नवराज कट्टेल
विराटनगर, जेठ २२ गते । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २७ जना कोरोनामुक्त भएका छन् ।
दोस्रो परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) नेगेटिभ देखिएपछि उनीहरूलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् ।
डिस्चार्ज हुनेमा २२ जना पुरुष र छ जना महिला रहेको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा उपचारत उदयपुरका चार जना, झापाका सात जना, मोरङका छ जना, सुनसरी चार जना, सप्तरी दुइ जना, धनकुटा चार जना र खोटाङ एक जना रहेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालले केही बेरपछि कोरोनामुक्त नागरिकलाई बिदाइ गर्दैछ । डिस्चार्ज हुनेहरू ४० दिनसम्म अस्पतालमा भर्ना भएर बसेका समेत रहेका छन् ।
झापा केचनकवलका तैयव आलम, नर आलम, सनवर मिया, सनवाज मिया, फिरोज मिया, इम्तिया आलम र मुस्ताफिक आलम हुनुहुन्छ । यसैगरी मोरङ, रतुवामाईका जफर मिया, ममताज आलम, पथरीका रमेश कार्की, विराटनगरका रिन्कु सहनी, आनन्दकुमार मेहता र कासिम मिया हुनुहुन्छ ।
सुनसरी गडी गाउँपालिकाका गोविन्द चौधरी, इटहरी–२ का निमाङ राई, इनरुवा–२ का बिमल रेग्मी र धरानका अरबिन श्रेष्ठ हुनुहुन्छ ।
यसैगरी, सप्तरीका रमन कुमार साह र रमदुल्ला मियाँ, धनकुटाका गणेश बुढाथोकी, बद्री गुरुङ, निशा थापा मगर र सिला लिम्बू रहनुभएको छ । खोटाङका दीपेन्द्र राईले कोरोनालाई परास्त गर्नुभएको छ ।
यसअघि कोशीको कोभिड–१९ उपचार केन्द्रबाट ३० र बीपी अस्पतालकाे उपचार केन्द्रबाट १८ जनाले कोरोना परास्त गरेर घर फर्किसकेका छन् । योसँगै प्रदेश १ बाट ७६ जनाले कोरोना परास्त गरिसकेका छन् । बुधबारसम्ममा १८५ जना सङ्क्रमित देखिएका छन् ।
(यस अघि प्रयाेगशालले एकै व्यक्तिकाे नाम दुइ ठाउँमा उल्लेख भइ २८ जना भन्ने सूचना प्रवाह भएकाेमा भूल सुधार गरेकाले २७ कामय गरिएकाे छ । सम्पादक)