गोकर्ण दयाल
बैतडी, फागुन २३ गते । कोरोना भित्रिन नदिन झुलाघाटमा नेपाल–भारत दुबै देशले उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाए पनि बैतडीको तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाकामा खुलेआम नेपाल –भारत आवत जावत भईरहेको छ ।
पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाबाट नेपाल–भारत आवत जावत गर्न महाकाली नदीमा सात ठाउँमा डुङ्गा गर्ने तार उतार घाट रहेका छन् । महाकाली नदीमा रहेका सात ठाउँमा डुङ्गा तर्ने घाटमा दैनिक सयौं यात्रु आवत जातव गर्छन् ।
स्वास्थ्य कार्यालय बैतडीको अगुवाईमा भारतको पिथौरागढ जिल्लासँग जोडिएको झुलाघाट सीमा नाकामा दशरथ चन्द नगरपालिकाको स्वास्थ्य शाखाले कोरोनो चेकजाँच गर्न सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरे पनि पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमामा कोरोना चेकजाँच कक्ष स्थापना हुन सकेको छैन । पञ्चेश्वर र शिवनाथ गाउँपालिका भारतको चम्पावत जिल्लासँग जोडिएका गाउँपालिका हुन् ।
चैते दशैंको नवरात्रीमा पूजापाठ गर्न पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा रहेको विभिन्न धार्मीक स्थलमा पूजा गर्न भारतीयहरु समेत तल्लोस्वराड क्षेत्रमा आउने गर्दछन् ।
सुदूरपश्चिमेलीहरुले चैते दशैंको नवरात्रीमा पूजा पाठ र विशु पर्व ( नयाँ वर्ष) मनानउ भारतमा रोजगारी गर्ने हजारौं नेपाली घर फर्किने बेला नजिकिन थालेको छ तर, भारतसँग जोडिएको तल्लोस्वराड क्षेत्रका सीमा नाकामा कोरोना चेकजाँच कक्ष स्थापना हुन सकेको छैन ।
पञ्चेश्वर गाउँपालिकाको सीमा नाकामा कोरोना चेक जाँच गर्ने स्वास्थ्य टोली नहुँदा खुलेआम नेपाल–भारत आवत जावत भईरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । जनशक्ति अभावमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न नसक्दा तल्लो स्वराडमा कोरोनो चेकजाँच सहायता कक्ष स्थापना गर्न नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
स्वास्थ्य प्रमुख भट्टले भन्नुभयो, “ तल्लोस्वराडमा नेपाल–भारत आवत जावत गर्न महाकाली नदीमा सात ठाउँमा डुङ्गा तर्ने घाट छन् । एक ठाउँमा न्यूनतम् दुई जना स्वास्थ्यकर्मी बस्नु पर्ने हुन्छ । स्वास्थ्य कार्यालयसँग कर्मचारी अभाव छ । यो विषयमा गाउँपालिकासँग समन्वय गरेर सहायता कक्ष स्थापना गर्न पहल गर्ने सोच बनाएका छौं ।”
झुलाघाटमा भने एक हप्ता अघि कोरोना भाईरस रोक्न उपकरणसहित सहायता कक्ष स्थापना भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । झुलाघाटमा स्थापना गरिएको सहायता कक्षमा एक हप्तामा भारतबाट नेपाल आउने ३०७ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उता झुलाघाट पारि भारतकोले स्थापना गरेको कोरोना चेकजाँच सहायता कक्षमा सीमा नाकामा ओहोरदोहार गर्ने छ हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेको भारतीय अधिकारीले बताएका छन् ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले झुलाघाटमा स्थापना गरिएको सहायता कक्षमा भारतबाट नेपाल आउने व्यक्तिहरुको स्वास्थ्य परीक्षण भईरहेको बताउनुभयो । यसरी स्वास्थ्य परीक्षण गरेका व्यक्तिले यसअघि चिन भ्रमण गरे नगरेको र रुखाखोकी लागे नलागेको, शरीरको तापक्र ९८ डिग्रि फरेनहाईट भन्दा माथि रहे नरहेको जस्ता विवरण सङ्कलन गर्न सुरु गरिएको भट्टले बताउनुभयो ।
लगातार दुई हप्ताभचन्दा बढी समयदेखि रुघा खोकी र ज्वरो आएका र संकास्पद व्यक्ति फेला परेमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयमा खबर गरेर सुरक्षित तरिकाले एम्बुलेन्समा राखेर उपचार हुने ठाउँमा पठाईने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका स्थानीय रोजगारीका लागि बैतडीको झुलाघाट भएर नेपाल–भारत आवतजात गर्ने गरेका छन् । झुलाघाट सीमा नाकाबाट दैनिक दुईसय भन्दा बढी व्यक्ति आवत जावत गर्ने गरेको झुलाघाट सीमा प्रहरीको तथ्याङ्क छ ।
झुलाघाटमा कोरोना चेकजाँच सहायता कक्ष स्थापना भए पनि बैतडीको तल्लोस्वराड क्षेत्रमा नेपाल–भारत आवत जावत गर्ने ठाउँमा कोरोना चेकजाँच सहायता कक्ष स्थापनाका लागि स्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।