उपेश महर्जन
काठमाडौँ, वैशाख २७ गते । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण केही देशमा पूर्ण रुपमा नियन्त्रण र एक दर्जन नियन्त्रणउन्मुख छन् । करिब ४० लाख ३२ हजार संक्रमितमध्ये हालसम्म करिब १४ लाखपूर्ण रुपमा निको भइसकेका छन् भने दुईलाख ७५ हजारको ज्यान गइसकेको छ ।
कोराना भाइरसबाट अधिकांश मुलुकहरु आक्रान्त भइरहेको अवस्थामा पपुवा न्यूगिनी, ग्रिनल्याण्ड, फारोह आइल्याण्ड, न्यू क्यालोडोनेया, फकल्याण्ड, सेन्टवार्थ, एन्गुइलामा कोरोना संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा आएको छ । पपुवा न्यूगिनी एक राष्ट्र हो भने अरु छ वटा विभिन्न देशका टापू राज्यहरू हुन् ।
फारोह आइल्याण्डमा १८७, न्यू क्यालोडोनेया १८, फकल्याण्ड १३, ग्रिनल्याण्ड ११, पपुवा न्यूगिनी ८, सेन्टवाथ ६ र एन्गुइलामा ३ जनालाई संक्रमणभएको थियो । बिना कसैको मृत्यु सबैको पूर्ण रुपमा उपचार भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
फारोह आइल्याण्ड संवैधानिक राजतन्त्र रहेको मुलुक डेनमार्कका स्वाशासित टापू राज्यहो भने ग्रिनल्याण्ड पनि डेनमार्क अधिनस्थ रहेको छ । ग्रिनल्याण्ड संसारकै सबैभन्दा ठूलो टापू हो । जहाँकरिब ६० हजारको जनसंख्या रहेको छ भने फारोह आइल्याण्डमाकरिब ५० हजारको जनसंख्या रहेको छ ।
फारोह टापूमा करिब आठ हजार ४०३ जनामा नमुना परीक्षण गरिएको छ । त्यसैगरी, पपुवा न्यू गिनी संसारकै सबैभन्दा दोश्रो ठूलो टापू राष्ट्र हो । एसियाप्रशान्त क्षेत्रमा इन्डोनेसियाको पूर्व र अष्ट्रेलियाको उत्तरमा अवस्थित यस देशमा करिब एक करोड जनसंख्या रहेको छ । यो मुलुक क्षेत्रफलको हिसाबले नेपालभन्दा तीन गुणा ठूलो छ । यहाँ दुईहजार दुईवटा मात्र परीक्षण गरेर संक्रमित सबैको उपचार भएको थियो ।
त्यस्तै, पपुवा न्यू गिनीको तल र अष्टे«लियाको पूर्व उत्तरतिर रहेको टापू न्यू क्यालोडोनेया फ्रान्सको अधिनस्थ मानिन्छ, जहाँ करिब पौने तीन लाखको जनसंख्या छ । त्यहाँ पाँच हजार २१३ वटा परीक्षण गरिएको थियो ।
यसैगरी, क्यारेबियन क्षेत्रमा रहेको सेन्टवार्थ पनि फ्रान्सको अधिनस्थ छ जहाँ दशहजारको बसोवास छ ।
अर्जेन्टिनाको पूर्व दक्षिणतिर रहेको फकल्याण्ड बेलायतको अधिनस्थ मानिन्छ जहाँ करिब पाँचहजारको जनसंख्या रहेको छ । क्यारेबियन क्षेत्रमा एन्गुइलामा १५ हजार जनसंख्या छ जहाँ बेलायती उपनिवेश रहेको छ ।
केही मुलुकहरु पूर्ण रुपमा नियन्त्रण उन्मुख
दक्षिण एसियाली मुलुक भूटानमा सात जनामा संक्रमण देखिए पनि पाँचजना पूर्ण रुपमा निको भइसकेका छन् । भियतनाममा २८८ मध्ये २४१ जना निको भएका छन् । कम्बोडियामा १२२ मध्ये १२० जना निको भइसकेका छन् ।
सेन्टकिट्स एण्ड नेभिसमा १५ मध्ये १३ जना डिस्चार्ज भएका छन् । १६ जना संक्रमित रहेको डोमिनिकामा १४ जना निको भइसकेका छन् । सेन्ट लुसियामा १८ मध्ये १७ जना निको भएर घर फर्किसकेका छन् । फिजीमा १८ मध्ये १४, लाओस १९ मध्ये १३ र इष्ट टिमाेरमा २४ मध्ये २१ जना डिस्चार्ज भएका छन् ।
यी सबै मुलुकमा अहिलेसम्म कुनै बिरामीको मृत्यु भएको छैन ।