शिवराज ढुङ्गाना
अछाम, जेठ १२ गते । भारतबाट अछाम फर्कने बेला परीक्षणका क्रममा धनगढीमा कोरोना सङ्क्रमण पुष्टि भएका मेल्लेख गाउँपालिकाका एक युवासँगै गाउँको क्वारेन्टाइनमा रहेका नौ जनालाई विशेष निगरानीमा राखिएको छ ।
मेल्लेख गाउँपालिका–४ कुष्कोटस्थित आदर्श आधारभूत र बासुकी माविमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको बताइएको छ । भारतको नयाँदिल्लीबाट ११ जनासहितको टोली मोटरमा गएको बिहीबार गौरीफन्टा पुगेको थियो । सीमा नाकामा आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको आइतबार पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएर धनगढीमै उपचाररत रहेका छन् । आइसोलेसनमा राखिएका युवा र उनकी श्रीमतीबाहेक बिहीबार नै घर (मेल्लेख गाउँपालिका–४ कुष्कोट) आइसकेका थिए । ती युवाकी श्रीमतीमा भने आरडिटी परीक्षण नेगेटिभ आए पनि उनी धनगढीमै रहेको बताइएको छ ।
भारतबाट आएका नौ जना गाउँमा पुगेपछि मेल्लेख गाउँपालिका–४ ले अन्य ५० जनासँगै चार दिनसम्म एउटै क्वारेन्टाइनमा राखेकाे वडा अध्यक्ष वीरबहादुर साउदको भनाइ छ । “बासुकी माविको पाँच कोठामा ५० जना सँगै थिए ।” वडा अध्यक्ष साउदको भनाइ छ । नौ जनामध्ये वडाले दुई जनालाई आदर्श आधारभूत विद्यालयमा सारेको बताइएको छ । “विद्यालयबाहेक गाउँमा अरु राख्ने कुनै ठाउँ हुँदैन, खानबस्न सबै सँगै छ ।” वडा अध्यक्ष साउदले भन्नुभयो ।
साथमा आएकोलाई कोरोना भएको थाहा पाएपछि आफूभन्दा गर्भवती श्रीमतीमा चिन्ता भएको क्वारेन्टाइनमा रहेका नैनसिंहको भनाइ रहेको छ । उक्त वडाको आदर्श आभारभूत विद्यालयमा ३४ जना, मालिका आधारभूत विद्यालयमा १४ जना, गाउँमाण्डौ माविमा १९ जना र सरस्वती आधारभूत विद्यालयमा पाँच जना क्वारेन्टाइनमा रहेको बताइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका युवासँगै आएर क्वारेन्टाइनमा रहेका व्यक्तिमा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय र बयलपाटा अस्पतालसँग समन्वय भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाको भनाइ छ । सबै जनाको स्वाब सङ्कलन गर्न सम्भव नभएपनि केहीको पिसिआर आउँदो शुक्रबारसम्म परीक्षण गर्न समन्वय भइरहेको अधिकृत बुढाले जानकारी दिनुभयो ।
मेल्लेख गाउँपालिकाका आठ हजार मानिस बाहिर रहेकोले कम्तीमा ५० प्रतिशत भित्रनसक्ने भन्दै व्यवस्थापनमा चुनौती रहेको गाउँपालिकाले जानकारी दिएको छ । विद्यालय, सार्वजनिक भवन क्वारेन्टाइन बनाउन अपुग भएमा खाली रहेका निजी घरसमेत प्रयोगमा ल्याउने योजना गाउँपालिकाले बनाएको छ ।