दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ २६ गते । भारतबाट जेठ १४ गते नेपाल आएका पर्साका आठ जनामा सोमबार बिहान कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीका नयाँ पुष्टि भएका ती सङ्क्रमितहरू जेठ १४ गतेदेखि नै जगरनाथपुर गाउँपालिकाको सन्ठीस्थित क्वारेन्टाइनमा रहँदैआएका थिए ।
नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहले सङ्क्रमितलाई नारायणी अस्थायी कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
गत जेठ २३ मा सङ्कलन गरिएको स्वाब नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २० वर्ष देखि ५५ वर्ष समूहका एक महिलासहित आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. सिंहले बताउनुभयो ।
जगरनाथपुर गाउँपालिकाको सन्ठी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भारतको हरियाणा, केरला, उत्तर प्रदेशबाट आएका उक्त गाँऊपालिकाका ३४ जनालाई राखिएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरू सङ्क्रमित पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको काम थालिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताउनुभयो ।
उहाँका अनुसार सोमबार बिहान थपिएका आठ जना सङ्क्रमितसहित पर्सामा कोरोना सङ्क्रमितको सख्या १२१ पुगेको छ जसमध्ये १०२ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् ।
हाल अस्थायी नारायणी कोभिड अस्पताल गण्डकमा २९ जना सङ्क्रमितको उपचार भइरहेकोमा आठ जना थपिएसँगै ३७ जना उपचाररत हुने भएका छन् ।
नारायणी अस्पतालले ७२ जनालाई र अस्थायी नारायणी कोभिड अस्पताल गण्डकले ३० जनालाई गरी अहिलेसम्म १०२ जनालाई कोरोनामुक्त बनाएर डिस्चार्ज गरिसकेको छ । पर्सा जिल्लाका सङ्क्रमित, बारा, रौतहट तथा सर्लाहीबाट आएकासमेत जोड्दा पर्साको वीरगञ्जमा १३३ जनाको उपचार गरिएको छ ।