ललित बसेल
सुर्खेत, जेठ २६ गते । कर्णाली प्रदेशमा सोमबार १६ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा १६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । थप भएपछि कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या ६५७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयले सोमबार दिउँसो १२ः४५ मा प्रकाशित गरेको सूचना अनुसार थपिएकामा दैलेखका १० जना रहेका छन् । यस्तै, सल्यानमा पाँच र सुर्खेतमा एक जना थपिएका छन् । कोरोनाका नयाँ सङ्क्रमित थपिएकासँगै दैलेखमा कुल ३६७ जना पुगेको छ । सल्यानमा १२४ र सुर्खेतमा ९२ जना पुगेको छ । मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सङ्क्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
मन्त्रालयका अनुसार कालीकोटमा २८, जुम्ला २२, जाजरकोट पाँच, मुगुमा दुई, हुम्ला र डोल्पामा एक/एक सङ्क्रमित देखिएका छन् । अहिलेसम्म रुकुम पश्चिममा मात्र सङ्क्रमण देखिएको छैन । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ भने सात जना उपचारपछि घर फर्किएका छन् ।