केशवराज पौडेल
काठमाडौं, फागुन २५ गते । ‘परिवारसँग मिलेर होली खेल्न पाइन्छ तर भिडभाड गर्ने होहल्ला गर्ने अरुलाई पानी छ्याप्दै हिड्न पाईदैन’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो । उहाँले एकै पटक धेरै जमातमा हिड्नु भएन, कन्र्सट नगर्न र पानी अरुलाई नछ्याप्न अनुरोध गर्नु्भयो ।
उहाँले सभ्य भएर होली खेल्न पाउने समेत बताउनुभयो । हामीले होली मनाउन नपाउने भनेका छैनौ, चिसो र पानीमा कोरोना भाइरस सकृय हुने भएकाले जोगिनु पर्छ भनेर अनुरोध गरेका छौ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जिल्ला प्रशासन कार्यालय तथा गृहमन्त्रालयको निर्देशन अनुसार होली सभ्य तरिकाले मनाउन प्रहरी परिचालन हुने बताउनुभयो । यो पटकको होली खेल्दा कोरोनाको उच्च जोखिम हुने भएकाले समुहमा होली नखेल्न र पानीमा नभिज्न एसएसपी थापाले सबैलाई अनुरोध गर्नुभयो ।
गृह मन्त्रालयले कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै होली मनाउन अन्रोध गरेको छ । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै होलीमा बिगतमा जस्तै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरिरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्न अनुरोध गरेको हो । विश्व स्वास्थ्य संगठनले भिडभाड हुने प्रकृतीको सभा सम्मेलन, भेलामा कोरोनाको जोखिम हुने भएकाले विगतमा जस्तै होलीमा भेलाजम्मा हुने,लोलापानी फ्याक्ने, शरिरमा रंग अबिर दल्ने कार्य जोखिमपुर्ण नै हुनेहुँदा सो कार्य नगर्न गृह मन्त्रालयले अनुरोध गरेको हो ।
गृह मन्त्रालयले कोरोनाका सम्बन्धमा हाल फैलिएको भन्ने अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनै प्रकारको हतार नगर्न, कहिँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर समेत गरिदिन सबैमा बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।