उपेश महर्जन
काठमाडौँ, जेठ ५ गते । कोरोनाभाइरसले नेपालमा दुई जनाको ज्यान लिएपछि जनजीवन त्रसित भएकै बेला केही देशले केही राहत महसुस गरेका छन् । कहीँकतै कोरोनाभाइरस नियन्त्रणबाहिर जाने त होइन ? भन्ने डर, त्रास र अन्योलबिच केही मुलुकले कोरोनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।
लक डाउन, सामाजिक (भौतिक) दूरी, खानपिन, नियमित औषधि सेवनलगायतलाई पालना गर्नसके कोरोनालाई सजिलै नियन्त्रणमा लिन सकिन्छ भन्ने उदाहरण ती मुलुकले दिएका छन् । तीन लाखभन्दा बढीको ज्यान लिइसकेको कोरोनाभाइरसको सङ्क्रमणलाई १८ वटा देश तथा टापू राज्यले पूर्णतः नियन्त्रणमा लिएका छन् ।
करिब ४७ लाख भन्दा बढी सङ्क्रमितमध्ये हालसम्म करिब १८ लाखभन्दा बढी पूर्णरुपमा निको भइसकेका छन् । मरिसस, सुरीनाम, कम्बोडिया, इरिट्रिया, इष्टटिमोर, पपुवा न्यू गिनी, बेलिज, ग्रिनल्याण्ड, फारोह आइल्याण्ड, न्यू क्यालोडोनेया, फकल्याण्ड, सेन्टवार्थ, सेन्टलुसिया,पश्चिम साहरा, क्यारेबियन नेडरल्याण्डस्, सेन्टपाइरी मिक्वलिन, मेन्टसेराट, एन्गुइलामा कोरोनाभाइरसको सङ्क्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
पपुवान्यूगिनी, मरिसस, सुरीनाम, कम्बोडिया, इरिट्रिया, इष्टटिमोर, पपुवान्यूगिनी, सेन्टलुसिया र बेलिज सार्वभौम राष्ट्र हुन् । पश्चिमी सहारा एक विवादित देश हो भने अन्य विभिन्न देशका टापू राज्य हुन् ।
बिना मृत्यु कोरोनाभाइरस परास्त गर्न सफल देश
कम्बोडिया १२२, इरिट्रिया ३९, इष्टटिमोर २४, फारोह आइल्याण्डमा १८७, न्यू क्यालोडोनेया १८, सेन्टलुसिया १८, फकल्याण्ड १३, ग्रिनल्याण्ड ११, पपुवान्यूगिनी ८, सेन्टवाथ ६, पश्चिम साहरा ६, क्यारेबियन नेडरल्याण्डस्मा ६, एन्गुइलामा ३, सेन्टपाइरी मिक्वलिनमा एकजना सङ्क्रमण भएकोमा पूर्ण रुपमा निको भएका छन् । ती देशहरूमा सङ्क्रमित कसैको पनि मृत्यु नभएको वर्ल्ड मिटरले जानकारी दिएको छ ।
पूर्ण रुपमा नियन्त्रणमा आएपनि मृतक भएका देश
मरिसस, बेलिज, सुरीनाम, मेन्टसेराटमा भने कोरोनाभाइरसको कहरले ज्यान लिएको बुझिएको छ । मरिससमा ३३२ जनालाई सङ्क्रमण भएकोमा दशको ज्यान गएको थियो । बेलिजमा १८ जनालाई सङ्क्रमण भएर दुई जनाको मृत्युसहित १६ जनाको निको भएको हो । सुरीनाममा १० जनामध्ये नौ जनाको पूर्ण उपचार र एकजनाको मृत्यु भएको छ । मेन्टसेराटमा ११ मा एक जनाको मृत्यसहित अरु सबै डिस्चार्ज भएका छन् ।
नियन्त्रणमा आएका देशहरूको केही परिचय
फारोह आइल्याण्ड संवैधानिक राजतन्त्र रहेको मुलुक डेनमार्कका स्वशासित टापू राज्य हो भने ग्रिनल्याण्ड पनि डेनमार्कका अधिनस्थ रहेको छ । ग्रिनल्याण्ड संसारकै सबैभन्दा ठूलो टापू हो, जहाँ करिब ६० हजारको जनसङ्ख्या रहेको छ भने फारोह आइल्याण्डमा करिब ५० हजारको जनसङ्ख्या रहेको छ । फारोह टापूमा करिब आठ हजार ४०३ वटा परीक्षण गरिएको छ ।
त्यसैगरी, पपुवा न्यू गिनी संसारकै सबैभन्दा दोश्रो ठूलो टापू राष्ट्र हो । एसिया प्रशान्त क्षेत्रमा इन्डोनेसियाको पूर्व र अष्ट्रेलियाको उत्तरमा अवस्थित यस देशमा करिब एक करोड जनसङ्ख्या रहेको छ । यो मुलुक क्षेत्रफलको हिसाबले नेपालभन्दा तीन गुणा ठूलो छ । यहाँ दुई हजार दुई वटा मात्र परीक्षण गरेर सङ्क्रमित सबैको उपचार भएको थियो ।
त्यस्तै, पपुवा न्यू गिनीको तल र अष्ट्रेलियाको पूर्वाेत्तरतिर रहेको टापू न्यू क्यालोडोनेया फ्रान्सको अधिनस्थ मानिन्छ, जहाँ करिब पौने तीन लाखको जनसङ्ख्या छ । त्यहाँ पाँच हजार २१३ वटा परीक्षण गरिएको थियो ।
यसैगरी, क्यारेबियन क्षेत्रमा रहेको सेन्टवार्थ पनि फ्रान्सको अधिनस्थ छ जहाँ दश हजारको बसोवबास छ ।
अर्जेन्टिनाको पूर्वदक्षिणतिर रहेको फकल्याण्ड बेलायतको अधिनस्थ मानिन्छ जहाँ करिब पाँच हजार जनसङ्ख्या रहेको छ । क्यारेबियन क्षेत्रमा एन्गुइलामा १५ हजार जनसङ्ख्या छ जहाँ बेलायती उपनिवेश रहेको छ । क्यारेबियन नेडरल्याण्ड दक्षिण अमेरिकाको भेनेजुयलाको सिरानमा अवस्थित टापू हो, जुन युरापेली देश नेडरल्याण्डस् (होल्याण्ड)को अधिनमा रहेको छ । यहाँ २६ सय भन्दाबढी जनसङ्ख्या रहेको छ ।
केही मुलुक पूर्ण नियन्त्रण उन्मुख
भियतनाममा २८८ मध्ये २४१ जना निको भएका छन् । सेन्ट किट्स एण्ड नेभिसमा १५ मध्ये १३ जना डिस्चार्ज भएका छन् । १६ जना सङ्क्रमित रहेको डोमिनिकामा १४ जना निको भइसकेका छन् । फिजीमा १८ मध्ये १४, लाओस १९ मध्ये १३ जना निकाे भइसकेका छन् । पूर्वी अफ्रिकी टापुहरूको देश सेसेलेसमा ११ सङ्क्रमितमध्ये १० जना डिस्चार्ज भइसकेका छन् । यी मुलुकहरूमा अहिलेसम्म कुनै बिरामीको मृत्यु भएको छैन ।