logo
२०८१ मंसिर १० सोमवार

 सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस 



लाेग्नेले छाडेकाे ३८ वर्ष भयाे, न अंश पाइन न वंशले हेरे

पढ्नै पर्ने |


लाेग्नेले छाडेकाे ३८ वर्ष भयाे, न अंश पाइन न वंशले हेरे


गोकर्ण दयाल

बैतडी, फागुन २५ गते । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइ रहँदा देशकै दुगर्म पहाडी जिल्ला बैतडीकाे पाटन नगरपालिका–६, की की ७१ वर्षिय देवकी चन्दको पीडाकाे कथा  सार्वजनिक भएकाे छ । चन्दका दुखका कुरा सुन्दा उहाँकाे व्यक्तिगत मामला जस्ताे लागे पनि यसले नेपालकाे ग्रामीण भेगका अाम  महिलकाे अबस्थाकाे प्रतिनिधित्व गरेकाे छ । 

चन्दका श्रीमान दोश्रो विवाह गरेको ३८ वर्ष भयो । अंश दिनुपर्छ भनेर घरपरिवारले नागरिकता समेत बनाई दिएनन् । बस्ने घर छैन । सहारा दिने दुई छोराको मानसिक अवस्था बिग्रेको छ ।

कुनै बेला हुने खाने परिवारको सुकिलो घरमा जिन्दगी बिताउने महिला अहिले बस्ने घर खोज्दै हुनुहुन्छ । यो कथा बैतडीको पाटन नगरपालिका–६, की ७१ वर्षिय देवकी चन्दको हो । मेरो त भगवान पनि रिसाए भन्दै बरर आँसु खसाल्दै सुरक्षित महिला आवास गृहमा पुर्याएकी चन्दले पीडा सुनाउनुभयो ।

चन्दले आफ्नो बिगत सुनाउँदै भन्नुभयो, “श्रीमान् बैङ्कका मेनेजर हुनुहुन्थ्यो । सुकिलो घर थियो । विवाहपछि दुई छोरा जन्मे । तर, यो खुशी लामो समय टिकेन । २०३८ सालमा श्रीमानले दोश्रो विवाह गरे । श्रीमानले छोडे पनि छोराहरुले बुढेसकालमा सहारा दिने आशा थियो । दुई छोरा हुर्काएर ठूलो भए । छोराहरुको मानसिक अवस्था बिग्रेपछि घर परिवार र गाउँलेले देउता रिसाएको भनेका छन् । बस्ने घर छैन । आफ्नो नाममा जग्गा जमिन पनि केही छैन । म कहाँ जाऊ ? म दुःखीको कहाँ होला घर ?”

एक्लो पारिएकी देवकी चन्दसित नागरिकता समेत नभएपछि पाटन नगरपालिकाले ७१ वर्षको उमेरमा देवकी चन्दको बल्ल तल्ल नागरिकता बनाई दिएको छ । श्रीमानले छाडे पनि देवकी चन्दले अहिलेसम्म पतिको आयुका लागि सिँउदोमा सिन्दुर लगाउन भने छोड्नु भएको छैन ।

आँसु खसाल्दै चन्द भन्नुहुन्छ–“श्रीमान्को आयुकै लागि त हो सिन्दुर लगाउने । निष्ठुरिले छोडे पनि सिन्दुर छोड्न मन लाग्दैन । भन्छन् नि ढुङ्गा पनि एक दिन पग्लिन्छ तर, श्रीमानको मन अहिलेसम्म पग्लिन सकेको छैन । म कति रोए त्यसको कुनै हिसाब छैन ।” घर नजिकै बग्ने सुर्नया नदी देखाउँदै देवकी चन्द अगाडि भन्नुहुन्छ “ सुर्नयामा कति पानी बग्यो, त्यति नै मेरो आँसु बगे होलान् ।”

देवकी चन्दले भोगेको पीडाका विषयमा पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्द भन्नुहुन्छ–“ कस्तो अचम्मको संयोग पर्यो ! २०३८ सालमा म प्रधानपञ्च हुँदा देवकीका श्रीमानले दोश्रो विवाह गरेका हुन् । त्यो बेला पनि देवकीले अंश पाउनु पर्ने कुरा आएको थियो । साFढे तीन दशपछि म पाटन नगरपालिकाको मेयर बने । देवकी चन्द फेरि उही पीडा लिएर भौतारिएको देख्दा म निकै भावुक बनेको छु । देवकी चन्दमाथि भएको अन्यायले दुःखी बनाएको छ । नगरपालिकाले उहाँको नागरिकता बनाईदिएको छ । बृद्ध भत्ताका पाउने सूचीमा देवकीको नाम समेटेका छौं ।”

देवकी चन्द आफ्नो छिमेकी नातेदार समेत भएको कुरा बताउँदै पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले देवकी चन्दका श्रीमान खडकबहादुर चन्दले अंश दिन कञ्ज्युस्याई गर्न नहुँने बताउनुभयो । छोराहरुको मानसिक अवस्था बिग्रेको छ । देवकी चन्दको बस्ने घर समेत छैन । जग्गाको लालपूर्जा भए देवकी चन्दलाई जनता आवासको घर उपलब्ध गराउँन सहज हुने मेयर चन्दले बताउनुभयो ।

पाटन नगरपालिका वडा नम्बर–६, का वडा अध्यक्ष राजेन्द्र बिष्टले देवकी चन्दका दुई छोरा करन चन्द र दीपक चन्दको मानसिक अवस्था ठिक छैन भन्नुभयो । उपचार नपाउँदा घरमै थन्किएको अध्यक्ष बिष्टले बताउनुभयो । अध्यक्ष बिष्टले देवकी चन्दको नागरिकता बनाउँदा घरपरिवार देवर नाता पर्नेहरुले समेत सहयोग नगरेपछि वडा कार्यालयले निकै मेहनत गरेर नगरपालिकाको पहल नागरिकता बनेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?