logo
२०८१ मंसिर १२ बुधवार



प्रभावकारी बन्दै कृषि एम्बुलेन्स सेवा

पढ्नै पर्ने |


प्रभावकारी बन्दै कृषि एम्बुलेन्स सेवा


प्रदेश ५ ब्यूरो
बुटवल,बैशाख १४ गते । लकडाउनमा प्रदेश ५ सरकारले सञ्चालन गरेको कृषि एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ । उपभोक्ताहरु भारतीय तरकारीमा भर परिरहेका र नेपाली किसानका उत्पादन खेरबारीमै सड्न थालेका बेला प्रदेश ५ भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पहलमा यस्तो सेवा शुरु भएको थियो । अहिले धमाधम त्यस्ता कृषि एम्बुलेन्स मार्फत किसानकै मूल्यमा उपभोक्ताहरुले घरघरमै तरकारी तथा फलफूल पाईरहेका छन् ।
 किसानकै मूल्यमा तरकारी
भैरहवा समाचारदाताका अनुसार लकडाउनका कारण बजार नपाएको कृषिउपज उपभोक्ताको घरघरमै पु¥याउन थालिएपछि किसानको उत्पादन खेर जानबाट जोगिएको छ । भैरहवामा कृषि एम्बुलेन्सबाट तरकारी खरीद गर्ने उपभोक्ताहरुको संख्या पनि बढ्दै गएको छ ।

मेहनेतका बाबजुद किसानले उत्पादन गरेको तरकारीले मूल्य नपाउने र उपभोक्ताले पनि बढी मूल्य तिर्नुपर्ने बाध्यता रहेको थियो । अझ लकडाउनको समयमा किसानको तरकारी बिक्री नभएर उत्पादन भएकै स्थानमा कुहिने र नेपाली उपभोक्ताहरुले पनि भारतीय तरकारी प्रयोग गर्न बाध्य थिए । तर अहिले भने किसानले उत्पादन गरेको तरकारीले मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा हरियो ताजा तरकारी पाइरहेका छन् ।

प्रदेश कृषि मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जनउत्थान सहकारीले अगुवाई गरेर सुपथ मूल्यमा उपभोक्ताहरुलाई तरकारी बिक्री गर्न थालेको हो । सिद्धार्थनगर नगरपालिकालाई केन्द्रित गरेर लकडाउनको बेला भारतबाट तरकारीको आयात रोकियोस् र स्वदेशमै किसानले उत्पादन गरेको तरकारीइ खेर जान नपाओस् भन्ने उद्देश्यले किसान र उपभोक्ताबीच जनउत्थानले पुलको काम गरेको सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो । उहाँले दैनिक कम्तीमा चारवटा टोलमा कृषि एमबुलेन्सले सेवा दिइरहेको बताउनुभयो । हालसम्म सिद्धार्थनगरका छ हजार भन्दा बढी उपभोक्तालाई कृषि एम्बुलेन्सले सेवा पु¥याइसकेको पौड्यालले जानकारी दिनुभयो ।

सहकारीले भैरहवामा प्रत्येक टोलटोलमा तरकारी बिक्री केन्द्र र समय तोकेर भीड नहुने गरी तरकारी बिक्री गर्ने व्यवस्था गरेको सहकारीका व्यवस्थापक रनबहादुर थापाले बताउनुभयो । प्रदेश ५ कि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि एम्बुलेन्समार्फत किसानका उत्पादन निर्वाध बजारसम्म पुग्ने र उपभोक्ताले सुपथ मूल्यमा पाउने बताउनुभयो ।
किसान र उपभोक्तालाई लाभ
तानसेन समाचारदाताका अनुसार जिल्लाको तानसेन नगरपालिका, माथागढी र बगनासकाली गाउँपालिकामा किसानको बारीमा उत्पादित तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

तानसेन युवा परिषद्ले पाँच वटा कृषि एम्बुलेन्समार्फत तानसेनका उपभोक्तालाई घर–घरमा तरकारी उपलब्ध गराएको परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । यस्तै माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि ज्ञान केन्द्रको सहयोगमा तानसेन लगायतका बजारमा तरकारी बिक्रीका लागि ढुवानी गरिरहेको छ । उता बगनासकाली गाउँपालिकाले किसानको बारीबाटै तरकारी खरिद गरेर सुपथ मुल्यमा उपभोक्तालाई तरकारी वितरण गरिरहेको छ ।
लकडाउनका कारण किसानले उत्पादन गरेका तरकारीजन्य बस्तु खेर नजाओस् भनेर कृषि एम्बुलेन्समार्फत ढुवानीको प्रवन्ध गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । कृषि एम्बुलेन्स सञ्चालनपछि तानसेनमा अर्गली, मदनपोखरा, बन्दीपोखरा लगायतका स्थानबाट तरकारी ढुवानी सहज भएको किसानको भनाई छ ।
प्यूठानमा पनि सेवा
प्यूठान समाचारदाताका अनुसार प्रदेश सरकारबाट अनुदान पाएका जिल्लाका तीन वटा पिक अप गाडीलाई कृषि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको हो ।
लकडाउनका कारण उत्पादन भएका कृषि उपज खेर जाने भएकाले पाँच नम्वर प्रदेशले कृषि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेपछि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स सञ्चालनका लागि गिरिराज पौडेलेका संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?