केशवराज पौडेल
काठमाडौँ, जेठ ११ गते । काठमाडौँमा रहेका तीन र देशभरिका ७६ जिल्लामा रहेका ७४ कारागारबाट लकडाउनको समयमा ४४३ जना कैदीबन्दीलाई रिहा गरिएको छ ।
सर्वाेच्च अदालतले चैत्र ६ गते गरेको फैसला र फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार बाल सुधार गृहका २२८ जना र नेपालमा रहेका विभिन्न कारागारबाट २१५ जना गरी ४४३ जना बन्दी रिहा भएको कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीपराज कणेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते समेत कानुनले दिएको अधिकार अनुसार १९ किसिमका फौजदारी अभियोग बाहेकका अरु मुद्दाका कैदीबन्दीलाई रिहाइ गर्ने अन्तिम तयारी गरिएको बताउनुभयो । तर कति कैदीबन्दीलाई रिहाइ गरिनेबारे निर्णय भए पनि सार्वजनिक भने सोही दिनमात्रै गरिने उहाँले बताउनुभयो ।
नेपालमा रहेका काठमाडौँ बाहेकका ७४ वटा काराकारमध्ये सम्भव भएसम्म धेरै कारागारमा कोरानाको सङ्क्रमणबाट जोगिने उपायमा कारागार व्यवस्था विभागले सकृयता देखाएको कणेलले बताउनुभयो । उहाँले भन्नुभयो, 'नेपालका ५३ वटा कारागारमा महिला वार्ड र पुरुष वार्ड फरक फरक ठाँउमा राखिएका छन् । नेपालमा हाल २५ हजार २८ जना कैदीबन्दीहरू कारागारमा छन् ।'
विभागका महानिर्देशक कणेलले कारागारबाट अदालत र अस्पताल लाने समयमा कैदीबन्दीहरू कोरोनाबाट असुरक्षित हुने भएकाले देशभरिमा कारागारका कैदीबन्दीसँगै स्वास्थ्यकर्मी, सवारी चालक, अस्पताल र अदालत लैजाने समयका सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीसमेत व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले अदालतमा पिपिइ सेट, मास्क, ग्लोब लगायतका सामाग्रीहरू आवश्यक पर्ने भएकाले धेरै दाताहरूले समेत कारागारमा सहयोग गर्नुभएको बताउनुभयो ।
द आर्ट अफ लिभिङ नेपालका राहत संयोजक बिमलकुमार कोडियाले ५७ थान पिपिइ सेट र अत्यावश्यक स्वास्थ्य सामाग्री कारागार व्यवस्थापन विभागलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय, धनुषा परिसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक रहेको भवन तथा गुल्मीको एक विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरूलाई निक्कै आवश्यक रहेको लुगा धुने मेसिनसमेत हस्तान्तरण गरेका थिए ।
सो स्वास्थ्य सामाग्री नेपालभरीका कारागारमा पठाउने व्यवस्थापन गरिने उहाँले बताउनुभयो । कारागारहरूमा आवश्यक रहेको सामाग्रीहरू राष्ट्रिय मानव अधिकार परिसरले नौ थान पिपिइ र नौ सय थान मास्क, त्यस्तै प्रारम्भिक बाल विकास केन्द्रमार्फत सिएनएन हिरो पुष्पा बस्नेतले एक सय थान पिपिइ, पाँच हजार थान ग्लोब प्राप्त गरेर देशभरlका कारागारमा पठाएको हो ।
नेपालका रहेका कारागारमध्ये सर्लाही र मुगुको कारागार निर्माणको चरणमा रहेको त्यहाँका कैदीबन्दी अन्य कारागारमा पठाइएको र बाँकी सबै कारागारमा यतिबेला कैदीबन्दीहरू कोरोनाबाट सुरक्षित रहेको बताउनुभयो ।