हुने भएको छ ।
थाइल्याण्डको टर्डथाई क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपाल र सिंगापुर दुबै टोलीले आफ्नो अन्तिम म्याच खेल्दैछ । सिंगापुर एशिया कप क्रिकेटको छनोट प्रतियोगिताको लागि छनोट भइसकेको छ । उसले नेपाल विरुद्धको खेल औपचारिकताका लागि मात्रै खेल्नेछ ।
बुधबार हङकङलाई १६ रनले हराउँदै सिंगापुरले एशिया कप प्रतियोगिताका लागि छनोट मात्रै भएन, झिनो सम्भावना रहेको नेपालको छनोट प्रतियोगिता खेल्ने ढोका समेत बन्द गर्यो । नेपाल आगामी चरणको प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालले शुक्रबार सिंगापुरको सामना गर्दा तेस्रो स्थानका लागि खेल्नेछन् ।
सिंगापुरले हङकङ, मलेसिया र थाइल्याण्डलाई हराउँदै तीन खेलबाट छ अङ्क बटुलेको छ । तालिकाको शिर्ष स्थानमा रहेको ऊ एशिया कप छनोट खेलमा यूएई र कुवेतसँग स्पर्धा गर्न स्थान सुनिश्चित गरिसकेको छ । कुवेत र यूएई वेस्टर्न रिजन टी ट्वान्टी कप प्रतियोगितामा शिर्ष दुई स्थानमा रहँदै एशिया कप छनोट प्रतियोगिता खेल्न योग्य भएको हो ।
दोस्रो स्थानको हङकङले नेपाल र थाइल्याण्डलाई हराएर दुई खेलबाट चार अङ्क बटुलेको छ । मलेसिया भने नेपाल र थाइल्याण्डलाई हराएर दुई खेलबाट चार अङ्क जोड्दै तेस्रो स्थानमा छन् । नेपालले थाइल्याण्डलाई मात्रै जितेको छ । तीन खेलबाट दुई अङ्क बटुलेको नेपाल तालिकाको चौथो स्थानमा छन् ।
पहिलो खेलमा मलेसियासँग २२ रनले हार बेहोरेको नेपालले दोस्रो खेलमा हङकङसँग पनि ४३ रनको फराकिलो अन्तरले हार बेहोरेको थियो । लगातार दुई खेलमा हार बेहोर्दा नेपालले एशिया कप छनोट प्रतियोगिताको सम्भावनाको ढोका साँघुरो बनाएको थियो । बाँकीको काम सिंगापुरले हङकङमाथि जित हात पार्दै सम्पन्न गर्यो ।
आजै हुने दोस्रो खेलमा मलेसियाले हङकङको सामना गर्दैछ । दुबै टोलीबीचको विजेता राष्ट्र एशिया कप छनोट प्रतियोगितामा सिंगापुरसँगै इस्टर्न रिजनबाट खेल्ने अर्को राष्ट्र बन्नेछ । वर्षाले खेल नहुने स्थितिमा अङ्कतालिकामा दोस्रो स्थानमा रहेको हङकङले स्थान सुनिश्चित गर्नेछ ।