हरिप्रसाद कोइराला
कानेपोखरी (मोरङ), चैत ७ गते । न शरणार्थी, न त भारतीय वा तेस्रो देशको नागरिक । तर पनि कानेपोखरी– ७ मोरङकी ७२ वर्षीय बाटुली माझीले अझै नेपाली नागरिकताको प्रमाण पत्र पाउनु भएको छैन।
उहाँका श्रीमान ७१ वर्षीय श्यामबहादुर माझीले गत वर्ष गाउँपालिकामा टोली आएको बेला नागरिकता निकाल्नुभयो । धेरै कष्टले नागरिकता निकाल्नु भएका माझीले आफ्नी पत्नीको पनि उति बेलै नागरिकता निकाल्ने प्रयास गर्नु भएको थियो । तर, उति बेला श्रीमानको नागरिकता भएपछि श्रीमतीको सजिलै निकाल्न सकिने आश्वासन पाएपछि उहाँ ढुक्क हुनुभयो ।
आफूसँगैका साथीसङ्गीहरू चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता बुझ्छन् । मासिक ३ हजारका दरले चार/चार महिनामा १२ हजार रुपियाँ पाउँने अधिकार बाटुलीको पनि छ । त्यति पैसा हुँदा हात गोडा बस्न लागेकी माझीले अर्काको घरमा बनिबुतो गर्नु पर्ने थिएन । कपाल फुलिसक्यो । दाँत झरिसके । कानले पनि त्यति भ्याउ पाउँदैन । तर, पनि नागरिकता बिहीन हुनुहुन्छ – बाटुली माझी ।
त्यसो त उहाँका तीन छोरीले भने नागरिकता निकालिसकेका छन् । श्यामबहादुरले भन्नुभयो–‘छोरीहरूको नागरिकता ज्वाईले निकालि दिएँ । हाल कान्छी छोरी ज्वाईसँग बस्दै आउनु भएका श्यामबहादुर र वाटुली बुढेसकालमा पनि कृषि मजदुरी गरेर जीविकोपार्जन गरिरहनु भएको छ ।
माझी दम्पत्ति ३० वर्षयता मोरङको कानेपोखरी–७ मा बस्दै आएको छ । छिमेकी, इष्टमित्र सबैलाई उहाँ नेपाली नागरिक हो भन्ने राम्रो थाहा छ । तर, किन नागरिकता बनेन उहाँहरूलाई नै थाहा छेन् । छिमेकी कालीमाया तामाङले भन्नुभयो– बुढी मान्छेको नागरिकता निकालिदिन पाए, सरकारको पैसा पाउँथे । अत्यन्तै कमजोर आर्थिक अवस्थाकी बाटुली माझीको नागरिकता निकालिदिन जुनसुकै सहयोग गर्न छिमेकीहरू तयार छन् । छिमेकी दावामाया तामाङले भन्नुभयो–हामीले गर्ने सहयोग हामी गर्छौं । उहाँहरूलाई नागरिकता दिनुप-यो ।
उता इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख झरेन्द्रप्रसाद चापागाईले उहाँको वंसज खुल्ने प्रमाण भए नागरिकता दिन सकिने बताउनु भयो । ओखलढुंगाबाट ५० वर्ष अघि तराई झर्नु भएकी बाटुली माझी पहाडबाट झापा हुँदै ३० वर्ष यता मोरङको कानेपोखरी –७ बरगाछीमा बस्दै आउनु भएको छ । उहाँले आफ्ना माइती सुनसरीको महेन्द्रनगरमा रहेको बताउनु भयो ।