logo
२०८१ मंसिर १० सोमवार



पनौती नगरपालिकाले सुरु गर्याे ‘फुड बैङक’

पढ्नै पर्ने |
फिचर |


पनौती नगरपालिकाले सुरु गर्याे ‘फुड बैङक’


मधुसुधन तिमल्सिना

काभ्रे, चैत २४ गते । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैङक’ मार्फत अतिविपन्न परिवारलाई राहत बाड्न थालेको छ ।

पनौती नगरपालिकाले एकद्धार प्रणाली मार्फत अतिविपन्न परिवारमा राहत पु¥याउन फुड बैङक स्थापना गरेको थियो । नगरप्रमुख भीम न्यौपानेले नगरका १३० अतिविपन्न नागरिकलाई राहत वितरण गरेको जानकारी दिनुभयो । नगरपालिकाले विपद् कोषबाट अतिविपन्न १३० परिवार पहिचान गरी वडा वडा मार्फत एक हप्ताका लागि राहत वितरण गरी सकेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

प्रमुख न्यौपानेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले दुई प्याकेजमा राहत दिने निर्णय गरेको थियो । फुड बैङ्कका संयोजक एव्म बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले दुई प्याकेज अन्तर्गत चार जनासम्मको परिवारलाई १० किलो चामल र त्योभन्दा बढी भएमा १५ किलो चालम दिने गरी निर्णय भएको जानकारी दिनुभयो । दाल, आलु, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, बिस्कुट, साबुन, चिनी, चियापत्ती, चिउरा, दालमोठलगायत १७ प्रकारका राहत प्याकेजमा रहेको अधिकारीले जानकारी दिनुभयो ।

पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले नगरका १२ वडा मध्ये वडा न ७ का २० परिवार र अन्यका ११ वडाका १०/१० अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ । बैङकमा जम्मा भएको राहत प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा गठन भएको राहत व्यवस्थापन समिति मार्फत वितरण गरेको जानकारी दिनुभयो ।
फुड बैङ्कमा १७९ बोरा चामल

नगरपालिकाले अतिविपन्न परिवारका लागि राहत फुड बैङ्क मार्फत संकलन गर्न थालेपछि नगरले तोकेको मापदण्ड अनुसारका खाद्य सामग्री आउने क्रम जारी रहेको नगरपाकिलाले जनाएको छ । नगद तथा जिन्सी लिन सकिने गरी नगरपालिका विपद् व्यवस्थापन समितिले निर्णय गरेको थियो ।
फुड बैङकका संयोजक एवम् बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले जनप्रतिनिधि, उद्योग बाणिज्य संघ, सहकारी, यातायात व्यवसायी संघ, अनेरास्ववियू, खानी व्यवसायी, आर.के फाउन्डनेस, अल्टानेट लगायतले फुड बैङ्कमा सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले फुड बैङकमा १७९ बोरा चामल, अल्टानेटले उपलब्ध गराएको नगद २० हजार, आलु १८ बोरा, चिउरा २४ बोरा, दाल १४ बोरा र दालमोट एक बोरा रहेको छ । त्यस्तै गेडागुडी दुई बोरा, नुन चार सय पाकेट, मयौरा दुई बोरा, बेसार १२ केजी, प्याज तीन बोरा, तेल ३८ बाकस चार लिटर, चाउचाउ पाँच बाकस, विस्कुट तीन बाकस, चिनी चार बोरा, चियापती २० केजी, हात धुने साबुन ४९२ गोटा र लुगाधुने साबुन छ बाकस ४० पिस रहेको जानकारी दिनुभयो ।
नगरपालिकाले सडक, सिँचाइ, खानेपानीजस्ता निर्माणका क्षेत्रमा खटेका मजदुरको वडागतरूपमा तथ्याङ्क लिइरहेको प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईले जानकारी दिनुभयो । पनौतीस्थित इन्द्रेश्वर प्राथमिक विद्यालयमा फुड बैंक स्थापना गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?