logo
२०८१ मंसिर १६ आईतवार

 अस्पतालमा उपचाररत सङ्क्रमितको दैनिकी  



तीन पटक औषधि खान्छु, फोनमा कुरा गर्छु, दिनभर सुत्छु

पढ्नै पर्ने |
प्रदेश |


तीन पटक औषधि खान्छु, फोनमा कुरा गर्छु, दिनभर सुत्छु


ललित बसेल
सुर्खेत, जेठ २१ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ३२ वर्षीय युवक करिब १२ दिनअघि कोरोना सङ्क्रमण भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ ।
गत वर्षको दसैँ मनाएर घर खर्च जुटाउन भारत पुगेको र त्यहाँ एक होटलमा उहाँले काम पाउनुभयो । काम राम्रो भएकोले कमाइ पनि राम्रै थियो । तर भारतमा कोरोना फैलिएपछि सबै नेपाली घर फर्कन लागेपछि उहाँ पनि घर फर्कन तयार हुनुभयो ।

भारतमा कोरोनाले महाराष्ट्र सबैभन्दा बढी प्रभावित भयो । उहाँ काम गर्ने होटल पनि बन्द भयो । काम गर्न नसक्ने भएपनि घर फर्कनुको विकल्प भएन । एक महिनासम्म कामविहीन भएर बसे पनि जोखिम मोलेर रुपैडिहासम्म पुग्नसके घर जान सकिने आँटले जोखिम मोल्नुभयो । मर्नुपरे पनि घरमै मरूँला भनेर घर जाने योजना उहाँले बनाउनुभयो । उहाँसहित केही साथीहरूले मिलेर ट्रक रिजर्भ गरी महाराष्ट्रबाट चार दिन लगाएर नेपालगञ्ज नजिकको सीमा नाका रुपैडिहा आउनुभयो ।

रुपैडिहाबाट गाडी चढेर कर्णाली प्रदेश नाका सुर्खेतको बबईमा आरडिटी परीक्षण भयो । अनि त्यसपछि गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना पोजिटिभ देखिएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा बसेको आज १२ दिन भएको छ ।


उहाँको दैनिकी
बिहान ५ बजे उठछु । केही समय शारीरिक व्यायाम गरेपछि खाली पेट औषधि खान्छु । औषधि तीन पटक खानुपर्छ । केही समयपछि नास्ता खाएसँगै अर्को औषधि खान्छु । अनि आराम गर्छु । खाना बिहान १० बजेतिर हुन्छ । खाना खाएपछि दिनभरि सुत्छु । दिउँसो आफन्तसँग फोनमा कुराकानी गर्छुु । साथीभाइले फोन गर्छन्, सान्त्वना दिन्छन् । रक्तचाप, ज्वरो नाप्ने औजार छ । सबै आफैँले नापेर स्वास्थ्यकर्मीहरूलाई भन्नुपर्छ । बिहान ननभेज खाजा आउँछ । दिउँसो चना, अण्डा, चाउमिन खाजा दिइन्छ । साँझ भेज खाना दिने गरिएको छ ।
कसरी लाग्यो ?
कसरी लाग्यो भन्ने नै मलाइ थाहा भएन । आउने बेला हल्का खोकी लागेको थियो । ज्वरो पनि सामान्य थियो । मलाई अफ्ठेरो महसुस हुने कुनै लक्षण नै थिएन । तर पीसीआर परीक्षण गर्दा पोजिटिभ आएछ । कसरी लाग्यो भन्ने नै मलाई थाहा छैन । औषधि चालु गरेपछि खोकी पनि निको भइसकेको छ ।
सुरुमा त्रास
कोरोना पोजिटिभ भएपछि सुरुमा म नर्भस भएँ, त्रास भयो । बाहिर कोरोनाले मार्छ भन्ने सुनेकोले मनमा त्रास थियो । सँगै आएकाबाट मलाई अस्पतालमा ल्याउँदा नरमाइलो भयो । तर अहिले रत्तिभर पनि त्रास छैन । उपचारबाट सन्तुष्ट छु ।
डराउनु पर्दैन 
कोरोना देखिनेबित्तिकै डराउनु पर्दैन । लागिहालेमा दुःखी हुन आवश्यक छैन । स्वच्छ मन र भावना लिनुपर्दछ । खुशी हुनुपर्दछ । यो रोग लागेमा चिन्ता लिनुहुँदैन । रोगले मारिहाल्छ भन्ने सोच राख्नुहुँदैन । निको हुन्छ, सन्चो भएर जान्छु भनेर आत्मबल दह्रो बनाउनुपर्दछ । शारीरिक र मानसिक रुपमा बलियो हुनुपर्दछ । मनलाई दह्रो बनाउनुपर्छ । चिन्ता लिने, तनाव लिने गरेमा समस्या आउनसक्छ । त्यसैले मन बलियो बनाउनुपर्छ । केही हुँदैन । रोगलाई जित्छु भन्ने भावना मनमा लिनुपर्छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?