गोरखापत्र अनलाइन
जनकपुरधाम, जेठ १९ गते । प्रदेश २ मा आइतबार एकै दिन कोरोनाभाइरसका ८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै प्रदेश २ मा सङ्क्रमित हुनेको सङ्ख्या ६९५ पुगेको छ । शनिबार ६४ जना नयाँ सङ्क्रमित फेला परेको थियो ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दैनिक रुपमा गर्दै आएको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सर्लाहीमा सङ्क्रमित थपिएकाे बताएकाे छ । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार सर्लाहीमा एकै दिनमा ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । सर्लाहीको कविलासी नगरपालिकाको अघरबा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ३६ जना र हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा दुई जना सङ्क्रमित फेला परेका हुन् ।
पछिल्लो २४ घण्टामा सप्तरीमा १२ र रौतहटमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । धनुषामा सात, महोत्तरीमा दुई, सिरहामा पाँच जना गरी प्रदेश २ मा पछिल्लो चौबीस घण्टामा ८२ नयाँ सङ्क्रमित पुष्टि भएको हो ।
सप्तरीका राजगढ गाउँपालिकाको नरभू माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनमा १२ जनामा सङ्क्रमण रहेको पुष्टि भएको हो । सिरहाको महेन्द्र मोरबैता क्याम्पसको छात्रावास क्वारेन्टाइनका चारजनामा कोरोनाभाइरस सङ्क्रमण फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषाको धनौजी गाउँपालिकास्थित शङ्कर माविको क्वारेन्टाइनमा चार जना, जनकपुरधाम उपमहानगरपालिकामा एक जना र हँसपुर नगरपालिकाको नौवाखोरस्थित क्वारेन्टाइनका दुई जनामा सङ्क्रमण फेला परेको छ । महोत्तरीको लोहारपट्टी र रामगोपालपुरको महेन्द्र माविस्थित क्वारेन्टाइनमा बस्ने एक/एक जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
रौतहटको यमुनामाई गाउँपालिकाको जनता माविमा रहेको क्वारेन्टाइनका चार जनामा सङ्क्रमणको पुष्टि भएको छ । परौवा नगरपालिकाको लौकहा मावि क्वारेन्टाइनमा रहेकामध्ये १४ जनामा सङ्क्रमण फेला परेको मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो चौबीस घण्टामा फेला परेको सङ्क्रमितमध्ये अधिकांश पछिल्लो समय भारतबाट नेपाल प्रवेश गरेको घिमिरेले बताउनुभयो ।
प्रदेश दुईमा हालसम्म ९९ जना आइसोलेसनमा बसेर कोरोनाभाइरसमुक्त भई घर फर्केका छन् । प्रदेशभरि हालसम्म पीसीआर परीक्षणका लागि १५ हजार ७७४ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमध्ये ६९५ जनामा कोरोनाको पुष्टि भएको छ । दश हजार ३५१ जना कोरोनामुक्त छन् । चार हजार ७२८ जना प्रतिवेदन आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।