मनोज तिमल्सिना
रौतहट, फागुन २८ गते । बिहान सबेरै घर छेउको नर्सरीमा जानु उहाँको दैनिकी हो । बिरुवा स्याहार्नमै उहाँले तीन दशक पार गर्नुभएको छ । चन्द्रपुर नगरपालिका वडा–४ चन्द्रनिगाहपुर जंगलटोलका ६८ वर्षीय हरिप्रसाद आचार्य वनका विभिन्न प्रजातीको विरुवाको रेखदेख गर्न बिहानै नर्सरीमा जाँदै दिन बित्ने गर्छ । विभिन्न जातका बिरुवा हुर्कंदै गरेको नर्सरी सम्हालेको उहाँको ३४ वर्ष वितेको छ । अझैसम्म उहाँमा विरुवा मोह छ ।
आचार्यको दैनिकी बिहान सबेरैदेखि शुरु हुन्छ । साँझसम्म बिरुवाको हेरचाहमै दिन बित्छ । डिभिजन वन कार्यालय,चन्द्रनिगाहपुरको १५ कठ्ठा जमिनमा फैलिएको नमूना नर्सरीमा उहाँले काम गर्दै आउनुभएको छ । तीन लाख विरुवाको संरक्षकका रुपमा उहाँ रहँदै आउनुभएको छ । यसैमा उहाँ रमाउँदै आउनुभएको छ । बाँकी जिन्दगी पनि यसैमा बिताउने उहाँको अठोट छ ।
नर्सरीमा हाल १४ जातका बिरुवा रहेको उहाले जनाउनुभयो । अहिले पनि उहाँमा जोस र जाँगर घटेको छैन् । नर्सरीमा बिरुवा हुर्काउन उहाँले बच्चाको जतिकै माया लाग्ने गरेको बताउनुहुन्छ । बिरुवा हुर्के नहुर्कै र पानी तथा गोडमेल जस्ता कार्यमै आफ्नो दिन वित्ने गरेको उहाँको कथन छ । सम्पतिका नाउँमा ऐलानी जमिनमा उहाँको एउटा पक्की घर छ । दुई छोरी र एक छोराका पिता आचार्य सुकुम्बासीका रुपमा रहँदै आउनुभएको छ ।
डिभिजन बन, रौतहटले आचार्यलाई दैनिक ज्यालादारीमा नर्सरीको बिरुवा उत्पादन र संरक्षणमा खटाउँदै आएको हो । उहाँलाई प्रतिदिन पाँच सय पचास रुपैयाँ उपलब्ध हुने गरेको छ । बिरुवा लगाउने ठाउँ तयार पार्ने, सेड बनाउने, गोड्ने, माटो भर्ने, रोप्ने, हुर्काउने र संरक्षण गर्ने काममा उहाँको ध्यानहुन्छ । सिजन हेरेर सहयोगीसहित उहाँले काम गर्दै आउनुभएको छ ।
सधै बिरुवासँग रम्ने आचार्यलाई दिनमा भन्दा रातको समयमा बादरबाट नर्सरीको चिन्ता लाग्ने गर्छ । उहाँका अनुसार, बन्यजन्तुले बेलाबेलामा दुःख दिने गर्छन । बाँदर आएर बिरुवा नष्ट गर्ने गर्छन । रातको समयमा कहिलेकाँही सुत्न समेत नपाइने गरेको उहाँको अनुभव छ ।
चारैतिर घेराबेरा गरिएको नर्सरीमा अहिले कपुर,मसला, मलेसियन साल, खयर,अमला,बेल, कल्की, सिसौ, सतिसाल, टिक, जाग्रान्डालगाएतका १४ जातका बिरुवा रहेको उहाँले बताउनुभयो । उहाकाँ अनुसार,चार महिनामा बिरुवा तयार हुने गर्छ । यहाँ उत्पादन गरिने बिरुवालाई बन कार्यालयले सर्वसाधारणलाई निःशुल्क वितरण गर्दै आएको छ । यस नमुना नर्सरी बाहेक जिल्लाका जंगलसैया, चेतनगर, बलेरी, गौर,रंगपुर वनको नर्सरीहरुमा समेत विरुवा उत्पादन हुने गर्छ ।
जिल्लाका दक्षिणी भेगमा मसलाको विरुवा र टिकको माग अधिक हुने गरेको आचार्यले जानकारी दिनुभयो । अन्यत्रका नर्सरीको दाँजोमा यहाँको नमुना नर्सरीमा धेरै बिरुवा उत्पादन हुने र वितरण गर्ने गरिएको छ । आचार्य खटिने नर्सरीमा भने प्रत्येक सिजनमा तीन लाख बढि बिरुवा उत्पादन हुने गरेको छ ।
उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न भेगका बनक्षेत्र तथा स्थानीय किसानलाई निशुल्क दिने गरिएको डिभिजन वन कार्यालय,रौतहटका प्रमुख विनोद सिंहले बताउनुभयो । बिरुवामा आचार्यको मेहनत र लगाबलाई बनका सवै कर्मचारीले मन पराएको उहाँको कथन छ ।