logo
२०८१ मंसिर १२ बुधवार

 वैदेशिक रोजगारीमा गएकाको फिर्ती 



उचित व्यवस्थापन गर्न सके स्वर्णीम युग आउन सक्छ

पढ्नै पर्ने |


उचित व्यवस्थापन गर्न सके स्वर्णीम युग आउन सक्छ


केशवराज पौडेल

काठमाडौँ, वैशाख ३१ गते । ‘विश्व नै कोरोनाको कहरमा परेको बेला वैदेशिक रोजगारमा रहेका लाखौँ नेपालीलाई एकैपटक नेपाल फर्काउन चुनौती छ तर फर्किएपछि उनीहरूको सीप प्रयोग गरेर समृद्धि ल्याउन सकिने बताइएको छ ।

सेन्टर फर माईग्रेशन एण्ड इन्टरनेशनल रिलेशन (सिएमआरसी) मार्फत विदेशमा अलपत्र परेका नेपालीलाई सहयोग गर्दै आएका सिएमआरसीका निर्देशक युवराज नेपालले यतिबेला स्वदेश फर्कन खुट्टा उचालेर बसेका नेपालीहरूका लागि क्वारेनटाइनको व्यवस्था, कोरोनाको प्रकोप सकिएपछि उनीहरुलाई रोजगारको व्यवस्था गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

अहिले दुई लाख नेपाली स्वदेश फर्कन तयार हुनुभएको छ । उहाँहरू नेपाल आउन पाउने अधिकार नै भएकाले सरकारले त्यसको तयारी थाल्नुपर्छ । तर उहाँहरू नेपाल आएपछि निश्चित समयसम्म क्वारेनटाइनमा राख्नु पर्ने भएकाले त्यसको तयारीमा भने सरकार चुकेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगार ऐनमा श्रमिकको रुपमा वैदेशिक रोजगारीमा गएका नागरिकलाई समस्या परेमा नेपाल सरकारले ल्याउने भनेर उल्लेख गरेको छ तर सरकारी निकायबाट भने त्यसको तयारी नभएको निर्देशक नेपालले भन्नुभयो ।

वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा मात्रै हालसम्म श्रम स्वीकृति लिएर ४० लाख नेपाली रहेको औपचारिक तंथ्याङ्क छ । विश्व यतिबेला कोरोनाको कहरमा छ । विश्वका धेरै मुलुकहरुमा रहेका नेपालीले स्वदेश फर्कन खुट्टा उचालेर बसेका छन् । उनीहरू नेपालमा फर्किएपछि त्यसले सामाजिक, आर्थिक तथा राजनीतिक रुपमा परिर्वतन ल्याउने सामाजिक अभियन्ता सुरेश चन्दले बताउनुभयो । उहाँहरूकै सक्रियतामा सिटिजन हेल्प डेक्स नामक संस्थामार्फत वैदेशिक रोजगारीमा जान लागेका युवालाई वैदेशिक रोजागारीमा जानुपूर्व अपनाउनु पर्ने सावधानीको विषयमा जानकारी दिने गरेका छन् ।

एक दशकदेखि वैदेशिक रोजागारमा गएका युवा तथा उनीहरूको परिवारले झेल्दै आएका समस्याहले बारेमा अध्ययन तथा सहयोग गरिरहेका चन्दले कोरोनाको कहरपछि फर्किएका युवालाई उनीहरूको सीपको आधारमा राज्यले अवसर प्रदान गरेमा देशले काँचुली फेर्ने बताउनुभयो ।

विभिन्न देशबाट सीप सिकेर फर्किएका युवालाई तीन तहका सरकारले व्यवस्थापन गर्न सकेमा नेपालका लागि स्वर्णीम युगको सुरुवात हुने चन्दले बताउनुभयो ।

तर यसको सुखदभन्दा पनि दुखद पक्ष धेरै देखिने सम्भावना रहेको चन्दले बताउनुभयो । एकै पटक लाखौँ युवा नेपाल फर्किएसँगै कूल ग्राहस्थ उत्पादनमा ३० प्रतिशत योगदान भएको वैदेशिक रोजागारीबाट आउने विप्रेषण रोकिएपछि त्यसले अर्थतन्त्रमा समेत असर पार्ने चन्दको अनुभव छ ।

नेपालमा अझै पनि बेरोजगारको संख्या धेरै रहेको समयमा एकै पटक ६० लाख युवा बेरोजगार हुने भएसँगै त्यसकाे धेरै असर समाजमा देखिने उहाँको अनुभव छ । विदेशमा बसेर फरक खालको जीवनशैलीमा बसेका उनीहरूलाई एकैपटक नेपाल फर्किएपछि त्यो जीवन नपाउँदा मानसिक समस्या देखिनसक्ने चन्दले बताउनुभयो ।

सरकारी निकायले कसरी नेपाली ल्याउने र उनीहरूको व्यवस्थापनको बारेमा सोच्नुपर्ने बेला आएकाले त्यसको तयारी गर्नुपर्ने अभियन्ता चन्दले बताउनुभयो । उहाँले अब ढिला नगरी फर्किएका दक्ष जनशक्तिलाई उनीहरूको क्षमताअनुसारको व्यवस्थापनमा सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारबाट विगतमा फर्किएका नेपालीले सीपअनुसारको काम गर्न नपाएकाले अब सरकारले त्यसमा चासो दिन आवश्यक रहेको माइग्रेन्ट नेपालका अध्यक्ष दिनेश बजगाइँले बताउनुभयो । उहाँले विगतमा सीप बोकेर फर्किएका नेपालीहरूलाई अवसर दिएमा देशले काँचुली फेर्ने बताउनुभयो ।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले खाडी मुलुकमा रहनुभएका नेपाली कामदारहरूको विवरण सङ्कलनको कार्य भैरहेको बताउनुभयो । उहाँले दुतावासमार्फत सुरक्षित रुपमा नेपालीहरू राख्न र उहाँहरूको अवस्थाको बारेमा जानकारी लिने संयन्त्रको विकास गरेर विवरण सङ्कलनको कार्य भइरहेको समेत बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?